पूर्व राजाको सम्बोधन साहसिलो र प्रशंसनीय योग्य : डा. प्रकाशचन्द्र लोहनी

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्वअध्यक्ष तथा निर्देशन समितिका अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले प्रजातन्त्र दिवसको अवसरमा राष्ट्रियता, प्रजातन्त्र र जनताको पक्षमा पूर्वराजा ज्ञानेन्द्रबाट आएको ‘साहसिलो र प्रशंसनीय’ सम्बोधनको विषयमा छलफल गर्न राप्रपाको कार्यसम्पादन समिति वैठक यथाशिघ्र बस्न जरुरी भएको बताएका छन्।
‘राजा ज्ञानेन्द्रबाट राष्ट्रियता, प्रजातन्त्र र जनताको पक्षमा भएको साहसिलो सम्बोधन प्रशंसनीय र सबै पक्षबाट मननीय छ,’ राप्रपाका वरिष्ठ नेता लोहनीले सामाजिक सञ्जालमा बुधबार लेख्दै भने। ‘यसबारे राष्ट्रियता, प्रजातन्त्र र जनताको हित र सर्वोच्चतालाई केन्द्रबिन्दुमा राखेर गम्भीर छलफल गर्न राप्रपाले चाँडो कार्यसम्पादन समितिको बैठक डाक्नु जरुरी भएको छ।’
लोहनीले भने, ‘फाल्गुन ७ को दिन राजा र जनताको संयुक्त संघर्ष र प्रयासबाट हाम्रो देशमा संवैधानिक राजसंस्था र जनताको सर्वोच्चताको दर्शन र अवधारणाले जग हालेको दिन हो। नेपालीहरुको लागि यो ऐतिहासिक महत्व र उपलब्धिको दिन हो।’
प्रजातन्त्र दिवसको पूर्वसन्ध्यामा पूर्वराजा ज्ञानेन्द्रले वक्तव्य जारी गर्दै ‘राष्ट्र जोगाउने हो भने, राष्ट्रिय एकता कायम राख्ने हो भने, देशको समृद्धि र उन्नतिका निमित्त हामीलाई साथ दिन’ सबै देशबासीलाई आह्वान गरे । अब समय आयो भन्दै त्याग गर्न तयार रहेको बताए।
पूर्वराजा शाहले देशका लागि आफ्नो समर्पण र निष्ठा सदैव रहने बताए। राष्ट्रको हितका लागि आफूले त्याग गरेको र त्यागलाई कमजोरी नसम्झिन आग्रह गरे। उनले भने, ‘कतै कुनै पन र पक्ष नगरी सबैलाई समेटेर जाने हाम्रो अभिलाषा हो। हाम्रो त्यागको अर्थ र आशय पनि त्यही नै हो।’
पूर्वराजाले प्रजातन्त्र आशा जगाउने प्रणाली रहेको भन्दै तीन दशकयताको स्थिति यस्तो नरहेको उल्लेख गरे । व्यवस्था बदलियो भन्नेहरुले अवस्था राम्ररी बदल्न नसक्नु दुःखद कुरा रहेको बताए ।
Facebook Comment