समाचार टिप्पणी

पूर्वराजा ज्ञानेन्द्रले के का लागि जनताको साथ खोजेका हुन् ?

डिसी नेपाल
७ फागुन २०८१ ११:०८

काठमाडौं। पूर्वराजा ज्ञानेन्द्रले गद्दी छाडेको दुई दशकपछि एक विज्ञप्ति जारी गर्दै मुलुक बनाउन जनताको साथ खोजेका छन्।

७८ वर्षको उमेरमा हिँड्दै गरेका पूर्वराजाले श्री ५ महाराजाधिराजका नाममा फागुन ७ गते प्रजातन्त्र दिवसका सनदर्भमा जारी गरेको विज्ञप्तिले उनलाई पुन शासन सत्ताको धङधङी रहेको प्रष्ट संकेत दिएको छ।

सत्ताको स्वाद पाएकाहरु सत्ता छोड्न चाहँदैनन्। संसारभरिका महत्वाकांक्षी शासकहरुको मनोबृत्ति नै यही हो। प्रजातान्त्रिक संस्कार भएका शासक र त्यो संस्कारमा चल्ने मुलुकहरुमा सत्ता स्वार्थ निकै कमजोर हुन्छ र उनीहरु सजिलै सत्ता छोड्न तयार हुन्छन् तर महत्वकांक्षा अधिक हुने र शासनमै बसिरहने शासकहरु सत्ता गुमिहाले पनि पुन हासिल गर्न अनेक तिक्डम गरिरहन्छन्।

पूर्वराजा ज्ञानेन्द्र गद्दीका स्वाभाविक हकदार थिएनन् होइनन् तर दरबार काण्डको अकल्पनीय अवस्थाले उनलाई गद्दीमा पुर्‍यायो। गद्दी चढ्नासाथ दरबार काण्ड भएको मुख्य भवन उनले भत्काइदिए। गोली र रगतका दागहरु भएको सो भवनको नामोनिशाना मेटेको कारणबारे उनले जनतालाई कुनै जानकारी नै दिएका छैनन्।

अझैसम्म घटना रहस्यको गर्भमै छ र यसको कसैले खोजी गर्ने चासो नै गरेको पनि छैन। मर्ने मरे, राजतन्त्र पनि सकियो त्यसैले यसबारे कसैले कुनै खोजविनको प्रयास नै गरेन । खोजविन नहुंदा अपजसको भारी बोकेर पूर्वराजा ज्ञानेन्द्रले बस्नु परेको छ।

के उनले सजिलै गद्दी छाडेका हुन्? अवश्य होइन। राष्ट्रिय अन्तर्राष्ट्रिय परिस्थितिले गद्दीमा टिक्न सकिँदैन भन्ने बोध भएपछिमात्र उनले गद्दी छाडेर नागार्जुनतर्फ गएका हुन् भन्ने कुरा यति छोटो समयमा कसैले बिर्सिइसकेका छैनन्।

“म दाजुजस्तो(राजा बीरेन्द्र) टुलुटुलु हेरेर बस्ने राजा होइन” भन्दै लोकतन्त्रको घांटी निमोठेर निरंकुश शासनको अभ्यासको प्रयास गरेका पूर्वराजा ज्ञानेन्द्रले त्यस्तो टुलुटुलु नहेर्ने राजाको शासन दुईबर्ष पनि टिकाउन सकेनन्। जनताको अनेकौं समस्यामा “बुझें बुझें’ भन्दै कुनै सुनुवाई नै नगरी वेवास्तापूर्वक निरंकुश शासनको अभ्यास गरेको जनताले यति छिटै बिर्सिसकेका छैनन् भन्ने पनि पूर्वराजा ज्ञानेन्द्रलाई थाहा भएकै कुरा हो।

लोकतान्त्रिक शासन व्यवस्थाको पुनर्वहालीको माग गर्ने लाखौं जनताको टाउकोमा लाठी बजार्ने शासकले दुई दशकको अवधिमा यतिबेला आएर जनताको साथ खोज्नुको अर्थ के हो?

के उनले सजिलै गद्दी छाडेका हुन्? अवश्य होइन। राष्ट्रिय अन्तर्राष्ट्रिय परिस्थितिले गद्दीमा टिक्न सकिँदैन भन्ने बोध भएपछिमात्र उनले गद्दी छाडेर नागार्जुनतर्फ गएका हुन् भन्ने कुरा यति छोटो समयमा कसैले बिर्सिइसकेका छैनन्।

प्रजातन्त्र उत्तम व्यवस्था हो भन्ने कुरा उनले उही बेला बुझेको भए अहिले राजतन्त्र नेपालको इतिहास नहुन पनि सक्थ्यो। हातमा शासन आएका बेला मुखमै कानून बोकेर हिँड्ने अनि नफर्किने गरी सत्ता गुमेपछि जनताको साथ खोज्ने चाहना राख्नु स्वाभाविक मानिएला र?

विज्ञप्तिमा उनले जनताको साथ त खोजेका छन् तर कस्तो साथ हो भन्ने कुरा खुलाएका छैनन्। सत्तारोहणको उनको प्रयासमा साथ मागेका हुन् कि उनी लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई स्वीकार गरेर चालु पद्धतिमै निर्वाचन लड्न चाहान्छन् भन्ने स्पष्ट खुलेको छैन।

उनी चुनावमा भाग लिन्छन् भने त्यो स्वाभाविक हो र स्वीकार्य गाह्रो छैन। तर, उनले फेरि राजाको हैसियतले गद्दी खोजेका हुन् र त्यसका लागि जनताको साथ खोज्दै विज्ञप्ति जारी गरेका हुन् भने पर्याप्त आधारहरु पस्कन उनले सकेका छैन।

केवल अकर्मण्य शासन र नेताहरुको कुशासनले उत्पन्न भएको निराशाको धमिलो पानीमा माछा मार्ने प्रयासको रुपमा मात्र उनको यो विज्ञप्ति आएको हुन सक्छ। केही बर्षदेखि उनी भारतको हिन्दू कट्टरवादी समूहसँग हिमचिम बढाइरहेका छन् र पटक पटका गोप्य र खुल्लारुपमा त्यो शाक्तिका अधिकारीहरुसँग भेटघाट गरिरहेका छन्।

संभवत त्यो शक्तिले पूर्वराजालाई गद्दीमा फर्काइदिने आशा पनि देखाएको होला। तर, अब के त्यो संभव छ? उनले जीवन ७८ बर्षको उमेरमा हिँड्दै छ। उनीपछि गद्दी सम्हाल्ने व्यक्ति पारस शाह हुन्।

पारस शाह नेपालको राजतन्त्रको इतिहासमै सबैभन्दा बद्नाम पात्रका रुपमा प्रचारित भइसकेका छन्। उनलाई नेपाली जनताले आफ्नो शासक स्वीकार गर्न सक्ने कुनै आधारहरु छैनन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *