प्रकृति लम्साल मृत्यु प्रकरणः सडकदेखि सदनसम्म आक्रोश

काठमाडौं । भारतको उडिसा राज्यस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा नेपाली छात्रा प्रकृति लम्सालको ‘आत्महत्या’पछि विकसित घटनाक्रमले आमनेपालीको ध्यान खिचेको छ । प्रकृतिको मृत्युपछि सो विश्वविद्यालयका कर्मचारीले त्यहाँ अध्ययनरत नेपाली विद्यार्थीमाथि गरेको अमानवीय व्यवहारलाई लिएर सडकदेखि सदनसम्म प्रश्न उठेको छ । नेपालका दुवै सदन प्रतिनिधिसभा र राष्ट्रिय सभाको मंगलबारको बैठकमा यस घटनालाई लिएर सांसदहरूले जोडदार आवाज उठाएका छन् ।
प्रकृतिको मृत्युले भारतीय पक्षले नेपालीलाई गर्ने व्यवहारसमेत उदांगो भएको छ । तर, नेपाल सरकारले गरेको कूटनीतिक पहल, भारतीय दूतावासलगायत अन्य निकायले देखाएको चासोले घटनाको सत्यतथ्य छानबिन हुने आशा भने पलाएको छ ।
बुटवल घर भएकी २० वर्षीया प्रकृति लम्साल बीटेक कम्प्युटर साइन्स एन्ड इन्जिनियरिङ (सीएसई) तेस्रो वर्षमा अध्ययनरत थिइन् । उनलाई सोही क्याम्पसमा पढ्ने अदविक श्रीवास्तवले हैरानी दिने गरेको खुल्न आएको छ । प्रकृति मृत्यु प्रकरणमा पक्राउ परेका छात्र श्रीवास्तवलाई प्रहरीले न्यायिक हिरासतमा पठाएको छ । उनलाई हिरासतमा राखेर अनुसन्धान थालिसकेको प्रहरीको भनाइ छ ।
श्रीवास्तवलाई प्रकृतिको आत्महत्या दुरुत्साहनको कसुरमा पक्राउ गरिएको भुवनेश्वरस्थित प्रहरी कमिसनरको सचिवालयले जनाएको छ । श्रीवास्तव मृतक प्रकृतिका साथी हुन् । श्रीवास्तवको साथबाट प्रहरीले मोबाइल पनि बरामद गरेको छ । साथै, प्रहरीले अनुसन्धानका लागि कागजात, मृतक प्रकृतिको मोबाइल र ल्यापटप बरामद गरेको छ ।
घटना के हो ?
प्रकृतिको आइतबार साँझ मृत्यु भएको थियो । त्यस दिन सो कलेजमा एउटा कार्यक्रम पनि भइरहेको थियो । अपराह्न ४ बजेतिर एकाएक होस्टेलमा नेपाली विद्यार्थी मृत भेटिएको खबर फैलिएको थियो । त्यसपछि अन्य नेपाली विद्यार्थी त्यहाँ पुगे तर क्याम्पस प्रशासनले उनीहरूलाई होस्टेलमा छिर्न दिएन । बरु प्रकृतिले आत्महत्या गरेको भन्दै घटनालाई सामान्यीकरण गर्न खोजियो । त्यसपछि भने नेपाली विद्यार्थीले क्याम्पस प्रशासनको रवैयाप्रति चर्काे आलोचना र विरोध जनाए ।
श्रीवास्तवले प्रकृतिलाई मानसिक तनाव दिने गरेको समेत उनका साथीहरूले प्रहरी प्रशासनसँग बताएका छन् । यता, लामो समयदेखि मानसिक तनाव दिएपछि प्रकृतिले क्याम्पस प्रशासनमा उजुरीसमेत दिएकी थिइन् । तर, प्रशासनले त्यस’bout कुनै चासो नदेखाएपछि पीडित बनेकी उनले अत्यधिक मानसिक तनावका कारण आत्महत्या गर्न बाध्य भएको बताइएको छ । तर, क्याम्पस प्रशासनले घटनालाई पूर्ण रूपमा ढाकछोप गरेका कारण आत्महत्या हो या हत्या हो खुल्न सकेको छैन ।
क्याम्पस प्रशासनले घटनालाई ढाकछोप गर्न होस्टेलबाटै गुपचुप रूपमा विश्वविद्यालयकै अस्पताल पु¥याएपछि उनलाई मृत घोषणा गरिएको थियो ।
शंकास्पद यस घटनामा क्याम्पस प्रशासनसमेत बचाउमा लागेपछि नेपाली विद्यार्थीले राति १ बजेसम्म क्याम्पस प्रशासनको रवैयाविरुद्ध आन्दोलन गरेका थिए । यता, क्याम्पस प्रशासनले उनीहरूको आवाज दबाउन भाडाका मान्छेसमेत प्रयोग गरेर धम्क्याउने, तर्साउने, कुट्ने, पिट्नेलगायतका घृणित काम गरेको थियो । यस्तै, विश्वविद्यालयका कर्मचारीले राष्ट्रियतामा समेत आँच आउने विषयहरू उठाउँदै नेपाली विद्यार्थीलाई धम्कीसमेत दिएको थियो ।
प्रकृतिको रहस्यमयी मृत्यु र घटना लुकाउन क्याम्पस प्रशासनले गरेको रवैयाविरुद्ध नेपाली विद्यार्थीले आक्रोश पोखिरहँदा सोमबार बिहान एकाएक उनीहरूलाई क्याम्पस प्रशासनको निर्देशनमा एक–एक गरी उडिसास्थित भुवनेश्वर रेलवे स्टेसनमा पु¥याइएको थियो ।
कूटनीतिक पहलमा सरकार
भारतमा नेपाली छात्रा प्रकृतिको मृत्युपछि प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले त्यस विषयमा कूटनीतिक तवरबाट कुरा उठाएको बताएका थिए । प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमा लेख्दै आफूले कूटनीतिक तवरबाट कुरा गरेको र मृतकलाई न्याय दिलाउन पहल गर्ने प्रतिबद्धता जनाएका थिए ।
‘भारतको उडिसास्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयको होस्टेलमा एकजना नेपाली छात्राको मृत्यु भएको र नेपाली विद्यार्थीलाई होस्टेलबाट जबर्जस्ती निकालेको कुरा मिडिया र सामाजिक सञ्जालमार्फत जानकारीमा आएको छ, यस विषयमा सरकारले कूटनीतिक तवरले बुझ्दै सम्पर्कमा रहेर काम गरिरहेको छ,’ प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमा भनेका थिए । प्रकृतिको शंकास्पद मृत्यु र त्यसपछि विकसित घटनाक्रमलाई लिएर छात्रावासमा रहेका सबै नेपालीलाई विश्वविद्यालयले निष्कासन गरेसँगै नेपालका तर्फबाट प्रधानमन्त्री ओलीले भारतीय दूतावासमार्फत कूटनीतिक पहल गरेपछि भने विश्वविद्यालयले नेपाली विद्यार्थीलाई सुरक्षा व्यवस्था गर्ने भन्दै छात्रावास फर्कन विज्ञप्तिमार्फत आग्रह गरेको छ ।
यस्तै, ओमनमा रहेकी परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले पनि यस प्रकरणमा चासो व्यक्त गरेकी छन् । उनले काठमाडौंस्थित भारतीय राजदूत नवीन श्रीवास्तवलाई टेलिफोन गरेर घटना’bout चासो व्यक्त गरेकी थिइन् ।
परराष्ट्रमन्त्री राणाले दोषीमाथि कारबाही र पीडितमाथि न्यायका लागि निरन्तर कूटनीतिक पहल गरिरहेको बताएकी छन् । उनले नेपाली विद्यार्थीको अवस्था बुझ्न र त्यहाँ रहेका नेपाली विद्यार्थीलाई कलेजमा सुरक्षाको वातावरण मिलाउने सन्दर्भमा नेपाली दूतावास नयाँदिल्लीबाट नेपाल प्रहरीका दुईजना वरिष्ठ अधिकारी मंगलबार बिहानै विश्वविद्यालय पुगेको समेत बताएकी छन् ।
यता, भारतस्थित नेपाली दूतावासले आफूहरूले नेपाली विद्यार्थीको सुरक्षाका लागि भारतको केन्द्र सरकार, उडिसा राज्य सरकार र क्याम्पस प्रशासनसँग समेत समन्वय गरेको बताएको छ । साथै, घटनाको निष्पक्ष छानबिन नहुँदासम्म निरन्तर समन्वयमा रहेको समेत दूतावासले जनाएको छ ।
दुई सुरक्षा कर्मचारी बर्खास्त, वरिष्ठ प्रशासनिक अधिकारीसहित ३ जना निलम्बित
प्रकृतिको शंकास्पद मृत्युपछि निष्पक्ष छानबिनको माग गर्दै विद्यार्थीले प्रदर्शन गरेपछि उल्टो कुटपिट र छात्रावासबाट निष्कासन गर्ने आफ्ना कर्मचारीलाई कलेज प्रशासनले बर्खास्त गरेको छ । साथै, वरिष्ठ प्रशासनिक अधिकारीसहित तीन जनालाई निलम्बन गरेको छ ।
केआईआईटीले मंगलबार विज्ञप्ति जारी गर्दै दुई जना सुरक्षा कर्मचारीलाई बर्खास्त गरेको, दुई जना वरिष्ठ होस्टेल अधिकारी र अन्तर्राष्ट्रिय सम्बन्ध कार्यालय (आईआरओ)का एक जना वरिष्ठ प्रशासनिक अधिकारीलाई पूर्ण अनुसन्धानका लागि निलम्बन गरिएको जानकारी गराएको छ ।
‘१६ फेब्रुअरीमा भएको घटनाप्रति केआईआईटी अधिकारीहरू र सम्पूर्ण कर्मचारी गहिरो दुःख व्यक्त गर्दछन्, दुई सुरक्षा कर्मचारीलाई तुरुन्तै बर्खास्त गरिएको छ,’ कलेजले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘दुई वरिष्ठ होस्टेल अधिकारीहरू र अन्तर्राष्ट्रिय सम्बन्ध कार्यालयका एक वरिष्ठ प्रशासनिक अधिकारीलाई पूर्ण अनुसन्धानका लागि निलम्बन गरिएको छ ।’
नेपाली विद्यार्थीलाई होस्टेलमा फर्कन आग्रह
भारतस्थित नेपाली दूतावासको पहलकदमीपछि विश्वविद्यालय प्रशासनले होस्टेलमा फर्कन विद्यार्थीलाई आग्रह गरेको छ । दिल्लीस्थित नेपाली दूतावासले उडिसाको घटना’bout विज्ञप्ति जारी गर्दै नेपाली विद्यार्थीलाई शैक्षिक संस्थाको छात्रावासमा बस्ने प्रबन्ध मिलाउन अनुरोध गरिएको र त्यसअनुसार नै शैक्षिक संस्थाले व्यवस्था गरेको जनाएको छ ।
राजदूत शंकर शर्माले शैक्षिक संस्थाका रजिस्ट्रारलगायतका प्रतिनिधिसँग छलफल गरेको पनि विज्ञप्तिमा उल्लेख छ । दूतावासले नेपाली विद्यार्थीलगायत भारतको केन्द्रीय सरकार एवं उडिसाको मुख्यमन्त्री कार्यालय तथा अन्य सम्बन्धित भारतीय निकायसँग पनि सम्पर्क गरिरहेको उल्लेख गरेको छ । इन्स्टिच्युटले पनि सूचना जारी गर्दै नेपाली विद्यार्थीले छात्रावासमै बस्न पाउने जनाएको हो ।
विश्वविद्यालयको दुव्र्यवहारका कारण धेरै नेपाली विद्यार्थी स्वदेश फर्कने क्रममा रहेका बुझिएको छ । ‘क्याम्पसमा नेपाली विद्यार्थीलाई फर्काउन सहज बनाउन क्याम्पसमा एक प्रतिबद्ध नियन्त्रण कक्ष २४सै घण्टा सञ्चालनमा छ,’ विज्ञप्तिमा भनिएको छ ।
त्यस्तै, कर्मचारीहरूले विद्यार्थीलाई सकेसम्म चाँडो क्याम्पसमा फर्कन अधिकतम प्रयास गरिरहेको विज्ञप्तिमा उल्लेख छ ।
उडिसा पुगे प्रकृतिका बुबा
छोरीको मृत्यु भएको खबर पाउनासाथ प्रकृतिका बुबा सुनिल लम्साल केही आफन्तसहित उडिसा पुगेका छन् । बुटवल घर भए पनि प्रकृतिको परिवार काठमाडौंमा बस्दै आइरहेको छ । युनिग्लोब कजेलमा विज्ञान संकायमा अध्ययन पूरा गरेपछि प्रकृति अध्ययनका लागि भारत गएकी थिइन् ।
सदाझैं आफ्नो काममा व्यस्त रहँदा भारतीय नम्बरबाट सुनिललाई सोमबार बिहान फोन आयो । दसैंमा मात्रै बुटवल घर आएर एक महिनाजति बसेर फर्किएकी छोरी संसारमा नरहेको खबरपछि विक्षिप्त बनेका बुबा केही आफन्तको साथमा उडिसा पुगेका हुन् ।
आफ्नी छोरीको जस्तो नियती अरूले भोग्न नपरोस् भन्दै उनी न्यायको याचना गरिरहेका छन् । सुनिलले आफ्नी छोरीमाथि ह्यारेसमेन्ट र इमोसनल ब्ल्याकमेलिङ गरेर मर्न बाध्य पारेको बताएका छन् ।
‘ह्यारेसमेन्ट र इमोसनल ब्ल्याकमेलिङका कारण मेरी छोरीले आत्महत्या गर्न बाध्य भएकी हुन्,’ उनले एसियन न्युज इन्टरनेसनल (एएनआई)सँग कुरा गर्दै भने । कलेज प्रशासनका अधिकारीहरूसँग कुरा भए पनि उनीहरूले आधिकारिक कुनै कुरा नगरेको समेत बताए ।
‘विश्वविद्यायलसँग कुरा भएको छ, त्यहाँका अधिकारीले समन्वय गरिरहेका छन् तर आधिकारिक रूपमा केही पनि कुरा गरेका छैनन्,’ प्रकृतिका बुबा सुनिलले भने ।
प्रहरी प्रशासनले आफूहरूलाई सहयोग गरे पनि विश्वविद्यालयले कुनै सहयोग नगरेको उनले बताए । साथै, उनले आफूहरूको न्यायबाहेक अरू कुनै माग नरहेको समेत बताए ।
तपाईंको माग के हो भन्ने एएनआईका सञ्चारकर्मीको प्रश्नमा उनले भने, ‘हाम्रो माग न्याय मात्रै हो, केवल न्याय ।’
भारतीय दूतावासद्वारा दुःख व्यक्त
नेपालस्थित भारतीय दूतावासले सोमबार नै नेपाली विद्यार्थीको मृत्यु’bout दुःख व्यक्त गर्दै सत्यतथ्य छानबिनका लागि पहल गरिरहेको बताएको थियो । दुई देशको पारस्परिक सम्बन्धलाई ध्यानमा राख्दै उडिसा सरकार र स्थानीय अधिकारीहरूको समन्वयमा अन्य नेपाली विद्यार्थीको सहयोगका लागि आग्रह गरेको दूतावासले जनाएको थियो ।
साथै, मंगलबार पुनः विज्ञप्ति निकाल्दै नेपालस्थित भारतीय दूतावासले नेपाली विद्यार्थीमाथि दुव्र्यवहार गर्ने कलेजका सुरक्षागार्डलाई कारबाहीको प्रक्रिया अघि बढाइएको जनाएको छ । साथै, नेपाली विद्यार्थीलाई हातपात गर्ने चार जनालाई पक्राउ गरी कारबाही अघि बढाइएको समेत भारतीय दूतावासले जनाएको छ ।
केआईआईटी प्रोफेसरले मागिन् माफी
होस्टेलमा रहेका विद्यार्थीलाई धम्क्याउने क्याम्पसकी प्रोफेसर बताउने मञ्जुसा पाण्डेले सामाजिक सञ्जालमा एक भिडियोमार्फत माफी मागेकी छन् । उनले सोमबार साँझ नेपाली विद्यार्थीलाई होस्टेलबाट निस्किएर जान भन्दै धम्की दिएकी थिइन् । साथै, नेपालको बजेटभन्दा केआईआईटी कलेजको बजेट ठूलो रहेको भन्दै अपमानजनक शब्दसमेत बोलेकी थिइन् ।
‘१६ फेब्रुअरीमा कलेजभित्र नेपाली विद्यार्थीमाथि मैले गरेको दुव्र्यवहारप्रति म माफी माग्न चाहन्छु, नेपाली भावनासँग मैले गरेको दुव्र्यवहारप्रति कलेज प्रशासनको कुनै संलग्नता छैन, त्यसकारण म फेरि नेपालीहरूसँग माफी माग्न चाहन्छु,’ उनले सामाजिक सञ्जालमा भिडियो सेयर गर्दै भनेकी छन् ।
यता, विश्वविद्यालयका उपकुलपति (भाइस चान्सलर) प्रो. सरन्जित सिंहले सो घटनाप्रति दुःख व्यक्त गर्दै विकसित घटनाप्रति माफी मागेका छन् । त्यस्तै, उनले होस्टेलमा विद्यार्थीलाई धम्की दिने दुई जनाको अभिव्यक्ति आपत्तिजनक रहेको बताउँदै उनीहरूलाई कामबाट निकालिएको समेत बताएका छन् । सिंहले नेपाली विद्यार्थीलाई क्याम्पस फर्किएर आफ्नो पढाइलाई निरन्तरता दिन आग्रहसमेत गरेका छन् ।
नेपाली विद्यार्थीलाई भारतीय विद्यार्थीको साथ
क्याम्पस प्रशासनले गरेको अत्याचारविरुद्ध नेपाली विद्यार्थीलाई भारतीय विद्यार्थीले समेत साथ दिएका छन् । नेपाली विद्यार्थीलाई क्याम्पसबाट निकालिएपछि भारतीय सत्तारूढ दल भारतीय जनता पार्टी (भाजपा)का विद्यार्थी संगठनका नेताहरूले विरोध जनाएका छन् । भाजपा समर्थित विद्यार्थी संगठन अखिल भारतीय विद्यार्थी परिषद्ले नेपाली विद्यार्थीको समर्थनमा प्रदर्शन गर्दै न्यायका लागि प्रहरी प्रशासनलाई दबाबसमेत दिएका छन् ।
त्यहाँ अध्ययनरत एक नेपाली विद्यार्थीका अनुसार विद्यार्थीले मंगलबार पनि कलेजमै विरोध प्रदर्शन गरेका छन् । नेपाली विद्यार्थीको मृत्यु प्रकरणपछि कलेज प्रशासनबाट भएको नेपाली विद्यार्थीमाथिको दुव्र्यवहारमा भारतीय विद्यार्थीले अग्रपंक्तिमा खटिएर आन्दोलन गर्न थालेका हुन् ।
केआईआईटीका अधिकारीहरूको व्यवहारका कारण नेपाली विद्यार्थी त्रसित बन्न पुगेको भन्दै भारतको सत्तारूढ भारतीय जनता पार्टी समर्थित विद्यार्थी संगठन अखिल भारतीय विद्यार्थी परिषद्को नेतृत्वमा आन्दोलन थालिएको हो । केआईआईटीका कारण लज्जास्पद घटना भएको बताउँदै विद्यार्थीहरूले विरोध प्रदर्शनलाई निरन्तरता दिएका हुन् ।
केआईआईटीका अधिकारीहरूले आन्दोलनरत विद्यार्थीहरूलाई कन्भिन्स गर्न खोजिरहेका छन् । तर, उनीहरूले दोषीमाथि कारबाही हुनुपर्ने, नेपाली विद्यार्थीलाई कलेजबाट निकालेर घर पठाउनेहरूमाथि अनुसन्धान गरेर कारबाही गरिनुपर्ने लगायतका माग राखेर आन्दोलन गर्दै आएका हुन् ।
त्यस्तै, उनीहरूले पीडितको गुनासो बेवास्ता गर्नेहरूमाथि कारबाही हुनुपर्ने समेत माग गरेका छन् । नेपालको राष्ट्रिय छविमा हमला गर्ने शिक्षकहरूलाई निलम्बन गर्नुपर्ने, छात्रावासभित्र नेपालको राष्ट्रिय बजेटलाई कलेजको खर्चसँग तुलना गर्ने होस्टेल वार्डेन र होस्टेल डाइरेक्टरलाई समेत कारबाही गर्नुपर्ने माग गरेका छन् । विद्यार्थीमाथि आक्रमणको आदेश दिने उच्च अधिकारीले सार्वजनिक रूपमा माफी माग्नुपर्ने र केआईआईटीको सीसीटीभी फुटेज सार्वजनिक गरिनुपर्ने समेत माग गरेका छन् ।
समस्या समाधान नभए एनओसी रोक्ने चेतावनी
भारतको उडिसास्थित भुवनेश्वरमा रहेको कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी)मा भएको समस्या समाधान नगरे वैदेशिक अध्ययन अनुमतिपत्र (एनओसी) रोक्ने चेतावनी दिएको छ ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विज्ञप्ति निकालेर घटनाको समाधान नगरे एनओसी रोक्ने चेतावनी दिएको हो । ‘सो घटनाबाट सिर्जित समस्याको न्यायपूर्ण र वैधानिक रूपमा समाधान नगरिएमा भविष्यका लागि भारतको उडिसा राज्यका विश्वविद्यालय शिक्षण संस्थानमा अध्ययनका लागि प्रदान गर्दै आएको वैदेशिक अध्ययन अनुमतिपत्र एनओसी प्रदान गर्ने कार्य स्थगित गर्न सकिने व्यहोरा पनि सम्बन्धित सबैको जानकारीका लागि अनुरोध छ,’ मन्त्रालयले भनेको छ ।
केआईआईटीमा अध्ययनरत छात्रा प्रकृति लम्सालको रहस्यमय मृत्यु र तत्पश्चात नेपाली विद्यार्थीप्रति मन्त्रालयले ध्यानकर्षण भएको जनाएको छ । ‘विद्यार्थीहरूले सम्बन्धित विश्वविद्यालयले निर्धारण गरेको नियम पालना गरी नियमानुसार बुझाउनुपर्ने शुल्क बुझाई अध्ययन गर्न पाउने विश्वव्यापी मान्यताको विपरीत अध्ययनरत रहिरहेको अवस्थामा विश्वविद्यालय प्रशासनबाट विद्यार्थीहरूप्रति भएको व्यवहार निन्दनीय छ,’ मन्त्रालयले भनेको छ । घटनाको विषयमा समस्या समाधानका लागि कूटनीतिक पहल गरिदिन परराष्ट्र मन्त्रालयलाई अनुरोध गरिएको मन्त्रालयले जनाएको छ ।
सो घटनाबाट प्रभावित विद्यार्थी तथा अभिभावकलाई आकस्मिक सहजीकरण गर्न मन्त्रालयले सहायताकक्ष बनाएको छ ।
Facebook Comment