ललितपुरको वाइवाई फ्याक्ट्री नवलपरासीमा सारियो

काठमाडौं। वाइवाइको पहिलो उत्पादन केन्द्र स्थानान्तरण गरिएको छ। ललितपुरको भैसेपाटीमा चार दशकदेखि सञ्चालनमा रहेको फ्याक्ट्री अब नवलपरासीस्थित सीजी इन्डस्ट्रीयल पार्क (सिजिआईपी) मा सारिएको हो।
वाइवाइका प्रमुख कार्यकारी अधिकृत प्रदीप पुडासैनीका अनुसार स्थानान्तरणको सम्पूर्ण प्रक्रिया श्रमिकको व्यवस्थापन र अन्य सरोकारवालाबीच आपसी समझदारी र लिखित सहमतिमा सम्पन्न गरिएको हो।
सन् १९८४ मा स्थापना भएको भैँसेपाटीको वाइवाई फ्याक्ट्री नेपालको तयारी चाउचाउ उत्पादन केन्द्रहरूमध्ये एक हो। स्थापना भएको समयमा भैँसेपाटी खुला क्षेत्र थियो, जहाँ औद्योगिक गतिविधि सहज रूपमा सञ्चालन गर्न सकिन्थ्यो।
‘समयक्रमसँगै यो क्षेत्र उच्च जनघनत्व भएको आवासीय क्षेत्रमा परिणत भयो, जसले औद्योगिक उत्पादनलाई निरन्तरता दिन कठिन बनायो र हामी यस ऐतिहासिक फ्याक्ट्रीलाई स्थानान्तरण गर्ने निर्णयमा पुग्यौँ’, पुडासैनीले भने।
फ्याक्ट्री स्थानान्तरणका क्रममा कुनै पनि श्रमिकलाई असहज स्थिति नहोस् भन्ने उद्देश्यले कम्पनीले विशेष प्रोत्साहन प्याकेजको व्यवस्था गरेको थियो। साथै, इच्छुक कर्मचारीहरूका लागि वाइवाइका काठमाडौंबाहिर रहेका अन्य प्लान्ट तथा अफिसहरूमा स्थानान्तरणको अवसर खुला गरिएको छ।
व्यवस्थापनका अनुसार, यस प्रक्रियाले कम्पनीभित्रको कार्य वातावरणलाई अझ सुदृढ बनाउनेछ। ‘सम्पूर्ण कर्मचारीहरुको उचित व्यवस्थापन पश्चात लिखित सहमतिमा नै यस फ्याक्ट्रीलाई स्थानान्तरण गरिएको हो,’ पुडासैनीले बताए।
Facebook Comment