शंकरप्रसाद रिजालका कविताहरु

नेपालमा नेता र नेतृत्व
नेता नेतृत्व लिने व्यक्ति आफू भित्र रमाउँछ
समाज देश बिकासमा आफ्नो जीवन बिताउँछ
राष्ट्र औं अन्तर्राष्ट्रमा देशको छवि बढाउँछ
साधारण जीवन बनाई उसले काम देखाउँछ।
बनेको छैन संसार बिना नेता र नेतृत्वमा
बनेको छ यो संसार उसको नै व्यक्तित्वमा
आफू भित्र सबै राखी सारा समान देखने
जनता सबका प्यारा भित्र भित्रै रमाउने।
गान्धी जन्मे भारतमा अहिंसाको बिकुल फुकी
मरे गोराको शासन भारतबाट हटाउने गरी
अझै छन् ती गान्धी हिँडेका छन् नवभारतमा
उनको कीर्ति फैलिएको छ यो सारा संसारमा।
अगाडि थे उनी एक्लै साथ अनगिन्ति भारती
डुलेका थे सबै ठाउँ आफ्नै भारत भित्रमा
लिइ हातमा चर्खा भारतभरी फिजाउँथे
अर्को हातमा झण्डा तिरंगा बोकी हिँड्थे।
अफ्रिका पनि त्यस्तै हो मण्डेला जन्मिए त्यहाँ
सारा काला जातिहरुको स्वतन्त्रता लिइ हातमा
अठठाइस वर्ष बसे जेलमा उनी डगेनन् रत्तिभर
आखिर आजाद गरी छोडे त्यो दासताको देशभर।
जन्मिए बेलायतमा चर्चिल बेलायत बनाउने गरी
देखिए अमेरिकामा लुथर अधिकार खोसने गरी
जन्मिए पर्सियामा सायिरस द ग्रेट नै
त्यस्तै जन्मिए मिश्रमा एक क्लियोपात्रा छैठौं नै।
आए फेरि मेसिडोनियामा अलेक्जेन्डर द ग्रेट नै
उता चीनमा आए माओ, देङ र शि जिङ पिङ नै
लिए नेतृत्व नेहरु र सुभासले फेरि त्यो भारतमा
सबैले लिए नेतृत्व आफ्नो देश बनाउने काममा।
सबैले आफनो देश बिकास गर्दै गए
बने सबै जसो देश अगाडि बढ्दै गए
झिलिमिली भयो देश नेताको हातमा परी
यही हो नेतृत्वको काम अगाडि अगाडि सरी।
रह्यो एक नेपाल जो उन्नतिमा सधैं पछि पर्याे
नव नेताले गरे धोका सबै नै अधुरो रह्यो
नेता छन् नेपालमा भन्छन् नेतृत्व कसले लियो
नेता सब नक्कली भैदिएकाले नेपालमा के भयो।
थिए पृथ्वी एन. शाह एउटा नेतृत्व लिने पुरुष
जोडे भुरेटाकुरे राज्य अधिराज्य लगाइ बुरुष
फेरि महेन्द्र जन्मिए शाह राजाको कुलमा
राजा बनी गए फेरि यो नेपालको भूमिमा।
राजनेता बनी देशको विकासको समीकरण
कोरे नेपालको खाका उद्यमी बनिइकन
बन्यो नेपाल उद्यमी भूमीहीन पनि बने
उनको नयाँ नेतृत्वले विश्व नै चकित परे।
नेताको नेतृत्वमा हुने गुण राजा महेन्द्रमा थियो
उनको नेतृत्व पश्चात सबै नेतृत्व अधुरो रह्यो
पछि भुरे नेताहरु जन्मे नेतृत्व नलिइकन
आएनन् कोही नेता शिक्षा नेतृत्वको लिइकन।
झगडा नै बढ्यो नेतामा पार्टी पार्टीहरु बीचमा
झगडालु भई निस्के आफ्नो शक्ति टिकाउनमा
बन्यो राजनीति तिनको मागनेको भाँडो सरी
सारा जनताहरुलाई सधैं ठूला ठूला कुरा गरी।
व्यवस्था धेरै बदलियो नेता भने उसतै रहे
नेपाली जनतालाई झुक्याउँदै धनी बन्दै गए
भो चाहिन्न यसता नेता यी सबै दृष्टिहीन हुन्
यिनको भरमा देश चल्दैन अब यी सबै बसुन्।
नयाँ नेतृत्वको खाँचो भो अब यो देश बनाउन
सक्तैनन् यिनले फेरि यो देश सजाउन
नेता नेपालमा हेर यी नेताको सबै रहन सहन
उनको चरित्र हेर सबैमा विष भो बमन।
सक्तिन हेर्न सक्तिन अब बुझ्न गाह्रो भयो
तिनको पछि पछि लाग्दा जीवननै बरबाद भा
के यो देशमा नयाँ नेता आउला नेतृत्व लिनेगरी?
आशा गरौँ सबै हामी आउनेछ नेतृत्व कसैगरी
धर्तीको कीर्ति फैलियोस् नेपाल र नेपाली चिनिने गरी
धर्तीको कीर्ति फैलियोस् नेपाल र नेपाली चिनिने गरी।
छोटो रातको प्रेमिकासँगको भेट
पूर्णिमाको रात छोट्टिँदैछ समयको काल चक्रमा
चन्द्रमा अघि सर्दैछन् उज्यालो नभका आकाशमा
यो रात प्रेमिकासँगको मिलन हो हामी दुई जोडीको
पहिलो मिलनको भेट हो हाम्रो धेरै धेरै वर्ष अघिको।
सँगै बसने, जिउने र सँगै मर्ने मेरो प्रतिज्ञा पनि थियो
यो आजको रातको समय पूर्णिमाको उज्यालो थियो
यो पूर्ण चन्द्रमाको नगरमा आज हामी दुईको भेट
अब हुँदैन कि उनीसँग फेरि मेरो त्यो चंगा चेट।
रात गहीरो छ पृथ्वीमा सारा थाकी सुते सरी
धोका र दुष्कर्मको प्रेमगरी सबै दुष्कर्मी मरेसरी
नआउन फेरि ती यस धर्तीमा जिउँदा भएसरी
दखल प्रेममा नपरोस् ती दुष्टको चक्रमा परी।
अप्सरा पनि आउने छन् यो धर्तीमा घुमिफिरी
आकाश निलोमा निलो छ कविका कल्पना सरी
पूर्णिमाको स्वतन्त्र रात छ चन्द्रमा खुलने गरी
त्यो औंसीको रात कहिल्यै नआओस् निशा छरी।
पूर्णिमाको रात छोट्टिँदैछ भोलिको पर्खाइमा
सूर्यले लालिमा छर्नेछ हरेक दिनको उज्यालोमा
नयाँ यौवन छर्दैछन् ती नव युवा युवती महा
फूल फक्रिइ सारा फुलेका छन् बगैंचा हामी बीचमा।
अहो! सूर्यलेपनि चन्द्रमा खोज्दैछन् त्यो उज्यालोमा
भन्छन् नजाने चन्द्रमा कहाँ छन् यो नव लोकमा
छोटो छ रात यो पलको आउ छिटो म छेउमा
बिलम्व धेर नगर अबत आउ मेरो समिपमा।
म देख्छु तिम्रो आकृति चारैतिर वरिपरी
सम्झना मेट्न सक्तिन यो मेरो मनमा घरिघरी
दिन ढल्किँदै गर्दा रातमा चन्द्रमा छँदै
म कुरेर बसी रे छु तिम्रो प्रतिक्षामा सधैं।
को हौ तिमी खुली देऊ न लौ मलाइ
स्वर्गकी परी हौ भनी देउ न लौ मलाइ
होइन भने आकाश फोडी चन्द्रमा धर्तीमा ल्याउँछु
तिमी नभए त के भो म चन्द्रसँग बस्न चाहन्छु।
संसारको सबैभन्दा शितलताको अनुभव गर्दछु
प्रेम त्यो हो जहाँ शितलता निरन्तर प्राप्त हुन्छ
मान्छेको प्रेम त्यो हो जहाँ प्रेमपछि बिछोड हुन्छ
तर चन्द्रमा त्यो शितलताको बिम्ब हो जो सँग
कहिल्यै तातो र आहत नभई सधैं न्यानो शितलताको
छहारी पाइन्छ।
ड्याम्सेल (युवती) सँगको भेट
घुम्तीको मार्गमा एक ड्यामसेलसँगको भेट
मानौ उनी श्रृंगारिएकी गुल्बदन जस्ती
मगमग फूलहरुको बासना वरिपरी छरी
आएकी छिन् अगाडि बिस्तारै अघिअघि।
नरम तÞी पाउहरु बगरका ढुंगामा टेकीटेकी
सायद कसैको प्रेमले पछ्याई आएजस्तो गरी
म नै हो कि भन्ने लाग्छ पच्छ्याइ आएको
खुसी मनमनै बोकी बोलाए जस्तो लाग्छ।
एउटा मोडमा म छु अर्को मोडमा तिनी
लुकीछिपी हिँड्छिन भेट हुन्छ कि भनी
गइ टप्प टिपी लैजाऊँ कि लाग्छ मनमनै
लैजाइ कहाँ लुकाइ राख्ने हो कहाँ कतै कुनै।
पर्खिन म सक्तिन त्यो तिनको लुकीमारीमा
हेर हाम्रो यौवन ढल्किँदैछ यो छोटो जीवनमा
आँखा तिनको लोभ लाग्दो त्यो गाजल पोतेको
शरीर तिनको मोहलाग्दो सर्वांग यौवन भरेको।
नजाने कहाँ छिन् तिनी म देख्न सक्तिन
त्यो मोडको कुनामा हो कि म भन्न सक्तिन
लुकेको अनुहार तिम्रो म हेरौं कहाँ कसोरी
दवेको त्यो तिनको आँखा म देखों कसोरी।
पाखा पर्वत नदी नाला हेर्दैछन् उनकै वरिपरी
यस्तो ड्यामेसिललाई कसरी पछ्याउँ घरीघरी
नहेर हातको ऐना हेर मनको पनि
तिमी भित्र बसेको छु म जस्तै भएपनि।
उडाई लान्छु तिनलाई यो लोकको कहीँ पनि
राख्छु म तिनलाई मेरो सानो मनमा भएपनि
आहा! उडेका पुतली सारा आउँछन् तिनीमा सबै
गुलाब फूलको गुच्छा तिमिनै हौ कि हो भनी।
माहुरी तिमी हौ रानी महको चाकामा बसी
म चाख्दछु महको घारी सँगै तिमीसँग रही
आउ सँग बसौं एकछिन् यो महको संसारमा
ढली जाने पो हो कि हाम्रो जोवन यसै तरंगमा।
नखेल यसरी लुकी लुकामारी खेले सरी
नजाउ यसरी टाढा यो मुटु दुखने गरी
सिन्दुर पोते लिइ आछु तिमीलाई लाउन
मै हुँ तिम्रो पुरानो साथी मलाई अँगालन।
अस्ताए नभमा सूर्य तारा चम्के आकासमा
चन्द्रमा झुल्किए फेरि हाम्रो शितल छहारीमा
फेरि पो भेट कहिले हो त्यो म सम्झिन सक्तिन
आजै भेट गरौँ अहिले अब म कुर्न सक्तिन
आजै भेट गरौँ अहिले अब म कुर्न सक्तिन।
समयको खेल
समयको खेल त्यो हेर चक्रघट्टा घुमेसरी
दिनमा रात देखिन्न रातमा दिनको घडी।
हिजो जहाँ बस्ती थियो आज त्यो खण्डहर छ
के युक्रेन के सिरिया आज सर्बत्र युद्ध छ।
कसले गर्याे यो युद्ध जीव नाश गराउने
बनेका सुन्दर ती बाग सुन्दर महल बिगार्ने।
समयको खेलमा त्यो हेर मानिसहरुको बल
समयकै चक्रमा हेर त्यो व्यक्ति कति निर्बल।
जन्म मृत्यु जरा ब्याधी यसले पच्छ्याउँछ
जन्म दिएपनि यसले मृत्युमा झुक्क्याउँछ।
सत्य त्रेता कली द्वापर चार युग चक्र यो
घुमिरहन्छ यो नित्य जन्म मृत्यु गरी छ यो।
वीर योद्धावनी सन्त बुद्ध नै किन ती नहोस्
कसैको भेद त्यो गर्दैन बलबान जति रहोस्।
जन्मिने जन्मिदै गर्छन् मर्ने मृत्युमा पुगी
अंगाली काखमा यसले पालनपोषण पनि गरी।
समय तोकने भावी हो कसले सक्छ मिटाउन
मृत्युको दौडमा यसले सबै सक्दछ हराउन।
घुमेको चक्र झैं काल बाल युवा बूढो भइ
आखिरमा मृत्युको घाट उतार्दछ कसैगरी।
बल त्यो कालको हेर हात्ती घोडा मराउँछ
मरेका ती सबै माथि स्याल हुइयाँ कराउँछ।
काल कसको हुँदैन र ब्रम्हा बिष्णु महेश्वर
मृत्यु कसको हुँदैन र राम कृष्ण उमाशिव।
खेल त्यो समयको हेर धनी गरीब बनाउने
त्यही खेल उसको हेर दुःखी धनी बनाउने।
राजारंक सबै पर्छन् यो समयको खेलमा
जन्मिने मर्ने हुन्छ यो नीत्य चल चक्रमा।
तसर्थ नबोक रिसा त्यो भारी यो मानव जुनीमा
नगर घमण्ड हे भाइ यो मानव योनीमा।
Facebook Comment