स्ववियुको गतिशिलता र स्वतन्त्रताको लागि मेरो उमेदवारी

युवराज खड्का
४ फागुन २०८१ ११:२५

त्रिभुवन विश्वविद्यालय (त्रि.वि) स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन आगामी चैत ५ गते गर्ने हुने निर्वाचनमा मैले रत्न राज्यलक्ष्मी क्याम्पसमा स्ववियु सभापति पदमा उमेदवारी दिने घोषणा गरेको छु।

त्रिभुवन विश्वविद्यालयको मानविकी संकायको सबैभन्दा ठूलो क्याम्पस रहेको रत्न राज्यलक्ष्मीमा विगत लामो समयदेखि विभिन्न कारणले स्ववियु निर्वाचन हुन सकिरहेको छैन।

विद्यार्थीहरुको हित र कल्याणका लागि वकालत गर्ने र त्यस दिशामा संयन्त्रलाई चलायमान बनाउने उद्देश्य राखेको स्ववियु पछिल्लो समय राजनीतिक संगठनहरुका राजनीतिक अभिष्ट पूरा गर्न मात्रै प्रयोग गर्न थालिएका कारण  वास्वविक रुपमा विद्यार्थीको स्वतन्त्र संगठन बन्न सकिरहेको छैन।

पाठ्यक्रमद्वारा निर्दिष्ट लक्ष्य र उद्देश्य प्राप्तिमा शिक्षण सिकाई क्रियाकलापमा सिर्जनात्मक तथा रचनात्मक रुपमा काम गर्नुपर्ने स्ववियु आज विभिन्न विकृति र वादहरुका कारण बन्धक बनरिहेको छ।

यसकारण कुनै पनि वाद, सिद्धान्त र विचारहरुको बन्दी नबनाइ स्ववियुलाई स्वतन्त्रतापुर्वक गतिशिलता प्रदान गर्न र सबैको साझा प्रतिनिधिको रुपमा प्रभावकारी काम गर्ने गरी रत्न राज्यलक्ष्मी क्याम्पसमा स्ववियु सभापति पदमा उमेदवारी दिन लागेको छु।

त्रिभुवन विश्वविद्यालयले स्ववियु निर्वाचन देशभरिका त्रि.वि.का ६२ वटा आंगिक र १ हजार ४० सम्बन्धन प्राप्त क्याम्पसमा निर्वाचन हुँदै छ। अघिल्ला स्ववियु निर्वाचनमा विभिन्न कारणले यी सबै शैक्षिक संस्थाहरुमा निर्वाचनका गतिविधि अगाडि बढ्न सकेनन्।

जति शैक्षिक संस्थाहरुमा निर्वाचन भयो र स्ववियु संस्था बन्यो त्यहाँ पनि वास्तवमा विद्यार्थीका शैक्षिक समस्या समाधानको नेतृत्व ती संस्थाहरुले गर्न सकेनन्। त्यसको कारण भनेको राजनीतिक विद्यार्थी संगठनहरुले उमेदवारी उठाउँदा योग्य र सिर्जनशिल क्षमता बोकेको परिवर्तन प्रति गहिरो रुपमा चिन्ता, चासो प्रकट गर्ने नेतृत्व अगाडि सार्न नसक्नु नै हो।

अहिले विद्यार्थीहरुले भोगिरहेका समस्या, पुस्तकालयको अभाव, विज्ञ विषय प्रशिक्षकहरुको प्रशिक्षणको अभाव, व्यवस्थित कक्षा कोठा र प्रविधिमैत्री शिक्षण सिकाई क्रियाकलापको अभाव, अन्तर संवाद, शैक्षिक अनुभव आदानप्रदान, अतिरिक्त क्रियाकलापको अभाव, परीक्षा प्रणाली, प्रयोगात्मक तथा व्यवहारिका सिकाइका पाटाहरुको सहजीकरणमा अभाव, समयमै पढाइ नहुने, अव्यवस्थित प्रशासन र शिकाइ प्रणाली, समयमै कोर्स पूरा नहने जस्ता समस्याहरु वर्तमान समयमा त्रि.वि. अन्तर्गतका प्राय सबै क्याम्पसहरुका विद्यार्थीहरुको रहेको छ।

तर यी समस्यालाई रचनात्मक ढंगले समाधान गरी शिक्षण सिकाई क्रियाकलापलाई अपेक्षित लक्ष्य प्राप्तिका लागि सिर्जनशील कार्य गर्नुपर्नेमा आज स्ववीयु संस्थाहरु गम्भिर आर्थिक अपचलन तथा नैतिकता विपरितका कार्यका कारण स्ववियुको औचित्यता र प्रभावकारिता माथिनै गम्भिर प्रश्न चिन्ह खडा भएको पाइन्छ। केही स्ववियु संस्थाहरुले केही रचनात्मक कार्य गर्ने प्रयास गरेपनि अभिकांश भने आफ्नै स्वार्थ पूर्तिमा तल्लिन हुने विगतका समयले पुष्टि गरिसकेको छ।

रत्न राज्यलक्ष्मी क्याम्पसको स्ववियुको नेतृत्व गरेर राजनीतिक दलका विचार, सिद्घान्त तथा गलत प्रकृतिका झुण्डहरुबाट स्ववियुलाई स्वतन्त्र दिलाई स्वतन्त्रतापूर्वक शैक्षिक समस्या समाधान उन्मुख गतिशील स्ववियुको रुपमा विकास गर्ने छु।

शैक्षिक प्रशासनलाई विधिमा हिँडाउन सकारात्मक दवावको सिर्जन गर्ने, सबैखाले अराजकताको अन्त्य गर्दै अनुशासित शैक्षिक हवको रुपमा क्याम्पसलाई अगाडि बढाउने प्रमुख प्रयास रहने छ।

वास्तवमै स्वतन्त्र विद्यार्थी युनियनलाई स्वतन्त्रतापूर्वक विधि र पद्धति हिँडाएर तमाम विद्यार्थीहरुका शैक्षिक उन्नति र समस्या सुधारका कार्यमा काम गर्ने गरी न्युनतम आधारभुत काम गर्ने योजना रहेको छ, जसमा विभिन्न संकायका पढाइलाई न्यायोचित रुपमा शैक्षिक गतिविधि अगाडि बढाउने, शैक्षिक अनुशासन कायम, विषय सम्बन्धि इन्टर्नशिपमा सामेल हुने अवसरको खोजी र सिर्जना, शैक्षिक संवादका शृङखलामा वृद्धि, अतिरिक्त क्रियाकलापको नियमितता लगायतका आधारभुत समस्याहरुको समाधानका अतिरिक्त व्यवस्थित पुस्तकालय, प्रविधिमैत्री कक्षाकोठा निर्माण-सञ्चालनमा समन्वय लगायतका आधारभूत समस्या समाधान केन्द्रित मेरो भुमिका रहने छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *