पोर्चुगलमा ‘मेरो भ्वाइस युनिभर्स’ र ‘मेरो डान्स युनिभर्स’ अडिसन सम्पन्न

दिपेश विक्रम विष्ट
६ फागुन २०८१ १६:०७

काठमाडौं । इन्ट्रा–नेशनल वेलफेयर एण्ड सपोर्ट फाउण्डेसन अफ अमेरिकाद्वारा आयोजित ‘मेरो भ्वाइस युनिभर्स’ र ‘मेरो डान्स युनिभर्स’ सिजन-२ को पोर्चुगल अडिसन आइतबार भव्य रूपमा सम्पन्न भएको छ।

लिस्बनस्थित ‘लभ लिस्बन’ रेष्टुरेन्टमा आयोजित अडिसनमा नेपाली समुदायको उल्लेखनीय सहभागिता देखिएको थियो। कार्यक्रमका प्रमुख अतिथि फाउण्डेसनका कार्यकारी निर्देशक चुडामणी भट्टराई रहेका थिए। विशेष अतिथिका रूपमा संस्थाका सांस्कृतिक विभाग प्रमुख ओमराज गुरुङ उपस्थित रहेका थिए।

कार्यक्रम अत्यन्तै उत्साहजनक र भव्य भएको संयोजक देवी गर्बुजा मगरले जानकारी दिइन्। ‘मेरो भ्वाइस युनिभर्स’ तर्फ ३२ जना प्रतियोगीले गायन प्रतिभा प्रस्तुत गरेका थिए। ‘मेरो डान्स युनिभर्स’ तर्फ १६ जना प्रतियोगीले आफ्नो नृत्य प्रस्तुत गरेका थिए। नेपाली मौलिकता झल्किने पोसाकमा सजिएर आएका प्रतियोगीहरूले आफ्ना उत्कृष्ट प्रस्तुति दिएर मन जितेका थिए।

फाउण्डेसनका कार्यकारी निर्देशक भट्टराईले कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली भाषा, कला र संस्कृतिको विश्वव्यापी प्रवर्द्धन गर्ने यो अभियानले प्रतिभाशाली नेपालीलाई अन्तर्राष्ट्रिय मञ्च प्रदान गर्ने बताए। कार्यक्रम संयोजक देवी गर्बुजा मगरले पोर्चुगलमा पहिलो पटक आयोजित अडिसन अत्यन्तै सफल भएको र यसले नेपाली कला र संस्कृतिलाई अन्तर्राष्ट्रियस्तरमा उचाइमा पुर्‍याउने विश्वास व्यक्त गरिन्।

कार्यक्रमको निर्णायक मण्डलमा मेरो भ्वाइस युनिभर्समा अमेरिकाबाट गायक तथा संगितकार केशब पौडेल, पोर्चुगलबाट गायक अर्जुन सोनाम, त्यसैगरी मेरो डान्स युनिभर्समा अमेरिकाबाट नृत्य निर्देशक रुपेश उप्रेती र पोर्चुगलबाट नृत्यंगाना देवी गर्बुजा मगर रहनुभएको थियो भने दिपेश विस्टले कार्यक्रम संचालन गरेका थिए। यो अडिसनबाट गायनतर्फ ५ जना तथा नृत्यतर्फ ३ जना छनोट भएर नेपाल जानेछन।

नेपालका लागि काठमाडौं, पोखरा, दमक र नेपालगञ्जमा तथा अन्तर्राष्ट्रिय रूपमा बेलायत, थाइल्याण्ड, हङकङ, जापान, दुबई, कतार, अष्ट्रेलिया र भारतका विभिन्न शहरहरूमा अडिसन हुने कार्यक्रम तालिका अनुसार तयारी भइरहेको जानकारी दिइएको छ।

‘मेरो भ्वाइस युनिभर्स’ र ‘मेरो डान्स युनिभर्स’ का विजेताले १ करोड नेपाली रुपैयाँ पुरस्कार पाउनेछन् भने दोस्रो स्थान हासिल गर्नेले २५ लाख र तेस्रो स्थान प्राप्त गर्नेले १० लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्।

पोर्चुगलमा सम्पन्न यो अडिसनले नेपाली समुदायमा नयाँ जोश र उत्साह भरिदिएको छ। प्रतियोगिताका छनोट भएका प्रतिभाहरूलाई आगामी चरणका लागि काठमाडौंमा प्रतिस्पर्धा गराइने छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *