रमाइलो माहोलमा जब बेलुन विस्फोट भयो…

पोखरा । गत वर्ष पोखरालाई ‘पर्यटनको राजधानी’ घोषणा गरिएको ठीक ११ महिनापछि शनिबार ‘पोखरा भ्रमण वर्ष–२०२५’ भव्य रूपमा उद्घाटन हुँदै थियो । पोखराका ३३ वटै वडासहित सहरका विभिन्न ठाउँबाट निस्किएको झाँकी, ¥याली दिउँसो १ बजेसम्म पोखरा–९, नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा आयोजित समारोह पुगिसकेको थियो । आआफ्नो जातीय पोसाकमा सजिएकाहरूसहित सहभागी सबै जना पोखरालाई भ्रमण वर्ष घोषणाको औपचारिक उद्घाटनका लागि व्यग्र प्रतीक्षामा थिए ।
अतिथिको आसन ग्रहणपछि सञ्चारकर्मी दीपेन्द्र श्रेष्ठले स्वागत नृत्यका लागि कलाकारलाई स्टेजमा डाके । लगत्तै राष्ट्रिय गानको धुनमा सबै जना उठे । २० लाख पर्यटक भित्याउने महत्वाकांक्षी योजनासहित भ्रमण वर्ष घोषणाको प्रतीक्षाको घडी समाप्त हुँदै थियो ।
प्रमुख अतिथि उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यलाई भ्रमण वर्षको लोगो अनावरण गर्न डाकियो । अर्थमन्त्रीले इलेक्ट्रिक स्विच अन गरे । मेयर आचार्यले सहजीकरण गरे । माहोल रमाइलो बन्यो । ‘कोल फायर’ले उद्घाटन कार्यक्रम हर्षोल्लास बनायो । विभिन्न कार्यक्रम, इभेन्ट, पार्टीहरूमा प्रयोग गरिने सो कोन फायरको स–सानो झिल्का चारैतिर बल्यो ।
त्यसपछि, बेलुन उडाउने तयारी भयो । सहयोगीले दर्जनौं बेलुनका दुईवटा गुच्छा अघि सारे । मेयरले समात्न नपाउँदै एक्कासि बेलुन विस्फोट भयो । अतिथिहरू तितरबितर भए । मेयर आचार्य र अर्थमन्त्री पौडेललाई आगोको ज्वालाले मुख, हातलगायत जलेको देखेपछि सबै जना आत्तिए । लगत्तै गाडीमा हालेर अस्पताल पु¥याइयो । मेयर आचार्यलाई फिस्टेल अस्पताल र अर्थमन्त्री पौडेललाई गण्डकी मेडिकल कलेज लगिएको थियो ।
हाइड्रोजन ग्यास भरिएको बेलुन कोन फायरको झिल्का नजिक पर्दा विस्फोटले सो अप्रिय घटना हुन पुगेको हो । रमाइलो माहोलबीच निराशा छायो । यद्यपि, सञ्चालकले कार्यक्रम जारी नै राखे । निर्धारित वक्ताहरू छोट्याएर मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरी उद्घाटन समारोहको औपचारिक बिट मारे ।
घाइतेको प्राथमिक उपचारपछि हेलिकोप्टरमार्फत थप उपचारार्थ काठमाडौं लगिएको छ । कीर्तिपुर अस्पतालको सघन उपचार कक्षमा उनीहरूको उपचार भइरहेको छ । अस्पतालले जारी गरेको विज्ञप्तिअनुसार प्रारम्भिक मूल्यांकनमा ५ देखि ६ प्रतिशतसम्म जलेको छ । अस्पताल निर्देशक डा. किरणकिशोर नकर्मीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘प्रारम्भिक मूल्यांकनअनुसार ५ देखि ६ प्रतिशत जलेको तर अनुहारमा जलन भएकाले श्वासनली र फोक्सोमा असर पर्न सक्ने सम्भावना रहेकाले उच्च निगरानीमा उपचार गर्नुपर्ने आवश्यकता देखिन्छ ।’ उपचारमा प्रा.डा. बीडी झा, डा. प्रवीण गिरी, प्रा.डा. शंकरमान राई, डा. विशाल कार्की, डा. मनीष यादव, डा. प्रयुष अर्याललगायतको चिकित्सक टोली खटिएको छ ।
यता, पोखरा महानगरपालिकाका प्रवक्ता मोतीलाल तिम्सिनाले कोन फायर बेलुनमा छोइएपछि पड्किँदा अप्रिय घटना भएको बताए ।
हाइड्रोजन ग्यास ज्वलनशील हुने र अक्सिजनसँग मिलेर छिटो रासायनिक प्रतिक्रिया दिने हुँदा निकै सावधानी पु¥याउनुपर्ने विज्ञ बताउँछन् ।
अधिकांशले सामाजिक सञ्जालमार्फत घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै यस प्रकारका घटना हुन नदिन सतर्कता अपनाउनुपर्ने सुझाव दिएका छन् ।
नागरिक समाज पोखराका पूर्वअध्यक्ष रामबहादुर पौडेलले अब आइन्दा पटाका आतिशबाजी कुनै पनि समारोहमा प्राथमिकतामा नराख्न आग्रह गरेका छन् । लेकसाइड क्षेत्रमा सडक महोत्सवमा नियमित रूपमा हुने गरेका आतिशबाजी रोक्न माग गर्दै उनले पटक पटक अदालत धाएका थिए ।
पोखरालाई गत वर्ष ४ चैतमा पर्यटनको राजधानी घोषणा गरिएको थियो । भ्रमण वर्षमा यहाँ २० लाख पर्यटक भित्याउने पोखरा महानगरपालिकाको लक्ष्य छ ।
भ्रमण वर्षको अवधिभर क्रियाशील रहने गरी महानगर प्रमुख आचार्यको संयोजकत्वमा मूल समारोह समिति गठन गरिएको छ । जसमा १९ सदस्यीय समिति गठन गरिएको छ ।
यस्तै, पर्यटन व्यवसायी गोपीबहादुर भट्टराईको संयोजकत्वमा कार्यसम्पादन समिति र विभिन्न क्षेत्रको प्रतिनिधित्व हुने गरी ४३ वटा समिति गठन गरिएका छन् ।
भ्रमण वर्षको अवधिभर पोखरा महानगरपालिकातर्फबाट विभिन्न किसिमका पर्यटन प्रवर्धनात्मक कार्यक्रम गरिनेछन् ।
सन् २०२५ लाई चीन सरकारले आफ्ना नागरिकका लागि नेपाल भ्रमण वर्ष–२०२५ घोषणा गरिसकेको छ भने भारत सरकारले वेलनेस पर्यटकलाई नेपाल महत्वपूर्ण गन्तव्य भनी सूचीकरण गरिसकेको छ । हालसम्म यकिन तथ्यांक नभए पनि काठमाडौं घुम्ने विदेशी पर्यटकमध्ये करिब ४० प्रतिशत पोखरा आउने अनुमान छ ।
पोखरा महानगरपालिकाले हालसम्म विभिन्न राष्ट्रका १४ सहरमा भगिनी सम्बन्ध कायम राखेको छ । भ्रमण वर्ष अवसरमा थप सहरसँग भगिनी सम्बन्ध जोडिने लक्ष्य छ ।
Facebook Comment