ओडिसा घटनाकाे अनुसन्धान गर्न माग गर्दै अखिल क्रान्तिकारीकाे प्रदर्शन (तस्बिर)

डिसी नेपाल
६ फागुन २०८१ १४:५१

काठमाडाैं। भारतको ओडिसास्थित नेपाली विद्यार्थी मृतफेला परेको घटनाको अनुसन्धानको माग गर्दै माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले काठमाडौंमा प्रदर्शन गरेका छन्।

भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआइआइटी) को छात्राबासमा रहेकी विद्यार्थी प्रकृति लम्सालको रहस्यमय मृत्युको घटनाको छानविनका लागि कुटनीतिक पहल गर्न माग गर्दै अखिल क्रान्तिकारीले मंगलबार काठमाडौंको माइतीघरमा विरोध प्रदर्शन गरेको हो।

उनीहरुले घटनाको सत्यतथ्य छानविन हुनुपर्ने, नेपाली विद्यार्थीको सुरक्षा हुनुपर्ने माग समेत राखेका छन्। प्रदर्शनमा सहभागीहरुले प्रकृति लम्साललाई न्याय दे, नेपाली विद्यार्थीहरुमाथि भएको दमन बन्द गर, भारतमा अध्ययनरत विद्यार्थीको रक्षा गर लगाएतका प्लेकार्ड प्रदर्शन गरेका थिए।

अखिल क्रान्तिकारीका अध्यक्ष विजयप्रकाश सापकोटाले हजारौ विद्यार्थीहरु पढ्नका लागि बाहिर जानुपर्ने अवस्था र त्यसमाथि पनि नेपाली विद्यार्थी असुरक्षित हुने अवस्थाको अन्त्य गर्नुपर्ने बताए।

उनले भारतमा भएको घटनाको छानविन गर्न र नेपाली विद्यार्थीको सुरक्षाका लागि राज्य र सरोकारवाला निकाय गम्भीर हुनुपर्ने उल्लेख गरे। कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआइआइटी) ले भने घटनालाई गम्भीर रुपमा लिएको जनाउँदै माफी मागेको छ।

त्यस्तै नेपाली विद्यार्थीलाई अभद्र व्यवहार गर्ने दुई जना सुरक्षा गार्डलाई सेवाबाट हटाइएको र तीन जना निलम्बित भएको कलेजले जनाएको छ। आइतबार राति रुपन्देहीकी २१ वर्षीया लम्साल छात्रावासमा मृत फेला परेकी थिइन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *