अनलाईन जुवाको हब बन्दै काठमाडौं, एक महिनाको अवधिमा २८ जना पक्राउ

काठमाडौं। नेपालको प्रमुख शहर काठमाडौ अनलाईन जुवाको हब हुन थालेको छ। केही समयअघिदेखि काठमाडौं र ललितपुरलाई आधार मानेर अनलाइन जुवा खेलाउन गिरोह नै सक्रिय रहेका छन्।
एक महिनाको अवधिमा ६ अर्ब रुपैयाँ भन्दा बढीको अनलाइन जुवा खेलाएको आरोपमा २८ नागरिक पक्राउ परिसकेका छन्। त्यसमा अधिकांश भारतीय पक्राउ परेका हुन्।
मंगलबार मात्रै चार जना पक्राउ परेका छन्। उनीहरुले २ अर्बमाथिको अनलाइन जुवा खेलाएको आरोप छ। काठमाडौ प्रहरी परिसरका प्रवक्ता एसपी अपिलराज बोहोराका अनुसार मंगलबार पक्राउ पक्राउ पर्नेहरूमा भारतको उत्तर प्रदेश गोरखपुरका २२ वर्षीय एमडी आरिफ हुसेन, उत्तर प्रदेश फत्तेपुरका ४२ वर्षीय अब्दुल कलाम, गोरखपुरकै २५ वर्षीय अभिशेष मदेसिया र फत्तेपुरका ४० वर्षीय इरफान पठान छन्।
उनीहरूलाई प्रहरी वृत्त महाराजगञ्ज र प्रहरी प्रभाग बुढानिलकण्ठको टोलीले पक्राउ गरेको हो। बुढानीलकण्ठको तौलुङमा घर भाडामा लिएर उनीहरुले अनलाइन जुवा तथा सट्टेबाजी खेलाएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता बोहोराले जानकारी दिए। ‘उनीहरुले एउटा ठूलो घर नै भाडामा लिएर अनलाईन जुवाको कारोवार गरेको देखियो’, एसपी बोहोराले भने।
प्रहरीका अनुसार यसअघि अनलाइन जुवा खेलाउने गिरोहका २४ सदस्यलाई प्रहरीले पक्राउ गरेको थियो। माघ २० मा पक्राउ परेको सो गिरोहले ३ अर्ब ४ करोड रुपैयाँभन्दा बढीको कारोबार गरेको पाइएको छ।
त्यतिबेला काठमाडौ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोली र जिल्ला प्रहरी परिसर ललितपुरले संयुक्त रूपमा २४ जनालाई पक्राउ गरी सार्वजनिक गरेको थियो। पक्राउ पर्नेहरूमा १० भारतीय र १४ नेपाली नागरिक थिए।
बेटिङ एप्लिकेशनमार्फत यो समूहले अनलाइन गेम भन्दै अनलाइन जुवा खेलाएको आरोप छ। भारतीय र नेपाली एजेन्ट भएर विभिन्न व्यक्तिहरूलाई ह्वाट्स एपमा सम्पर्क गरी खाता खोल्न लगाई अनलाइन जुवा खेलाएको पाइएको अपराध अनुसन्धान कार्यालयका एसपी तथा प्रवक्ता काजिकुमार जानकारी दिएका छन्।
यो समूहले अनलाइन-अफलाइन गेम खेलाई बेटिङ रकम भारतको विभिन्न बैंक खाताबाट नै डिपोजिट गर्ने र निकाल्ने गरेको पाइएको छ। ललितपुरको सानेपास्थित दुईवटा घर भाडामा लिएर उनीहरूले अनलाइन जुवा खेलाउँदै आएका थिए।
प्रहरीले उनीहरूविरुद्ध प्रहरीले मुलुकी फौजदारी अपराध संहिता २०७४ को दफा १२५ अनुसार जुवा खेल्न वा सट्टेबाजी गर्न नहुने र विदेशी विनिमय (नियमित गर्ने) ऐन अनुसार कारबाही अघि बढाएको जनाएको छ।
त्यतिबेला पक्राउ पर्नेहरुमा भारतीय नागरिकहरू २२ वर्षीय अजित कुमार, २४ वर्षीय मुकेश मण्डल, ४४ वर्षीय मनोजकुमार बजाज, २८ वर्षीय सुिमत खत्री, ३४ वर्षीय प्रबातकुमार साह, ३२ वर्षीय ओमप्रकाश खत्री, २८ वर्षीय रविप्रकाश विश्वकर्मा, २३ वर्षीय रवि अभिषेक ओझा र २२ वर्षीय शिवम् पाण्डे थिए।
त्यसैगरी, नेपाली नागरिकहरूमा ३६ वर्षीय टंकबहादुर पछाईं, २५ वर्षीय तेज बोगटी, २३ वर्षीय लक्ष्मण बिष्ट, २५ वर्षीय अविला जिसी, ३४ वर्षीय हरिबहादुर जिसी, २२ वर्षीय समीर खड्का, २४ वर्षीय विक्रम पछाईं, २८ वर्षीय अशोक जिसी, ३४ वर्षीय गोपाल बिष्ट, १९ वर्षीय रवि बिष्ट र २० वर्षीय सुजन जिसी छन्।
उनीहरू सबै प्युठान जिल्लाका हुन्। त्यस्तै, सुर्खेतका २४ वर्षीय भीष्म वली, सुर्खेतकै ३२ वर्षीय हेमन्त लोहनी गौतम र दार्चुलाका २० वर्षीय हेमन्त धामीलाई पनि प्रहरीले पक्राउ गरेको छ।
यसैगरी यसअघि मंसिर ४ गते रुपन्देही प्रहरीले अनलाइन सट्टेबाजी जुवामा संलग्न रहेको आरोपमा १४ जना भारतीय नागरिकलाई भैरहवाबाट पक्राउ गरेको थियो।
वाट्सएप समेतको माध्यमबाट टाइगर ग्रुप, शिव ग्रुप, विनायक ग्रुप बनाई क्रिकेट, फुटबल, हक्की, हर्स रेस लगायतका गेमहरु लर्डस् एक्सचेन्ज, अल प्यानल, स्याफरोन, ताज, क्लासिक एक्ससीएच, गो एक्ससीएच लगायतका वेबसाइटहरुबाट अवैध रुपमा अनलाईन बेटिङ जुवा सट्टावाजी सञ्चालन गरिरहेको अवस्थामा १४ जनालाई पक्राउ गरिएको थियो।
उनीहरुको साथबाट विभिन्न कम्पनीको मोबाइल सेटहरु ४० थान, विभिन्न कम्पनीको ल्यापटप ३ थान र राउटर २ थान समेत बरामद गरेको थियो। रुपन्देही प्रहरीका अनुसार पक्राउ पर्नेमा भारतको हरियाणा प्रदेश पासकुल्ला जिल्ला पिन्जोर पोष्ट अफिस इन्दोर थानाका ३३ वर्षीय साहिल सोडा, उत्तराखण्ड रानिडिया जिल्ला ज्वालापुरका १८ वर्षीय श्याम गुप्ता, उत्तर प्रदेश देवरीया जिल्ला गौरीबजार पोष्टका २० वर्षीय रवि जैसवाल, हरियाणा प्रदेश फरिदावाद जिल्ला खडकेला थाना खिडी पोष्ट अफिसका २४ वर्षीय अनुराग सिंह, सोही स्थानका १९ वर्षीय नितेश वर्मा, गोरखपुर जिल्ला मोतिताम पोष्ट अफिस बिष्णुपुरा थानाका २१ वर्षीय दिपक जैसवाल र गोरखपुर जिल्ला गाईन्ड पोष्ट अफिसका २२ वर्षीय रजत कुमार रहेका थिए।
त्यसै गरी उत्तर प्रदेश गोरखपुर जिल्ला एम्स पोष्ट अफिस कुडाघाट पोष्टका १८ वर्षीय लक्की जैसवाल, जिल्ला संतकविर पोष्ट अफिस खलिलवा थानाका २१ वर्षीय सतेन्द्र कुमार, सोही स्थानका २५ वर्षीय अवधेश कुमार, १८ वर्षिय मोहित कुमार, गोरखपुर जिल्ला क्यान्ट थाना मोहदिपर पोष्टका २० वर्षीय प्रियान्सु जैसवाल, सोही स्थानका १९ वर्षीय मनिष पासवान र उत्तर प्रदेश आजमगढ जिल्ला सदर थाना पोष्टका २५ वर्षीय शिवम सिंहलाई प्रहरीले पक्राउ गरेको थियो।
Facebook Comment