०४९ को एसएलसी ब्याचको भेटघाट कार्यक्रम सम्पन्न

मोरङ । पथरी शनिश्चरे नपा वडा नं. ३, वीरेन्द्रनगरस्थित श्री जनता माविबाट वर्ष २०४९ मा एसएलसी ब्याचले आज आयोजना गरेको वनभोजमार्फत एक भेटघाट कार्यक्रम सम्पन्न भएको छ । मनोरञ्जनका लागि पूर्वकै ध्यान खिच्न सफल नगरको अत्यन्तै आकर्षित मनोरमस्थल झुल्के सिमसार क्षेत्रमा सम्पन्न यस कार्यक्रममार्फत सो ब्याचका ५४ जना विद्यार्थीले सक्रिय सहभागिता जनाएका थिए।
श्री जनता माविको सो ब्याजबाट गृहक्षेत्र पथरीमा उपलब्ध हरिराज प्याकुरेल, केदारनाथ ढुंगेल, चन्द्रप्रसाद कोइराला, नेत्रप्रसाद पोखरेल, टंकप्रसाद पोखरेल, घनश्याम अधिकारी, युवराज बास्कोटा, तीर्थराज आचार्यलगायत पूर्वविद्यार्थीको संयोजनमा सम्पन्न कार्यक्रममा कोशी प्रदेशभित्रका जिल्लाबाहेक काठमाण्डौँमा बसोबासरत् विद्यार्थीले समेत उत्साहप्रद सहभागिता जनाएका थिए।
अनुहार सम्झने तर नाम बिर्सने, नाम सम्झने तर अनुहार हो कि होइनजस्तो हुने, परिवेशअनुसारको व्यक्तिको झझल्को आउने तर होला कि होइन कि जस्तो ढंगले मानिसमा हुने बिस्मृत पक्षलाई उजागर गर्न पुराना स्मरणसहित परिचयबाट आरम्भ भएको कार्यक्रममा उपस्थित समकालीन सबै विद्यार्थीले आफ्ना अविस्मरणीय कथावस्तुलाई उधृत गरेका थिए।
संस्मरणसहितको परिचयका क्रममा अखिलको विद्यार्थी नेताका रूपमा युवराज बास्कोटा र नेविसंघको नेताका रूपमा शिवप्रसाद भट्टराईबीच हुने भनाभन र तालाबन्दी बडारोचक प्रसंगका साथ आयो । यस्तै कहिलेकाहिँ त गुरुले कुरै नबुझिकन दिनुभएको चड्कनको । पूर्वविद्यार्थी केदार ढुंगलले धनकुटे बिस्कुट आलोपालो समयसिम्मा बाँधेर खाजास्वरुप खाने गरेको पक्षलाई अभावको जीवनले व्यहोर्नुपरेको रहस्यभित्र लुकेको कथावस्तुको रूपमा प्रस्तुत गरे ।
कखराआरम्भ सँगसँगै मावि तहमा बितेको आफ्नो अध्ययनकालको ३२ वर्षपछि एउटै मैदान, एउटै मञ्च र एउटै टेबुल वरिपरि भेट भएको यो पहिलो घटना हो– काठमाण्डौँबाट आफ्नो गाउँ, आफ्नो ठाउँ र बाल्यकाल व्यतीत समग्र परिवेशलाई नजिकैबाट नियाल्न आएकी पुष्पा रिजाल पौडेलले भनिन् ।
डोरी नाघी खेलेको, कबड्डि खेलेको, रुमाल लुकाइ खेलेको, कक्षागत सिकाइअन्तर्गत पाक शिक्षाअनुरुप परिकार बनाइ खाएको, आसपास खेलेको, चुँइमग बाँडेर खाएको आदि पक्षहरू अहिले सम्झँदा पनि भरखरैजस्तो लाग्ने गरेको बताउँदै काठमाण्डौँबाट आएकी कमला अधिकारी चम्लागाइँले यस्तो कार्यक्रम प्रत्येक वर्ष हुनुपर्ने माग गरिन् ।
श्री जनता मावि पढ्दाताका आफूहरू भोक, रोग, अभाव आदि पक्षसँग कठोरतापूर्वक लडेको स्मरण गर्नुहुँदै सो ब्याचका फस्टबोइ नेत्रप्रसाद न्यौपानेले यो खालको समूहगत बसाइँलाई बाक्लो र फराकिलो गर्दै लक्षित समुदाय आधारित कार्यक्रम अघि सार्नमा आफूहरूको जोड रहनुपर्नेमा धारणा राखे।
म्युजिकल चेयर्ससहित आयोजित यो कार्यक्रम आफैंमा परस्पर भेटघाट अभावको तृष्णा मेटाउने अर्थमा धेरै रमाइलो थियो झापाबाट सहभागी पूर्वविद्यार्थी मनमाया मगर र विराटनगरबाट सहभागी पूर्वविद्यार्थी वेदमाया तिम्सिना पौडेलले सस्वरमा एकसाथ बताइन् ।
राजनीतिक जिम्मेवारीदेखि निकै ठूलो व्यापार–व्यवसायसम्म, शिक्षकदेखि कलाकारसम्म, लेखापढीदेखि समुन्नत कृषिआधारित कृषकसम्म, वकालतदेखि सामाजिक अभियन्तासम्म, निर्माण व्यवसायीदेखि चिकित्सा क्षेत्रसम्मको स्थान ओगट्न सकेको यो ब्याच राज्यलाई चाहिने जनशक्तिको स्रोत हो, उत्पादित जनशक्तिका हिसावले यो ब्याच आफैंमा धेरै ज्ञानवान, गुणवान र धनवान रहेको सञ्चालन सहजीकरणका सन्दर्भमा तीर्थराज आचार्यले यसको फेहरिस्त पस्किए।
कार्यक्रममार्फत जुटेको रायअनुसार यो खालको सहभागिता जुटाउन प्रत्येक वर्ष वनभोजसहित साझा मञ्च आयोजना गर्ने, यसलाई समूहगत छलफल र अनुभव आदानप्रदान गर्ने थलोको रूपमा विकास गर्ने, अतीतको शैक्षिक गतिविधिलाई झल्काइरहन शिक्षा र शिक्षणमैत्री कार्यक्रमहरू आयोजना गर्ने, सामाजिक नेतृत्व विकासमा योगदान गर्ने, आगन्तुक पुस्ताका लागि करियस परामर्श सञ्चालन गर्ने, आफू जन्मिएको, हुर्किएको र पढेलेखेको घरगाउँको लागि इन्करेजमेण्ट कार्यक्रमहरू आयोजना गर्ने र यसका लागि ०४९ को एसएलसी ब्याचले आफू अघि वा पछिका ब्याचमाझ पनि नेटवर्किङ गर्ने, श्री जनताबाट उत्पादित जनशक्तिलाई एउटा सूत्रमा गोलबन्द गर्न प्रयत्न गर्ने, यसलाई स्थानीय नीधिको रूपमा समाजलाई हस्तान्तरण गर्ने, बेलाबेलामा जुम मिटिङ आदि गर्ने, अरुतिरबाट पनि फिडब्याक लिने र प्राप्त फिडब्याकबाट परस्पर हाम्रो सिकाइ, नेतृत्व विकास र आपसी सम्बन्ध सुदृढ अवस्था सिर्जनाका लागि सुधारका उपायहरू अवलम्बन गर्दै जाने निधो गरेको छ ।
भौतिक बसाइँ टाढा भए पनि भानुभक्त अधिकारी झापा, शिवकुमार भट्टराई विराटनगर, सुस्मा सुवेदी सुनसरी, प्रेम ओझा झापा, सीता भण्डारी सुनसरी, लक्ष्मीप्रसाद पोखरेल, हर्कबहादुर लिम्बू, नरबहादुर राई, मिरा दाहाललगायत पूर्वविद्यार्थीहरू बडोचासोका साथ कार्यक्रम आयोजनस्थलमा समयअगावै आइसक्नुभएको थियो । कार्यक्रममा ब्याचमेनहरू क्रमशः मनोज कटुवाल, लक्ष्मी कार्की, कुमार दंगाल, कविता भट्टराई, छविलाल नेपाल, प्रकाश गुरुङ, सावित्रा सापकोटा, कमल दाहाल, सूर्य पौडेल, बमबहादुर राईलगायत समकालीन साथीहरूको अनुपस्थिति निकै ठूलो अभाव महशुस भयो ।
अन्त्यमा सेवानिवृत्तकालमा पनि आफू विद्यालय व्यवस्थापन समिति अध्यक्षको रूपमा सक्रिय रहेको जनाउँदै यो वनभोज तथा भेटघाट कार्यक्रममार्फत सहभागी सबैलाई भावुकमुद्रामा उपस्थित गुरु ज्ञानेन्द्र अधिकारीले प्राप्त उपलब्धीप्रति बधाई तथा थप बढी सफलताको शुभकामना व्यक्त गरे।
Facebook Comment