मानव अधिकार उल्लंघनका घटनामा वृद्धि, एक वर्षमै १० हजार ७ सय ३४ जना पीडित

काठमाडौं । सन् २०२४ मा नेपालमा मानव अधिकार उल्लंघन तथा ज्यादतीका घटनामा वृद्धि भएको छ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले बुधबार काठमाडौंमा नेपाल मानव अधिकार वर्ष पुस्तक सार्वजनिक गर्दै सन् २०२४ मा मानव अधिकार उल्लंघन तथा ज्यादतीका घटनाबाट १० हजार ७ सय ३४ जना पीडित भएको जनाएको हो।
यसअघि सन् २०२३ मा यस्ता घटनामा घटनामा ९ हजार ३ सय ८८ जना पीडित भएको तथ्यांक सार्वजनिक भएको थियो । तथ्यांक अनुसार बागमती प्रदेशमा सवैभन्दा बढि र गण्डकी प्रदेशमा सर्व भन्दा कम मानव अधिकार उल्लंघन तथा ज्यादतीका घटना भएका छन्।
सन् २०२४ मा राज्यपक्षबाट ४ सय ५८ जना पीडित भएका छन्। यो संख्या अघिल्लो बर्षको तुलनामा झण्डै ५ सयले कमी रहेको इन्सेकले जनाएको छ।
मानव अधिकार वर्ष पुस्तक सार्वजनिक गर्दै इन्सेकले संक्रमणकालीन न्यायीक प्रकृयामा देखिएको ढिलासुस्ती अन्त्य गरी विश्वासयोग्य आयोगको प्रक्रिया तत्काल आरम्भ गर्नुपर्ने सुझाव दिएको छ।
त्यस्तै महिला तथा बालबालिकामाथि हुने हिंसा न्यूनीकरणका लागि प्रभावकारी कानूनी व्यवस्था लागू गर्नुपर्ने इन्सेकका अध्यक्ष डा. कुन्दन अर्यालले बताए।
इन्सेकले सडक दुर्घटनाका कारणबाट हुने क्षतिको न्यूनिकरण गर्न आवश्यक कार्ययोजना बनाइ कार्यारम्भ गर्नुपर्ने सुझाव दिएको छ। इन्सेकले सन् १९९२ देखि हरेक वर्ष नेपाल मानव अधिकार वर्ष पुस्तक सार्वजनिक गर्दै आएको छ।
Facebook Comment