सरकारले नि:शुल्क गर्ला किमो, कसरी हुन्छ क्यान्सरको उपचार?

काठमाडौं । क्यान्सर एक गम्भीर स्वास्थ्य समस्या हो। यसको जोखिम वर्षेनी बढ्दै गएको छ। बालबालिकादेखि वृद्धावस्थाका व्यक्तिहरू क्यान्सरको सिकार भइरहेका छन्।
क्यान्सरको जोखिम बढेसँगै भएको उपचार पद्धतिको विकासले केही सहज तुल्याएको छ। तर, क्यान्सरको उपचार पद्धति निकै महँगो र जिटिल छ। जसले कठिनाइ पैदा गरिदिएको छ।
स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले नेपालमा क्यान्सरका बिरामीलाई किमो नि:शुल्क गर्ने घोषणा गरेका छन्। उनले क्यान्सर पत्ता लागिसकेकाहरूका लागि उपचार सर्वसुलभ गराउने र उपचार नसक्नेहरूका लागि नि:शुल्क गराउने तयारी भइरहेको बताएका हुन्।
‘किमो गर्न असाध्यै महँगो भएको, औषधि अत्यन्तै अनियन्त्रित रहेको, जति पैसा लिए पनि हुनेजस्तो स्थिति बनेको छ। त्यसैले यसलाई व्यवस्थित गर्दै सर्वसुलभ र नि:शुल्क गर्ने प्रक्रियामा हामीहरू लागिरहेको स्थिति छ,’ केही दिन पहिले उनले भनेका थिए। तर, मन्त्री पौडेलले भनेको प्रक्रिया कहिले र कसरी अगाडि बढ्छ भन्नेमा भने प्रस्ट छैन।
उनले क्यान्सर नियन्त्रण रणनीति पास गरिसकेको र अब कार्यान्वयन गर्दै लैजाने जानकारी दिए। अहिले देशभरका ८ हजार २ सय विद्यालयमा खोप केन्द्र स्थापना गरी पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपीभी खोप लगाउने काम सकिएको उनको भनाइ छ।
कसरी थाहा पाउने क्यान्सर भएको?
क्यान्सर जीवनको समाप्ती होइन। यसमयमै यसका लक्षण थाहा पाएमा उपचार सम्भव छ। सही समयमा सही उपचार, सन्तुलित आहार, सकारात्मक मानसिकता र स्वस्थ जीवनशैली अपनाएर क्यान्सरलाई परास्त गर्न सकिन्छ।
क्यान्सर भएको शंका लागेमा चिकित्सकको सम्पर्कमा पुग्नुपर्छ। र, शरीरको संकास्पद भागको जाँजका लागि स्याम्पल बायोप्सी प्रयोगसालामा पठाउनुपर्छ। यसका साथै क्यान्सर जोखिमको पत्ता लगाउन एमआरआई, सिटी स्क्यान, पीईटी स्क्यान र अल्ट्रासाउन्ड गर्नुपर्छ। यसले क्यान्सरका प्रकार पत्ता लगाउन सहयोग पुग्छ।
रगत परीक्षण गरेर पनि कतिपय क्यान्सरको पत्ता लगाउन सकिन्छ। ट्यूमर मार्कर टेस्ट जस्ता जाँच रगतको मद्दतले गर्न सकिने स्वास्थ्य विज्ञले बताएका छन्।
क्यान्सरका लक्षणमा हतपत निको नहुने खोकी वा धोद्रो स्वर हुनु, कोठीको रङ र र आकार परिवर्तन हुनु, कुनै पनि ठाउँबाट रक्तश्राव र पिप श्राव हुनु, खानामा रुची घट्नु, पुरानो घाउ निको नहुनु, दिशा पिसाब गर्ने बानीमा फरक आउनु, बिनाकारण वजन घट्नु आदी हुन्। यस्ता लक्षण देखिएमा बेवास्ता गर्नु हुँदैन।
कसरी गर्ने उपचार?
परीवारका कुनै सदस्यलाई क्यान्सर भएको थाहा भएमा उपचारमा विलम्ब गर्नु हुँदैन। क्यान्सर कुनै सीमित क्षेत्रमा फैलिएको भएमा सर्जरीका माध्यमले निको गर्न सम्भव हुन्छ। स्तन क्यान्सर, प्रोस्टेट क्यान्सर, फोक्सो र मुटुको क्यान्सरमा यो विधि अपनाउन सकिन्छ।
किमोथेरापी विधिबाट पनि क्यान्सरको उपचार गर्न सकिन्छ। यो औषधिले क्यान्सर कोशिकालाई मार्ने प्रक्रिया हो। यसको उपयोग जटिल प्रकारका क्यान्सर पीडितमा गरिन्छ।
रेडियोथेरापी पनि क्यान्सर उपचारको अर्को विधि हो। यो विधिमा क्यान्सर कोशिकालाई मार्नका लागि रेडियएशनको उपयोग गरिन्छ।
इम्यूनोथेरापीको मद्दतले पनि क्यान्सरको उपचार हुँदै आएको छ। यसले शरीरको प्रतिरक्षा प्रणालीलाई बलियो बनाउन मद्दत गर्दै कोशिकालाई नष्ट गर्ने काम गर्छ।
Facebook Comment