भारतमा नेपाली विद्यार्थीको मृत्यु : मन्त्रीको हस्तक्षेपपछि कलेज प्रशासन झुक्यो, आरोपी ‘प्रेमी’ पक्राउ

डिसी नेपाल
६ फागुन २०८१ १०:३६

काठमाडौं । भारतको ओडिसामा एक निजी कलेजमा एक नेपाली विद्यार्थीको मृत्युपछि कलेज प्रशासनले नेपाली विद्यार्थीहरुलाई जबरजस्ती घर पठाएको विषयमा त्यहाँका उच्च शिक्षा मन्त्रीले हस्तक्षेप गरेका छन् । मन्त्रीको हस्तक्षेपपछि कलेज प्रशासनले रेलवे स्टेशनमा लगेर छोडिएका नेपाली विद्यार्थीलाई पुनः कलेजको होस्टलमा फर्किन आग्रह गरेको छ ।

भारतको ओडिशा राज्यको भुवनेश्वरमा रहेको कालिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजीमा अध्ययनरत नेपाली विद्यार्थी प्रकृति लम्सालको मृत्युपछि त्यहाँ विद्यार्थीले प्रदर्शन सुरु गरेका थिए । प्रदर्शन गरिरहेका नेपाली विद्यार्थीलाई कलेज प्रशासनले प्रहरीको सहयोगमा जबरजस्ती बसमा हालेर कटक रेलवे स्टेशनमा छोडेको थियो । कलेज प्रशासनले नेपाली विद्यार्थीहरुलाई उनीहरुको लागि कलेज सधैंका लागि बन्द भएको भन्दै घर जान लिखित सूचना दिएको थियो ।

कलेजले विद्यार्थीलाई जबरजस्ती निकालेको कुरा सामाजिक संजालमार्फत फैलिएपछि ओडिसा राज्यका उच्च शिक्षा मन्त्री सूर्यवंशी सुरजले यस मामिलामा हस्तक्षेप गरेका हुन् । उनले यो घटनालाई दुर्भाग्यपूर्ण भनेका छन् । उनले कलेजले निकालेका नेपाली विद्यार्थीलाई पुनः कलेजमा फर्काउन निर्देशन दिइएको र उनीहरुलाई ओडिसा राज्य सडक यातायात निगमद्वारा संचालित बसहरुमा राखेर पुनः होस्टेल फर्काइने बताएका छन् ।

मन्त्री सूर्यवंशीले नेपाली छात्रा प्रकृतिको आत्महत्याका लागि जिम्मेवार रहेको आरोप लागेका विद्यार्थीलाई पनि पक्राउ गरिएको पुष्टि गरेका छन् । प्रकृतिको मृत्युपछि विद्यार्थीहरुले सोही कलेजमा अध्ययनरत मेकानिकल इन्जिनियरिङका विद्यार्थी अद्विक श्रीवास्तवले प्रकृतिको शोषण गरेको र सोही कारण उनी आत्महत्या गर्न बाध्य भएको आरोप लगाएका थिए । मन्त्री सूर्यवंशीका अनुसार आरोपी श्रीवास्तवलाई अदालतमा उपस्थित गराइनेछ ।

मन्त्री सूर्यवंशीले कलेज प्रशासनलाई विद्यार्थीहरुमाथि कुनै किसिमको उत्पीडन वा धम्कीपूर्ण कार्य गरिए कडा कारवाही गरिने चेतावनी दिएका छन् । उनले यस विषयमा ओडिसा राज्य गृह विभागले आवश्यक काम गरिरहेको र यसलाई सम्बोधन गर्न भारतको परराष्ट्र मन्त्रालयसँग पनि छलफल भइरहेको बताएका छन् ।

ओडिसा टिभीका अनुसार मृतक प्रकृतिको पोस्टमार्टम आज अखिल भारतीय आयुर्विज्ञान प्रतिष्ठान (एम्स) भुवनेश्वरमा गरिनेछ । आज प्रकृतिका परिवारका सदस्यहरु भुवनेश्वर पुग्ने र उनीहरु पुग्नासाथ पोस्टमार्टम गरिने बताइएको छ । प्रकृतिको मृत्युपछि विद्यार्थीहरुले गरेको प्रदर्शनमा दमन गरेको आरोपमा २ जना सुरक्षा गार्डलाई पनि पक्राउ गरिएको समाचारमा जनाइएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *