एलन मस्कले आफ्ना छोराछोरीलाई काममा सँगै किन लैजान्छन्?

रेचल लूकर र लिली जमाली
८ फागुन २०८१ ७:२७

बीबीसी। एलन मस्कका छोराछोरीहरू पुगेका ठाउँहरू कतिपय मानिसहरूले आफ्नो जीवनकालमै देख्न पाउँदैनन्।

उनीहरू कहाँ पुगेका छैनन्? विदेशी नेताहरूसँगको बैठकदेखि स्पेसएक्सको नियन्त्रणकक्षसम्म मस्कका सन्तान पुगेका छन्। यसअघिको प्रविधि र व्यापारदेखि अहिलेको राजनीतिक यात्रामा मस्कका छोराछोरीहरू उनीसँगसँगै बारम्बार देखिने गरेका छन्।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले प्रविधि अर्बपति तथा टेस्लाका सहसंस्थापक मस्कलाई सरकारको खर्च कटौती गर्ने निकाय ‘गभर्मन्ट इफिशन्सी’को जिम्मा दिएयता उनका छोराछोरीहरू देशको राजधानीमा बारम्बार देखिने गरेका छन्।

मस्कका चार वर्षीय छोरा ‘लिल एक्स’ सर्ट र कोट लगाएर बुधवार ओभल अफिसमा रेजलूट डेस्कको कुनामा डुलिरहेका थिए। मङ्गलवार एक्स र उनका दुई जना भाइबहिनीले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग उपहार आदानप्रदान गरे। त्यही कोठामा उनका बुवा मस्क चाहिँ मोदीसँग प्रविधि र प्रवर्तनबारे मोदीसँग कुरा गरिरहेका थिए।

वाशिङ्गटनको सत्तामा आउनुअघिबाटै मस्क सार्वजनिक कार्यक्रमहरूमा बारम्बार आफ्ना सन्तानसँग देखिन्थे। टर्कीका राष्ट्रपतिसँगको भेट, अस्विट्स यातना शिविरमा आयोजित स्मृतिसभा अनि टाइम पत्रिकाले मस्कलाई सन् २०२१ को वर्ष व्यक्ति घोषणा गर्दाको कार्यक्रममा उनले आफ्ना छोराछोरीलाई सँगै लिएर गएका थिए।

मस्कका छोराछोरी किन उनको पछि लाग्छन्?

“यो राजनीतिक चाल हो,” अमेरिकन विश्वविद्यालयमा सार्वजनिक सञ्चार अध्यापन गर्ने कर्ट ब्राडक भन्छन्। “सार्वजनिक स्थानमा बच्चा सँगै लिएर हिँड्दा मानिसहरूको नजरमा उनी मानवीय भावना भएको र मिलनसार देखिन्छन्।”

यद्यपि आफ्ना नाबालक छोरालाई ओभल अफिसमा लैजाने मस्कको निर्णय असामान्य रहेको ब्राडक बताउँछन्।

यसअघि ३० मिनेट लामो पत्रकार सम्मेलनमा मस्कका छोरा एक्स दिक्क मानेजस्ता देखिन्थे। उनले आफ्ना बुवाको नक्कल गरिरहेजस्ता देखिए। राष्ट्रपति ट्रम्प बेलाबेला उनलाई ट्रम्पले हेरेर मुस्कुराइरहेका थिए। एउटा बिन्दुमा उनले कसैलाई “चुप लाग्न” भनेजस्तो देखिएको थियो।

उनीहरूलाई सँगै लिएर जाने कुरा योजनाबद्ध रहेको र यसले मस्क तथा ट्रम्पलाई मानिसहरूको ध्यान मोड्न सहयोग गर्ने ब्राडक बताउँछन्।

“मलाई के लाग्छ भने यसको पछाडि पक्कै कुनै रणनीति छ। यसबाट केही कुरामा मानिसहरूको ध्यान खिचेर बाँकी कुराबाट ध्यान मोड्ने रणनीति हुन सक्छ,” उनी भन्छन्।

पाँच वटा राष्ट्रपतीय चुनावी प्रचारप्रसारमा काम गरिसकेका र हार्बर्ड विश्वविद्यालयमा अध्यापन गर्ने रणनीतिक सञ्चार परामर्शदाता जोन हेबर मस्कका छोराछोरीहरूको उपस्थितिबाट ‘भाइरल’ क्षणहरू बनाउनु ट्रम्पका लागि पनि फाइदाजनक भएको बताउँछन्।

“ट्रम्पका लागि यस्तो भद्रगोलले काम गर्छ किनभने त्यस बेला मानिसहरूले एउटै कुरामा ध्यान केन्द्रित गर्न पाउँदैनन्,” हेबर भन्छन्।

मस्ककी पूर्वप्रेमिका तथा एक्सकी आमा ग्रिम्सले आफ्ना छोराको ओभल अफिसमा उपस्थितिको आलोचना गरेकी छन्।

“उनी यसरी सार्वजनिक स्थानमा आउनु हुँदैन थियो,” उनले सामाजिक सञ्जाल एक्सको एउटा पोस्टमा लेखेकी छन्। “मैले यस्तो देखेको थिइनँ। … तर धन्न उनी विनम्र भएछन्।”

सन् २०२२ मा ‘भ्यानिटी फेअर’मा प्रकाशित एक लेखमा उनले आफ्ना छोरा यसरी चर्चाको केन्द्रमा रहेको आफूलाई मन नपर्ने उल्लेख गरेकी थिइन्।

“जे भइरहेको छ, त्यो पारिवारिक कुरा हो। एक्स त्यहाँ देखिएका छन्, मलाई लाग्छ बच्चाहरूलाई त्यसबाट टाढा राख्नुपर्छ।”

राजनीतिमा आउनुभन्दा अघिबाटै मस्कले छोराछोरीहरूलाई आफ्नो पछि लगाउँथे।

आजभन्दा एक दशकअघि उनी आफ्नो छवि बनाउने क्रममै थिए। उनको मुख्य ध्यान आफ्नो विद्युतीय कार निर्माता टेस्लाप्रति मानिसहरूको ध्यान खिच्नु थियो। त्यस बेला पनि उनका छोराछोरीहरू मस्कसँगै देखिनु अनौठो थिएन।

सन् २०१५ मा विश्लेषक र पत्रकारहरू सिलिकन भ्यालीमा टेस्लाको भव्य उद्घाटनको लागि पर्खिरहेका थिए। त्यहाँ मस्कका पाँच सन्तान कम्पनीको सभाहलवरिपरि एकअर्कालाई लखेट्दै हाँस्दै, चिच्याउँदै दौडिरहेका थिए।

सहभागीहरूलाई घण्टौँ पर्खाइए पनि मस्कका सन्तानको चकचकले त्यहाँ आनन्दको वातावरण सिर्जना गर्‍यो।

यस्ता प्रायजसो कम्पनीहरूले आयोजना गर्ने उच्च औपचारिक कार्यक्रमभन्दा टेस्लाको कार्यक्रम धेरै फरक देखियो किनभने यस्ता कार्यक्रममा संस्थापकका छोराछोरीहरू देखिनु अनौठो मानिन्छ।

मस्कका तीन जना श्रीमतीबाट १२ जना छोराछोरी छन्।

उनका सबैभन्दा परिचित छोराको नाम ‘X Æ A-12’ हो। उनलाई ‘लिल एक्स’ भनेर चिनिन्छ। उनले ट्विटर किनेपछि यही नामबाट उक्त सामाजिक सञ्जाल कम्पनीको पुनः नामकरण गरेका थिए।

उनी चार वर्षका छन् र मस्कले उनलाई आफूलाई “भावनात्मक साथ दिने” व्यक्तिको रूपमा वर्णन गरेका छन्।

मस्कको जीवनी लेखेका वाल्टर आइज्याक्सनले ‘द डायरी अफ अ सीईओ’ पड्कास्टमा मस्क आफ्ना सन्तानप्रति “गहिरो गरी प्रतिबद्ध” रहेको बताएका छन्। “उनीहरूबाट उनी मोहित भएको” उनको भनाइ छ।

“उनी आफ्ना सन्तान, आफ्ना प्रेमिका र आफ्ना श्रीमतीहरूको लागि आफूले सक्ने जति सबै गर्छन्,” आइज्याक्सन भन्छन्।

“उनलाई आफ्ना छोराछोरी आफ्नो वरिपरि भएको मनपर्छ। उनलाई उनीहरूको साथ मन पर्छ तर त्यसको अर्थ यो होइन कि उनलाई शान्तसँग बस्न मन पर्दैन।”




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *