आरजूलाई स्थापित र पार्टी आफैंले चलाउने गरी उत्तराधिकारी खोज्दै देउवा

डिसी नेपाल
८ फागुन २०८१ १३:५९

काठमाडौं। तोकिएकै समयमा महाधिवेशन भयो भने अझै झण्डै एक वर्ष नेपाली कांग्रेसको नेतृत्व शेरबहादुर देउवाले नै गर्नेछन्। तर देउवा अझै आफ्नो कार्यकाल बढाउने योजनामा छन्।

देउवा सभापतिको कार्यालय बढाउने योजनामा लागिरहँदा संस्थापन र इतर पक्षका नेताहरुले भने महाधिवेशन लक्षित गतिविधि सुरु गरिसकेका छन्।

१४ औं महाधिवेशनमा सभापतिमा पराजित भएका डा. शेखर कोइराला एकचरणको देश दौडाहा पूरा गरेका छन्। उनले तोकिएकै समयभित्र महाधिवेशन गर्न निरन्तर दबाव दिइरहेका पनि छन्। अर्थात् डा. शेखर कोइराला संस्थापन इतर पक्षबाट निर्बिकल्प सभापतिका उम्मेदवार हुन्।

विधानतः देउवा सभापतिमा लड्न नपाउने भएपछि संस्थापन पक्षभित्र भावी सभापतिलाई लिएर नेता नै पिच्छेले दाबी गर्न थालेका छन्। गोपालमान श्रेष्ठ, कृष्ण सिटौला, प्रकाशमान सिंह, बिमलेन्द्र निधि त देउवालाई रिझाउन थालिसकेका छन्।

१४ औं महाधिवेशनमा इतर पक्षबाट महामन्त्री जितेका र अहिले संस्थापन पक्षसँग निकट गगन थापा १५ औं महाधिवेशनमा सभापतिका उम्मेदवार हुन्। त्यसको घोषणा उनले गरिसकेका छन्। तर उनलाई देउवाको उत्तराधिकारी मान्न देउवा क्याम्पका नेता तयार छैनन्।

देउवा र गगनको हिमचिम बढेपछि देउवाको निकट मानिने नेता एनपी साउद, मीन विश्वकर्मा, मोहन बस्नेतलगायतका नेता कोइराला क्याम्पमा गएको चर्चा पनि छ। कांग्रेसभित्र महाधिवेशनको मिति र भावी सभापतिका विषयमा फरक फरक अड्कलबाजी भएपछि गत शुक्रबार संस्थापन पक्षका नेताहरु हुल बाँधेर देउवालाई भेट्न निवास बुढानिलकण्ठ नै पुगे।

तत्काल आफ्नो उत्तराधिकारी नतोक्ने नीति लिनु भएका देउवाले अन्तिममा नेपथ्यबाट आफूले पार्टी चलाउने र कोइराला परिवारको पनि सम्मान गरेको अर्थ लाग्ने गरी शशांक कोइरालालाई अगाडि बढाए अचम्म नमान्दा हुन्छ

त्यहाँ उनीहरुले विगतमा आफूहरुले गरेको सहयोगको स्मरण मात्रै गराएनन्, त्यसको बदलामा अब आफूलाई सहयोग गर्न सभापति देउवालाई आग्रह नै गरे। यसअघि देउवा क्याम्पमा नखुलेका पूर्वमहामन्त्री एवं विपी पुत्र डा. शशांक कोइराला पहिलो पटक देउवा गुटको भेलामा सहभागी भएपछि १५ औं महाधिवेशनमा उनी पनि सभापतिको आकांक्षी रहेको लुकेन।

त्यतिमात्रै होइन, कतिपयले त देउवाले आफ्नो उत्तराधिकारी शशांकलाई नै बनाउँछन् भन्ने चर्चा गर्दछन्। त्यसका पछाडि दुई वटा कारण छन्- पहिलो शशांकसँग कुनै गुट छैन। उनी सभापति भएको खण्डमा नेपथ्यबाट पार्टी सञ्चालन आफैं गर्ने हो भन्ने देउवालाई थाहा छ।

दोस्रो-शशांक बिपी पुत्र हुन्। शशांकलाई सभापति बनाएर आफूले कोइराला परिवारको सम्मान गरेको भन्न देउवालाई सजिलो छ।

त्योसँगै देउवालाई कांग्रेसको राजनीतिमा पत्नी आरजू देउवालाई स्थापित पनि गर्नुछ। त्यसका लागि शशांकलाई सभापति बनाउँदा आरजूलाई कांग्रेसको राजनीतिमा स्थापित गर्न सहज हुने कुरा देउवालाई थाहा नहुने कुरै भएन।

देउवालाई पनि शशांकलाई अगाडि सार्नका लागि समस्या छैन किनकि शशांकलाई सभापति बनाउँदा उनको प्यानलबाट अन्य पदाधिकारीमा दावेदारी गर्नेहरु छैनन्। अर्थात, सभापति शशांकलाई दिए देउवाले अन्य पदाधिकारीहरु आफ्ना विश्वासपात्रहरुलाई बनाउन सक्छन्।

देउवा नेपाली राजनीतिका चतुर र भाग्यमानी नेता हुन्। ०४६ सालको राजनीतिक परिवर्तनपछि सबैभन्दा कम उमेरमा प्रधानमन्त्री बन्ने रेकर्ड बनाएका देउवा जीवनको उत्तराद्र्धमा पनि प्रधानमन्त्री बन्ने लाइनमा छन्। कम बोल्ने तर आफ्नो कुरा लागू गराइ छोड्ने देउवामाथि यतिबेला उत्तराधिकारी तोक्न दबाव छ।

त्यही भएर गत शुक्रबार देउवा निवासमा उनी निकट नेताको लामै छलफल चल्यो। सबैले आफूलाई सहयोग गर्न आफ्नै तरिकाले देउवालाई आग्रह गरे। देउवाले सबैको कुरा सुने, तर कसैलाई पनि वचन दिएनन्।

उक्त भेलाबाट देउवाले दुई वटा राजनीतिक सन्देश दिएको निकटवर्ती बताउँछन्। यतिबेला देउवाको उत्तराधिकारी गगन थापा हुने हुन् कि भन्ने चिन्ताले संस्थापन पक्ष त्रसित छ। जसरी पनि गगनलाई रोक्न चाहने नेताहरु संस्थापन पक्षमा बलियो छन्। तर देउवासँग गगनको बढ्दो हिमचिमले उनीहरुको मनमा ढ्यांग्रो ठेकेको देखिन्छ।

सो छलफल देउवाले गगनलाई साइजमा राख्न उपयोग गरेको संस्थापन पक्षका नेताहरुको बुझाइ छ। किनभने सो भेलामा गगन सहभागी थिएनन्। र, देउवाले गगन आफ्नो उत्तराधिकारी होइनन् भन्ने सन्देश सो छलफलमार्फत दिएका छन्।

यतिबेला देउवाका पुराना सहयोग एनपी साउदलगायतका नेताहरुले देउवाको साथ छोडेको चर्चा छ। तर, सो छलफलमार्फत देउवाले एनपी साउद आफूभन्दा धेरै बाहिर पुगेका छैनन् भन्ने सन्देश दिएका छन्।

‘तत्काल आफ्नो उत्तराधिकारी नतोक्ने नीति लिनु भएका देउवाले अन्तिममा नेपथ्यबाट आफूले पार्टी चलाउने र कोइराला परिवारको पनि सम्मान गरेको अर्थ लाग्ने गरी शशांक कोइरालालाई अगाडि बढाए अचम्म नमान्दा हुन्छ,’ एक नेताले भने।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *