जीवन र प्रेमः एक मीठो भ्रम

प्रेम सपना जस्तै मीठो भ्रम हो। निद्राबाट ब्युजिँदा हराएका दृश्यजस्तै ! लाग्छ, प्रेम सपना हो कि विपना अथवा भ्रम?
रातको निस्तब्धतामा आँखाले सपनाका आकृतिहरू बुन्दै जान्छन्। ती आकृतिहरू कहिले रङ्गीन हुन्छन्, कहिले धुमिल। हामी तिनै आकृतिहरूभित्र आफ्नो चाहना, आशा र उत्सुकता खोज्छौं। भोलिपल्ट बिहानको उज्यालोमा ती आकृतिहरू सपनाजस्तै कतै हराइसकेको अनुभूति हुन्छ। के प्रेम पनि सपनाजस्तै मीठो भ्रम मात्रै हो त?
प्रेमको यात्रा अदृश्य पुलमा हिँड्नुजस्तै हो। मनले कसैलाई अँगाल्न खोज्छ। त्यो क्षणको आनन्द शब्दमा उतार्न गाह्रो पर्छ। महसुस गर्न सकिने तर हावाजस्तै अदृश्य! त्यसैले प्रेमलाई कतिपयले सपना भन्छन्। किनकि सपना बाँच्दासम्म वास्तविक लाग्छ, तर बिउँझिएपछि तुहिन्छ।
यद्यपि, प्रेमको यो भ्रम, पृथक स्वरूप मात्र होइन। प्रेम भनेको अनुभूतिहरूको धागो हो। यसले हामीलाई कुनै न कुनै रूपमा बाँधिराख्छ। कुनैबेला त्यो धागो मजबुत हुन्छ। कुनैबेला कमजोर भएर चुँडिन्छ। जब चुँडिन्छ, तिनै सम्झनाहरू मनमा सपनाजस्तै तैरिन्छन्। निद्राबाट बिउँझिएपछि ती दृश्य झलझली याद आउँछन्। तर तिनलाई पुनः जीवित बनाउन सकिँदैन।
तर के प्रेम केवल हराउने चीज हो त? कि यो कुनै बेला हराएर पनि गहिरो ठाउँमा सुरक्षित रहन्छ?
शायद, प्रेम सपनाजस्तै हो। तर सपनाभन्दा गहिरो पनि। सपना त केवल रातभरको अनुभूति हो, तर प्रेम कहिलेकाहीँ जीवनभरको यात्रा बन्छ। प्रेम सत्य बन्छ, त्यो भ्रम होइन- त्यो अनुभूति हो, जसले हामीलाई बदल्छ।
यसर्थ, प्रेमलाई भ्रम मात्र भन्नु अन्याय हुनसक्छ। किनकि, केही भ्रम यस्ता हुन्छन्। यसले जीवनलाई नै अर्थ दिन्छन्। प्रेम पनि त्यस्तै मीठो भ्रम हो। यसले हामीलाई कहिले सपना देखाउँछ, कहिले यथार्थ।
जीवन र प्रेम एक मीठो भ्रम हो।
जीवनलाई परिभाषित गर्न खोज्नेहरूले हजारौं परिभाषा दिएका छन्। हामी यसलाई प्रेमको रूपमा अनुभव गर्छौं। जीवन आफैंले आफूलाई व्याख्या गर्न थाल्छ। प्रेम भनेको मात्र दुई हृदयबीचको आकर्षण होइन।
यो त हामीले पाएका सबै अनुभूतिहरूको मूल हो। जीवनलाई प्रेमको अर्को रूप मान्ने हो भने, हामीले भोगेका सुख–दुःख, उत्सव-विछोड, आशा-निराशा सबै प्रेमकै विभिन्न अनुहारहरू हुन्।
हामीलाई बाँच्न सिकाउने यो प्रेमको अनुभव कहिलेकाहीँ एक मीठो भ्रमजस्तै लाग्छ। किनभने हिजो जसले हाम्रो हृदयलाई आलोकित गर्यो, ऊ नै भोलि पराइझैं किन लाग्छ? किन हाम्रो प्रेम समयको प्रवाहसँगै परिष्कृत वा परिवर्तित हुँदै जान्छ? यस्तै प्रश्नहरूको उत्तर खोज्दै जाँदा हामी बुझ्न थाल्छौं कि जीवन र प्रेम दुवै स्थिर छैनन्।
यी निरन्तर बहने नदीहरूजस्तै हुन्। जसले कहिले मृदुल स्पर्श दिन्छन्। कहिले कठोर पत्थरहरूमा ठोक्किन बाध्य पार्छन्। कहिले मन खुशी पार्छन् . कहिले नमीठो गरी मन दुखाएर हैरान पार्छन्।
बाल्यकालमा आमाको काखबाट सुरु हुने प्रेम, किशोरावस्थामा कोही विशेषप्रति अनायासै आकर्षित हुने अनुभव। वयस्क भएपछि सम्बन्धहरूका आरोह–अवरोह पार गर्दै आफूलाई बुझ्ने यात्रा! यी सबै प्रेमकै रूपमा जीवनले हामीलाई सिकाएका पाठहरू हुन्।
वास्तवमा प्रेमको यही प्रवाहलाई मानिसले कहिले समर्पण, कहिले अभिलाषा, त कहिले वियोगको रूपमा ग्रहण गर्छन्। तर के प्रेम साँच्चै भ्रम मात्र हो? कि जीवनलाई बुझ्ने एक अद्भुत रहस्य?
शायद, भ्रम भन्ने शब्द स्वयं एउटा भ्रम हो। किनकि हामी प्रेम गुमाउँदा नै यसको उपस्थितिको मूल्य बुझ्छौं। जब कुनै सम्बन्ध टुट्छ, तब मात्र हामीले त्यसमा रहेको गहिराइ महसुस गर्छौं। यही कारणले प्रेम हामीलाई कहिलेकाहीँ झुटो सपना लागे पनि, त्यो सपना देख्न नपाउनु नै साँचो अभिशापजस्तो लाग्छ।
जीवनको प्रत्येक पल प्रेमले भरिएको हुन्छ! परन्तु हामीले त्यसलाई बुझ्न जानेका हुँदैनौं। चिसो हावाको सिरसिराहट, नदीको कलकल प्रवाह, शिशुको निःश्चल हाँसो, कुनै प्रियजनको मीठो सम्झनाहरू ! यथार्थमा यी सबै प्रेमकै सूक्ष्म तर वास्तविक स्वरूपहरू हुन्। जब हामीले प्रेमको यो सूक्ष्मपन बुझ्न सक्छौं, तब जीवनको भ्रम पनि सुन्दर लाग्न थाल्छ।
शायद, जीवन प्रेमकै अर्को रूप हो, जुन हामीलाई बाँच्न सिकाउने मात्र होइन, हरपल महसुस गर्ने आत्मिक अनुभूति पनि हो। जीवनको रहस्य प्रेममै लुकेको हुन्छ। अनि प्रेमको मिठास जीवनमै हुन्छ। त्यसैले यदि प्रेम एक भ्रम हो भने, यो संसारकै सबैभन्दा सुन्दर भ्रम हो भन्दा फरक पर्दैन।
जीवनको सार के हो ? सायद उत्तर धेरै हुन सक्छन्। जःतै संघर्ष, यात्रा, सफलता, असफलता, दुःख, सुख आदि। यद्यपि जब हामीले यी सबै तत्वलाई गहिरिएर हेर्यौं भने, जीवनको एउटा मौलिक रूप प्रेमसँग गाँसिएको पाउन सक्छौं। अतः प्रेम कुनै सम्बन्धको परिधिमा सीमित छैन। बरु अस्तित्वको आधारभूत सारमा यो निहित छ।
प्रेम बाँच्ने कला हो। यो नदीजस्तै निरन्तर बगिरहन्छ। आकाशजस्तै अटुट फैलिरहन्छ। प्रकाशजस्तै अँध्यारोलाई चिर्दै अघि बढ्छ। शायद त्यसैले जीवनलाई प्रेमको अर्को रूप भनिन्छ। यो प्रेम दुई हृदयबीचको सम्बन्ध होइन। यो त मान्छे र प्रकृतिबीचको संवाद हो। मान्छे र सिर्जनाबीचको आत्मीयता हो। अनि मान्छे र जीवनको सम्बन्ध हो।
एक बिहान, जब सूर्यको पहिलो किरण हिमालको चुचुरोमा पर्छ। उज्यालोले उसको चुम्बन लिएको अनुभूति गराउँछ। त्यो प्रेमकै स्पर्श होइन र? शिशिरको चिसो हावाले सहरका सुनसान गल्लीमा पातलाई चलायमान बनाउँछ। त्यो संवेगको झझल्को प्रेम होइन र?
वनमा फुल्ने एउटा सानो फूललाई कसैले हेर्दैन, तर उसले फेरि पनि बास्ना छर्छ। किनभने प्रेमले कहिल्यै आश्रयको खोजी गर्दैन, यो त आफ्नै अस्तित्वमा पूर्ण हुन्छ। जीवन पनि त्यस्तै हुनुपर्छ- कसैको स्वीकारोक्ति वा प्रशंसाको प्रतीक्षा नगरी आफूभित्रको उज्यालोलाई प्रकट गर्न सक्ने।
मानिसहरूले प्रेमलाई भावनात्मक परिभाषामा मात्र बाँध्न खोज्छन्। तर प्रेम त प्रत्येक सम्बन्धमा विभिन्न रूप लिइरहेको हुन्छ। आमाको स्पर्शमा ममता छ। बाबुको मौन संघर्षमा उत्तरदायित्व छ। मित्रताको निश्चल हाँसोमा अपनत्व छ। अनि एउटै बाटोमा यात्रा गरिरहेकाहरूको बीचमा सहयात्राको सौन्दर्य छ।
प्रेम कहिलेकाहीँ चुपचाप सेवा बनिन्छ। कहिलेकाहीँ अरूको दुःखमा सहानुभूति बनिन्छ। कतै यो एउटी आमाको न्यानो काखमा उम्लिरहेको हुन्छ। कतै एक वृद्ध बुबाको थकित आँखामा बोलिरहेको हुन्छ। प्रेमलाई बुझ्न कहिलेकाहीँ शब्द आवश्यक हुँदैन। आत्माले आत्मालाई महसुस गरे पुग्छ।
जीवनलाई प्रेमकै अर्को रूप मान्ने हो भने, हामीले आत्मप्रेमको महत्व पनि बुझ्नुपर्छ। स्वयंलाई प्रेम गर्न जान्नु भनेको आत्माको संगीतलाई सुन्न सक्नु पनि हो। हामीले आफ्नै अस्तित्वलाई सम्मान गर्दा हामी अरूलाई प्रेम गर्न सक्षम हुन्छौं।
तथापि हामीले कहिलेकाहीँ जीवनलाई गुनासोको पर्खालभित्र कैद गर्छौं- किन सफल भइनँ? किन मेरो यात्रा यति कठिन छ ? परन्तु आफ्नो जीवनलाई प्रेम गर्ने मानिस सानो उज्यालोमा पनि आनन्द देख्छ। असफलताभित्र पनि सिकाइ भेट्छ। हरेक क्षणलाई महत्व दिन्छ र महत्पूर्ण अवसर ठान्छ।
अब भनिरहनु पर्दैन कि जीवन प्रेमकै अर्को रूप हो। यसले हामीलाई केवल बाँच्न सिकाउँदैन। बरु हरेक क्षणलाई आत्मीय अनुभूतिमा बदल्न प्रेरित गर्छ। हामीले एक–अर्कामा आत्मीयता देख्दा त्यहाँ हामी प्रकृतिको सौन्दर्यलाई महसुस गर्छौं। हामी आफ्नै यात्रा र संघर्षलाई सम्मान गर्छौं। वस्तुतः त्यहाँ जीवनको वास्तविक प्रेम प्रकट हुन्छ।
संसारमा प्रेमका असंख्य परिभाषा छन्। तर सबैको सार एउटै हो-सजीव अनुभूति। प्रेम जीवन हो, जीवन प्रेम हो। हाम्रा हरेक पाइला यसैका सुगन्धित स्पर्शहरू हुन्। हाम्रा हरेक अनुभूति यसकै भावहरू हुन्। यिनैले हामीलाई हाम्रो अस्तित्वको वास्तविक अर्थ सम्झाइरहेका हुन्छन्।
बाँचौं प्रेमले, महसुस गरौं जीवनलाई प्रेममय भावहरूले। तर के प्रेम बिना जीवनको कुनै रङ बाँकी रहन्छ ?
शायद, जीवन नै प्रेमको अर्को रूप हो। जुन हामीलाई बाँच्न सिकाउने एउटा मीठो भ्रम हो! त्यसैले जीवन र प्रेम एक मीठो भ्रम हो।
Facebook Comment