एमालेमा संकिर्णवाद छ : उपमहासचिव गुरुङ

काठमाडौं । नेकपा एमालेका उपमहासचिव समेत रहेका सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुव्वा गुरुङले एमालेभित्र संकिर्ण र दक्षिणपन्थी अवसरवादतिर लैजाने विचार रहेको बताएका छन्।
बुधबार काठमाडौंमा आयोजित प्रेस चौतारी नेपाल एशोसियट प्रदेश समितिको दोस्रो अधिवेशनमा बोल्दै उनले एमालेको आफूलाईमात्रै शुद्ध ठान्ने र अरुलाई ल्याउन नचाहने, ल्याउँदाखेरी पनि जिम्मेवारी यथोचित नदिने, पूर्वाग्रह राखिराख्ने जस्तो संकिर्णवादले आजको कम्युनिष्ट आन्दोलन कमजोर बनाएको बताए।
उनले भने, ‘हाम्रोभित्रको अर्को रोग भनेको दक्षिणपन्थी अवसरवाद हो। अहिले हाम्रो पार्टीमा एउटा विचार छ, त्यो संकिर्ण विचार हो, त्यो पनि दक्षिणपन्थी अवसरवादतिर लैजाने विचार हो। त्यो के भन्दा, होईन अरु पार्टीका मान्छेहरुलाई किन ल्याउने ? हामी सबैभन्दा राम्रो पार्टी, कांग्रेसलाई ल्यायो भने त्यसले पार्टीलाई खत्तम पार्छ, राप्रपा त झन ल्याउनै हुँदैन, माओवादीलाई किन ल्याउने ? यतिधेरै भ्रष्ट भइसकेको छ अहिले। आफूलाईमात्रै शुद्ध ठान्ने र अरुलाई ल्याउन नचाहने, ल्याउँदाखेरी पनि जिम्मेवारी यथोचित नदिने, अहिलेपनि हेपिराख्ने, पूर्वाग्रह राखिराख्ने यो संकिर्णवादले आजको कम्युनिष्ट आन्दोलन कमजोर बनाएको छ।’
त्यस्तै, उनले चुनावमा आफूले टिकट पाएन भने आफ्नो पार्टीको उम्मेदवारलाई नै हराउन लागि पर्ने प्रवृत्ति पार्टीभित्र छ्याप्छ्याप्ती भेटिने पनि उनले बताए। आफैंभित्रको अराजकताले जनताले प्रदान गरेको विश्वासलाई पुँजीकृत गर्न नसके एमालेको हार निश्चित रहेको उनको भनाई छ।
उनले भने, ‘चुनावमा आफूले टिकट पाएन भने आफ्नो पार्टीको उम्मेदवारलाई हराउन लाग्ने अहिले हाम्रो पार्टीभित्र छ्याप्छ्याप्ती पाइन्छ। हुलमा हिँड्यो भने त्यस्ता अराजक मान्छेहरु धेरै ठोकिन्छन्। संगठनभित्र यस्तो भएपछि चुनाव जितिन्छ ? आजको हाम्रो सबैभन्दा ठूलो लडाइँ त चुनाव हो। जनताले गरेको विश्वासलाई हामीले सुरक्षित राख्न सकेनौं भने वा हाम्रो आफैंभित्रको अराजकताले जनताले प्रदान गरेको विश्वासलाई पुँजीकृत गर्न सकेनौं भने हाम्रो हार निश्चित छ।’
Facebook Comment