भौतिकवाद र अध्यात्मवादको जम्काभेट

संसारमा रहस्यात्मक कुराहरु धेरै छन्। आजसम्म विज्ञानले अथाह धेरै कुराहरु पत्ता लगायो तर पनि यो त पत्ता लगाउनु पर्ने बाँकी कुरामा ज्यादै न्यून मात्र हो। ढुंगे युगको हामीले कल्पना गर्ने हो भने अझ धेरै रहस्यात्मक कुराहरु मानिसहरु माझ थियो।
जो अहिले हामीलाई सामान्य लाग्दछन्। यसैले यो भन्न सकिन्छ कि जुन जुन रहस्य कुराहरु छन्, त्यसले मानिसका मानस पटलमा अलौकिक शक्तिको रुपमा छुट्टै अड्डा जमायो। हाम्रो सामाजिक जनजीवनमा कहिलेकाँही यस्ता घटना पनि घट्दछन् जुन सुनेर मानिसहरुको मनमा दुई थरीका सोचाइहरु बन्ने गरेका छन्।
एकाथरी टुना मुना देवी देवता र भुतप्रेतको खेल भनी बिश्वास गर्न थाल्छन्। अर्कातिर कोरा भौतिकवादमा विश्वस्त मानसिकता पनि छ। यसैले दुबैथरीको भेट कहिल्यै पनि हुन नसक्ने हुन्छ। एउटाले अर्कोलाई रुढीवादी भनिरहन्छ। अर्कोले राजा देवता नमान्ने नास्तिक भन्ने चलन पनि छ। तर कहिलेकाँही अनौठा घटनाहरु अवश्य घट्दछन्।
देख्नेले विश्वास गर्दछ। सुन्नेले रुढीवाद भनिदिन्छ। वास्तवमा हामीले थाहा नपाएका र हाम्रो दिमागको पहुँच भन्दा बाहिर भएको सबैकुरा रुढीवाद हुन सक्दैन। नत यो देवीदेवता र भुतप्रेत नै हो। यो विज्ञानले पत्ता लगाउन बाँकी तथ्यहरु हुन्। थाहा नपाउने हो भने रेडियो र टेलिभिजन पनि निकै ठूलो भुत प्रेत हो नि!
किनकी मानिस बिना पनि यो बोलीरहन्छ नाचिरहन्छ अनि अनेक हाउभाउ देखाउँछ। तर हामी यसो भन्दैनौं। किनकी हाम्रो सामाजिक जनजीवनमा यो सामान्य भैसकेका छ। सामान्य मानिसहरुको दिमागको पहुँचभन्दा बाहिरका कुराहरुले एउटा छुट्टै कल्पनाको संसार बनायो। त्यही नै अध्यात्मवादको आधार हो।
अथवा यसरी भनौ बिज्ञानले पत्ता लगाउन बाँकी कुराहरु अल्पज्ञानी मष्तिष्कले जुन रेखा कोर्दछ त्यही नै अध्यात्मवाद हो। मानिसहरु भन्दछन् अध्यात्मवाद र भौतिकबादमा आकास पातालको फरक छ। यिनीहरुको बीचमा कहिल्यै भेट हुँदैन। तर मलाई त लाग्छ यिनीहरुको पनि भेट हुन्छ।
भौतिकवादको आधार पदार्थ हो भने अध्यात्मवादको आधार चेतना हो। भौतिकवादका अनुसार कुनै कुरा वा पदार्थ देखिसकेपछि मानिसको चेतन तत्व सक्रिय हुन्छ। यसको बिपरित चेतन तत्वका कारण पृथ्वीको सृष्टि भयो भन्ने अध्यात्मवादलाई लागेको छ। यो त भ्रमात्मक कुराहरुको शंंका निवारण नहोउन्जेल मात्र हो।
मानिसको शरीर नभएसम्म चेतना भन्नेकुरा कहाँ हुन्छ र? मानिसको भौतिक शरीर र चेतन तत्व एकै ठाउँमा भएका कारण अध्यात्मवाद र भौतिकवाद पनि एकै ठाउँमा हुन्छ भन्न सकिन्छ। चेतना र शरीर दुबै एउटै अभिन्न अंग हो। यसैले यो एकै ठाउँमा भएका कारण यसलाई छुटयाएर हेर्दा गल्ती हुन्छ। अपसोचको कुरा यो छ कि यसलाई पनि छुटयाएर हेरियो।
जस्तो कि वास्तु विज्ञान र ज्योतिष विज्ञान पनि बिज्ञानकै एउटा शाखा हो। वास्तु विज्ञान अनुसार हाम्रो चारैतिर सकारात्मक र नकारात्मक उर्जाहरु घुमिरहेका हुन्छन्। पृथ्वीको गतिका कारण यसलाई प्रभावित बनाइरहेको हुन्छ।
अथवा पृथ्वीको गति अनुसार यो पनि घुमिरहेको हुन्छ। घरभित्र सकारात्मक उर्जा प्रवेश होस् भन्नाका लागि हाम्रो घरको ढोका र झ्यालहरु कुन कुन दिशामा राख्ने भन्ने कुरा निश्चित गरिन्छ।
यस्तै गरेर हाम्रो गाउँघरमा बुढापाकाहरु साना बच्चाहरुलाई डोबाटोमा नलानु है केही लाग्ला पनि भन्ने गर्दछन्। यसो गर्दा बच्चाहरु बिरामी भएका उदाहरणहरु पनि छन्। यसको कारण के हुन सक्छ बिचार गरौं त? डोबाटो भन्ने बित्तिकै चारैतिरका मानिसहरु आवतजावत गर्ने ठाउँ हो। त्यहाँ सुकिला र सफा मानिस मात्रै हिँड्दैनन्।
रोगी र फोहरी मानिसहरु पनि त्यतिकै हिँड्छन्। यसरी हिँड्ने क्रममा उनीहरुले नकारात्मक उर्जा पनि छोडेर गएका हुन्छन्। जसबाट साना बच्चाहरु कमजोर हुने भएकाले तुरुन्त बिरामी पर्न जान्छन्।
यसरी लागेको बेथा लामाले पहिरिने क्रिष्टलको माला, मयुरको प्वाँख वा धुपको सुगन्धले छुवाउँदा त्यो नकारात्मक उर्जा हरायर वा नास भएर जान्छ र बिरामी बिषेक हुन्छ। प्रशोधित क्रिष्टलमा नकारात्मक उर्जा नास गर्ने शक्ति भएको कुरा बास्तुविदहरुले पनि बताउँदै आएका छन्। यस्ता अदृष्य शक्ति भित्र पनि डाइने भुत वा बोक्सी हैन, विज्ञान नै लुकेको हुन्छ भन्ने कुरालाई हामीले हृदयंगम गर्नु आवश्यक छ।
निकै वर्ष अगाडि यो पंक्तिकारको जीवनमा एउटा घटना घट्यो। भर्खरको युवा उमेर, भौतिकवादलाई आत्मसात गरेको युवाको जीवनमा अचानक घटेको घटना हो यो। अध्यात्मवादलाई ठाडै अस्वीकार गर्ने कोरा भौतिकवादी प्रकृतिको मानिस थिएँ म।
म मेरो पुख्र्यौली घरको एउटा कोठामा बसेको थिएँ। म खाटमा थिएँ, मेरी श्रीमती भुइँमा गुन्द्री ओछयाएर लमतन्न सुतेकी थिइन्। समय बिहान घाम झुल्केको थियो। एक्कासी मेरो श्रीमतीको शिरदेखि पाउसम्म पर्ने गरी एक अँजुली पानी छरियो। पानीले कपडा पनि भिज्यो।
बिन्दा जुरुक्क उठिन्। हामी दुईजना बाहेक त्यहाँ कोही पनि थिएन। पानी नजिकबाट छयापिएको छ। मलाई अनौठो लाग्यो। भौतिकवादले आँखाले देखेको कुरा बिश्वास गर्नु नदेखेको बिश्वास नगर्नु भन्छ। आँखाले त देखियो त! यस दिनदेखि मैले हाम्रो वरिपरिको वाताबरणमा कुनै अदृष्य शक्ति पनि हुनेरहेछ भन्ने कुरामा बिश्वास गर्न थाले।
हामी रेडियो तरंगको कुरा गर्दछौं। यस्ता तरंगहरु अरु बिभिन्न नामका हाम्रो वाताबरणमा असंख्य अरु पनि नहोलान् भन्न सकिन्न। मात्रै हामीलाई थाहा छैन। थाहा नहुने बित्तिकै ती कुराको अस्तित्व नै छैन भन्न मिल्छ र? यसैले संसारलाई बुझ्न सकिन्छ। अझै धेरै कुरा बुझ्न बाँकी छ।
बिज्ञानले आजसम्म गरेको आबिष्कार धेरै नै नपुग र नगण्यै मात्र हो। धेरै भन्दा धेरै अनुत्तरित प्रश्नहरुको यसले उत्तर दिन भ्याएकै छैन। हिन्दू धार्मिक विधि अनुसार धामीहरुले आगोको बिशाल भुंग्रोमा खाली खुट्टै नाच्ने र आगोको भुंग्रो नाचेरै खुट्टाले कुल्चेर निभाउने चलन छ। यसलाई खली खाएको भनिन्छ।
यो कसरी सम्भव छ? यी र यस्तै विधि विधानहरु अरु पनि पाइन्छ। यसको अनुसन्धान हुनु जरुरी छ। हिन्दु सभ्यताका बेदहरुदेखि असंख्य पुस्तकहरु युरोपियनहरुले लगेर यसको अनुसन्धान गरिरहेका छन्। हामी हाम्रै यस्तो बहुमुल्य खजनालाई कवाडी सम्झिरहेका छौं।
अर्को एउटा प्रतिनिधि घटना, यो पनि निकै बर्ष अघिको हो। मेरो युवा उमेरकै समय थियो। म आफन्तको घरमा गएको थिएँ, त्यही दिन अन्दाजी चार बजेको थियो। झाँक्रीले भुत तहलगाउने रे भन्ने खवर मेरो कानसम्म आइपुग्यो। म पनि भुत तह लगाएको हेर्न जाने भएँ। सानो भदो केटो कैलाससँंग नजिकैको त्यो घरमा पुगे।
घर भुईँतले र ढुंंगाले छाएको थियो। भाद्र महिना थियो। पहाडी गाउँमा त्यो घर एउटा तामाङ दाजुको थियो। बाह्र जना जत्ति मानिस जम्मा भैसकेका रहेछन्। दुई जना झाँक्री बारुदी बन्दुक भरेर बसेका रहेछन्। सँगै गएको बाबु अगेना छेउमा बसेको थियो। म मुल ओछ्यानमा बसेको थिएँ।
पुग्ने बित्तिकै बाबुको अगाडि छेउमा दुई माना जति चिसो माटो खस्यो। अचम्ममा परियो। तुरुन्तै फेरि घरको भित्ता भित्ताबाट अन्दाजी मुठ्ठी भरीका दल्क्षिण ढुंंगाहरु बर्सिन थाले। एउटा ढुंगा सन्दुस माथि छेउमा भएको सिलवरे थालको बिटमा लागेर ट्वान्य्राङ आवाज दिँदै भुईँमा बर्जियो।
झाँक्रीहरुले बन्दुक पड्काउने कोसिस गरेकै हो पड्किरहेको थिएन। ढुंगा चारैतिर भित्ताबाट आएपनि कसैलाई लागिरहेको थिएन। त्यो दिनको भुत तह लगाउने कार्यक्रम सफल हुन सकेन।
त्यो घरमा चारैतिर ढुंगाले हान्ने भएपछि घरका मानिसहरु भोलिपल्ट काठमाडौं बसाईँ सरे। घरको गाई एउटा अली तलको घरमा पाल्न दिएको रहेछन्। गाई पाल्न दिएको घरमा पनि ढुंगाले हान्न थालेको कुरा सुनियो। पछि घरवालाले उक्त गाई उहीँ लगेर बानेपछि स्थिति शान्त भएको खवर सुन्नमा आयो।
म भौतिकवादमा विश्वास राख्ने मानिस पनि हो। भर्खरको युवा उमेर अझ उग्र भौतिकवादी पनि थिएँ। रुढीबादमा अहिले पनि म विश्वास गर्दिन। तर त्यो दिनको घटनाले हाम्रो वरीपरी वातावरणमा कुनै अदृष्य शक्ति पनि छ भन्ने सोच्न पुनः बाध्य बनायो।
यस्ता घटनाहरु बेला बेला देशका बिभिन्न भागमा बिरलै भएपनि नसुनेको भने हैन। यहाँ त आफैंले देखेको कुरा नपत्याउँ कसरी? यस्ता पत्यार नलाग्ने घटनाहरु मानिसका जीवनमा बेला बेला घटिरहेका हुन्छन्। यसलाई रुढीवादी भनेर खिसी टिउरी गर्ने हैन।
हरेक समस्याका उत्तर खोज्ने गर्नुपर्दछ। किन कसरी? प्रश्न गरिरहनुपर्दछ। यस्ता घटनाहरुको पनि अनुसन्धान हुनु आवश्यक छ। यस्ता कुराहरु विज्ञानले पत्ता लगाउन बाँकी तथ्यहरु हुन भन्ने लाग्छ। सबै तथ्यहरुको रहस्योद्घाटन हुँदै गएमा बल्ल भौतिकवाद अझ मजबुत बन्न सक्छ।
Facebook Comment