एथलेटिक्स टोली पाकिस्तान जाने

काठमाडौं। दक्षिण एसियाली एथलेटिक्स क्रस कन्ट्री च्याम्पियनसिपमा सहभागी हुन पाँच खेलाडीसहित सात सदस्यीय नेपाली टोली बिहीबार पाकिस्तानको इस्लामाबाद प्रस्थान गर्ने भएको छ।
यही फागुन ११ गते हुने उक्त प्रतियोगिताको सिनियरमा दुई र जुनियरमा तीन गरी पाँच पुरुष खेलाडी सहभागी हुँदैछन्। सिनियर खेलाडीमा सुशीलकुमार शाही र सञ्जय श्रेष्ठ छन् भने जुनियरमा बादल कार्की, अजय विक र कृष्णबहादुर परियारले भाग लिनेछन्।
सिनियरमा १० किलोमिटर तथा जुनियरमा आठ किलोमिटर दूरीमा प्रतिस्पर्धा हुनेछ। नेपालले सिनियरमा व्यक्तिगत तथा जुनियरमा व्यक्तिगत र टिम इभेन्टमा सहभागिता जनाउने जनाइएको छ।
प्रशिक्षकमा विमला रानामगर तथा व्यवस्थापकमा भीमकुमारी भुसाल रहेका छन्। टोलीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव टंकलाल घिसिङले आज यहाँ आयोजित एक कार्यक्रममा सफलताको शुभकामना दिँदै बिदाइ गरे। उनले प्रतियोगिता भनेको खेलाडीले प्रशिक्षणमा गरेको तयारीलाई प्रमाणित गर्ने अवसर भएको बताए।
Facebook Comment