९९ हजार रुपैयाँमा जीवनभर जतिसुकै पानीपुरी खान पाइने अफर !

काठमाडौं । प्रायः युवती, महिला र युवा तथा किशोर उमेर समूहमा निकै लोकप्रिय खानेकुरा पानीपुरी बेच्नका लागि एक व्यापारीले निकै रोचक अफर ल्याएका छन् । उनले ९९ हजार रुपैयाँ एकैपटक तिर्ने ग्राहकका लागि जीवनभर जतिसुकै पानीपुरी खान पाउने अफर ल्याएका हुन् । यसबाहेक उनले थोरै समयको लागि अरु अफरहरु पनिल्याएका छन् ।
भारतको महाराष्ट्रको नागपुरमा पानीपुरी बेच्ने व्यापारी विजय मेवालाल गुप्ताले यस्तो अफर ल्याएको इण्डियन एक्सप्रेसको समाचारमा उल्लेख छ । गुप्ताको पसलमा एकैपटक ९९ हजार भारतीय रुपैयाँ तिरेपछि जीवनभर जतिसुकै पानीपुरी खान पाइन्छ । यो अफरमा एक पटकमा यति मात्र पानीपुरी खान पाइने भन्ने कुनै सीमा छैन । यो अफर लिने ग्राहकले दिनहुँ जतिसुकै पटक मन लागेजति पानीपुरी खान पाउनेछन् ।
यो अफरबाहेक उनले अरु अफर पनि ल्याएका छन् । उनको पसलमा एकैपटक ५ हजार रुपैयाँ तिरेपछि एक वर्षसम्म १० हजार रुपैयाँ बराबरको मूल्य पर्ने पानीपुरी खान पाइने अफर पनि छ । यसबाहेक उनले युवती र महिलाहरुलाई लक्षित गर्दै अन्य अफरहरु पनि ल्याएका छन् ।
समाचार एजेन्सी एएनआइसँग कुरा गर्दै गुप्ताले भने ‘हामीले १ रुपैयाँदेखि ९९ हजार रुपैयाँसम्म र एक दिनदेखि जीवनभरको लागि अफरहरु ल्याएका छौं । १ रुपैयाँको महाकुम्भ अफर एक पटकमा ४० पानीपुरी खान सक्नेहरुका लागि हो । लाडली बहन अफरमा युवतीहरुले ६० रुपैयाँ तिरेपछि एक पटकमा खान सक्नेजति पानीपुरी खान पाउँछन् ।’
गुप्ताका अनुसार २ जना ग्राहकले ९९ हजार रुपैयाँ तिरेर जीवनभरको अफर लिइसकेका छन् । यस्ता अफर ल्याएपछि उनको व्यवसायको प्रचार भएको र व्यवसाय पनि बढेको उनले बताए । गुप्ताले एक पटक खान सुरु गरेपछि लगातार १५१ वटा पानीपुरी खान सक्नेहरुलाई २१ हजार रुपैयाँ पुरस्कार दिने अफर पनि ल्याएका छन् ।
Facebook Comment