‘माग्ने राजा’मा जोडिए विल्सन, १० वर्षपछि पर्दामा माग्ने बुढा र तक्मे बुढाको जोडी

डिसी नेपाल
८ फागुन २०८१ १०:२०

काठमाडौं। अभिनेता विल्सनविक्रम राई पनि केदार घिमिरेको मुख्य भूमिका रहने ‘माग्ने राजा’को कलाकार टोलीमा सामेल भएका छन्। निर्माण टिमले मंगलबार विल्सनलाई औपचारिक रुपमा फिल्ममा अनुबन्ध गरेसँगै चलचित्र ‘माग्ने राजा’मा माग्ने बुढा र तक्मे बुढाको जुगलबन्दी पक्का भएको छ।

दुवैले करिब दशकपछि चलचित्रमा सँगै काम गर्न लागेका हुन्। एक दशकअघि उनीहरुले ‘राम कहानी’मा सँगै काम गरेका थिए । त्यसयता निर्माताहरुको अथक प्रयासका बावजुद जोडी सम्भव भएको थिएन।

विल्सन विक्रम राईलाई ‘मेरी बास्सै’मा अभिनयको मौका दिनुसँगै उनको चरित्रलाई तक्मे बुढा नामाकरण पनि केदार घिमिरेले नै गर्दिएका थिए। विल्सनविक्रम राईले यही कारण केदार घिमिरेलाई गुरुको रुपमा मान्ने गरेका छन्।

मंगलबार चलचित्रमा तक्मे बुढालाई स्वागत गर्दै केदार घिमिरेले लामो समयपछिको सहकार्यलाई लिएर उत्साहित रहेको प्रतिक्रिया दिए । ‘हामी लामो समयदेखि एकअर्कासँग काम गर्न उत्सुक थियौं। अखण्ड प्रयासका बावजुद पनि जुरेको थिएन,’ उनले भने,‘तर माग्ने राजामा हामी दुवैलाई अटाउने भूमिका निस्कियो । यो जुगलबन्दीलाई सार्थक बनाउने प्रयास गर्नेछौँ ।’

माग्ने बुढासँगको सहकार्यलाई लिएर तक्मे बुढा पनि उत्तिकै उत्साहित छन्। उनले चलचित्रमा काम गर्ने प्रस्ताव आएदेखि नै पुराना दिन याद आएको स्मरण गरे । ‘उहाँले र मैले टेलिभिजनबाहेक देश विदेशमा थुप्रै स्टेज सो गरेका थियौं। सँगै काम गर्ने भएपछि मन त्यता पनि पुगिरहेको छ । चलचित्रमा भने त्यति धेरै सहकार्य गर्न पाइएको थिएन । यो चलचित्रले त्यो चाहना पूरा गरिदिएको छ। बुढाहरुको जोडीले पहिलेझैँ दर्शक हँसाउने पक्का छ,’ विल्सनले भने ।

ऋषि लामिछानेको निर्देशनमा बन्न गइरहेको चलचित्रमा यसअघि नै वर्षा सिवाकोटी, शिशिर वाङदेल, शारदा गिरी, पुष्कर गुरुङ आदि कलाकार तय छन् । आरम्भ प्रडक्सनको प्रस्तुतिमा मुनाल घिमिरेले निर्माण गरिरहेको चलचित्रमा नरेन्द्र मैनालीको छायांकन र सामीप्य राज तिमल्सेनाको पटकथा रहेको छ । चलचित्रको यही शिवरात्रीका दिनदेखि सुटिङ सुरु हुँदैछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *