‘तीन तहका सरकारको संरचनामा भएको त्रुटि सच्याइनुपर्छ’

डिसी नेपाल
६ फागुन २०८१ २२:१२

जनकपुर। मधेस प्रदेशका गृह, सञ्चार तथा कानुनमन्त्री राजकुमार लेखीले संविधान संशोधन गर्दा तीन तहका सरकारको संरचनामा भएको त्रुटि सच्याइनुपर्ने बताएका छन्।

रासस मधेस प्रदेश कार्यालयले आज यहाँ आयोजना गरेको ‘सुशासन, विकास र समृद्धिका लागि राससको भूमिका’ विषयक अन्तर्क्रियामा उनले प्रदेश सरकारलाई बलियो बनाउने विषयमा गम्भीर बन्नसमेत सबैलाई आग्रह गरे। मन्त्री लेखीले संविधानप्रदत्त कतिपय अधिकार अझै कार्यान्वयनमा नआएकाले यसमा आवाज उठान सञ्चारमाध्यमलाई आग्रह गरे।

उनले मधेस प्रदेश प्राकृतिक रूपमा सुगम भए पनि शिक्षा, स्वास्थ्य तथा पर्यटनको क्षेत्रमा पछाडि रहेकामा चिन्ता व्यक्त गर्दै सुधारका लागि सरकारले काम गरिरहेको बताए।

जिल्ला समन्वय समिति धनुषाका प्रमुख राजनन्दन मण्डलले सुशासनको अभावमा विकास तथा समृद्धिको यात्रा पूरा गर्न कठिन हुने भन्दै पत्रकारिता क्षेत्रले यस विषयमा निरन्तर कलम चलाउनुपर्नेमा जोड दिए।

जनकपुरधाम उपमहानगरपालिका प्रमुख मनोजकुमार साहले खोज तथा मर्यादित पत्रकारिताका लागि राससको भूमिका महत्वपूर्ण रहेकाले यसलाई कायम राख्न आग्रह गरे। सामाजिक सञ्जालका कारण पत्रकारितासमेत बदनाम भइरहेको भन्दै सचेत रहनुपर्ने धारणा राखे।

राष्ट्रिय समाचार समिति मधेस प्रदेश कार्यालय प्रमुख सुरेश झाको अध्यक्षतामा भएको कार्यक्रममा मिडिया काउन्सिलका कार्यवाहक अध्यक्ष कैलाश दास, आमसञ्चार प्राधिकरणका निवर्तमान अध्यक्ष श्यामसुन्दर यादव, नेपाल पत्रकार महासंघ धनुषाका अध्यक्ष पुरन साह र रेडियो नेपालका वरिष्ठ संवाददाता अजयकुमार झाले राष्ट्रिय समाचार समितिको महत्व र भूमिकाबारे आफ्नो धारणा राखेका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *