शान्ति वार्ताबारे जेलेन्स्कीको भनाइपछि ट्रम्पले भने- ‘तपाईं सम्झौता गर्न सक्नुहुन्थ्यो’

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेनमा युद्ध अन्त्य गर्न शान्ति वार्ताको बारेमा दिएको अभिव्यक्तिप्रति प्रतिक्रिया जनाएका छन्।
ट्रम्पले युक्रेनको प्रतिक्रियाबाट आफू निराश भएको बताएका छन् । भोलोडिमिर जेलेन्स्कीले रुस र अमेरिकाबीचको वार्तामा आफूलाई आमन्त्रित नगरिनु आश्चर्यजनक भएको बताएका थिए।
अमेरिकी राष्ट्रपति ट्रम्पले युद्धको लागि युक्रेनलाई दोष दिए र भने – उनीहरू सम्झौतामा पुग्न सक्थे।
उनले भने, “मैले सुनेको छु कि उनीहरू (युक्रेन) बैठकमा स्थान नपाएको कारणले रिसाएका थिए। तर उनीहरूसँग तीन वर्ष र त्योभन्दा पहिले पनि स्थान थियो। यो धेरै सजिलै समाधान गर्न सकिन्थ्यो।”
रुसले फेब्रुअरी २०२२ मा युक्रेनमा आक्रमण गर्यो र त्यसबेलादेखि दुई देशबीच युद्ध भइरहेको छ।
युक्रेनमा जारी युद्ध अन्त्य गर्ने विषयमा मंगलबार साउदी अरेबियामा रुसी विदेशमन्त्री सर्गेई लाभरोभ र अमेरिकी विदेशमन्त्री मार्को रुबियोबीच शान्ति वार्ता भएको छ।
युद्ध सुरु भएदेखि दुई देशबीचको यो पहिलो यस्तो बैठक थियो।
रुस र अमेरिकाबीचको वार्ताबारे भोलोडिमिर जेलेन्स्कीले भनेका थिए, “हामी सबै पारदर्शिता चाहन्छौं ताकि कसैले पनि हाम्रो पछाडि केही निर्णय नगरोस्। हामीलाई रुस-अमेरिका वार्तामा आमन्त्रित गरिएको थिएन। अरू सबैजस्तै, यो हाम्रो लागि पनि आश्चर्यको कुरा थियो। हामीले यो कुरा मिडियाबाट थाहा पायौं।”
Facebook Comment