कविता : अस्तब्यस्त छु म आजकल

दिनेश घिमिरे
४ फागुन २०८१ १०:३७

निद्रा नसोध आजकल मलाई
कसो कसो आउँछ बसिदिन्छु
यो आफैंमा कहाँ छ आजकल
दिन हो कि रात हो समान छ।।

दुःख नसोच आजकल मलाई
सुःख दुःखहरू आउँछन् भोगिदिन्छु
लोभ छ आफ्नै जीवनको स्वरूपमा
दुःख हो की सुःख हो बाँचिदिन्छु।।

खबरका बिम्बहरूले आजित छु म
कृपया सन्देशहरू बोकेर नआऊ
कर्तब्य के हो थाहा छ मलाई
पाठको कथाहरू बोकेर नआऊ।।

ब्यस्त छु आजकल आफ्नै ब्याजहरूमा
जीवनभर रोपेका ऋणहरूको हिसाबमा
मिलन के हो बिछोड के हो बेअर्थ छन्
आफ्नै रोदनका स्वरहरू कोलाहल छन्।।

म साँच्चिकै व्यस्त छु आफ्नै जीवनमा
अनेकन् प्रश्नहरूमा खेलिरहेछु आजकल
माया के हो प्रेम के हो अर्थबिहीनता छु म
आफ्नै ब्यथाहरूको निरन्तरतामा छु म।।

समय म पो हुँ की ममा समय छैन पो हो कि
खै कुन्नि किन हो हतार फेरि आफैमा झुटो
समयकाल बोकेर निरन्तरताले कैदमा छु
हर प्रयासहरू आफैभित्र अस्तब्यस्त छन्।।

हो साँच्चिकै अस्तब्यस्त छु म आफैंभित्र
अबस्था भित्र पीडाहरू भरिएको जस्तो
भएर पनि केही नभएको जस्तो अनौठो
ब्याकुलयता आफै भित्र भरिएको जस्तो
अस्तब्यस्त छु म आफैभित्र आजकल।।

विरूवा, भक्तपुर




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *