मन्दिर र तीर्थ किन जाने ?

हरिप्रसाद सोडारी
९ फागुन २०८१ ७:४१

नेपाल देवालयको भण्डार हो, शिवालयको बस्ती हो, तीर्थहरुको आबास हो, भूऊर्जाको निबास हो। नेपाल भन्ने बित्तिकै ऋषिको याद आउँथ्यो, साधकहरुको सम्झना हुन्थ्यो, संसारको एकमात्र हिन्दूराष्ट्र भन्ने ज्ञान गराउँथ्यो, भिन्न संस्कार र संस्कृतिको निबासस्थल भन्ने बुझाउँथ्यो।

विभिन्न कालखण्डमा नेपालका देवस्थल र तीर्थस्थल दर्शनार्थ भगवान्देखि ऋषिमुनिहरु आएको इतिहास छ। अर्जुन त पाशुपतास्त्रका लागि आएकै थिए। त्यसपूर्व दशरथ पनि पशुपतिको दर्शनका लागि आएको चर्चा पुराणहरुले गर्दछन्।

अझ त्यसपूर्व महादेवले कालकुट विष पिएर गोसाइँकुण्डमा, भस्मासुरले लखेट्दा खोटाङको हलेशीमा आउनुभएको ग्रन्थहरुले बताउँछन्। शासकहरु सुस्ताउँदा, साधकहरु अस्ताउँछ, समाज निदाउँदा हाम्रा तीर्थस्थलहरु ओझेलमा मात्र परेका छैनन् कतिपय देवस्थललाई मित्र राष्ट्रले निजीकरण गरिरहेका छन्। बुद्धलाई मित्रराष्ट्रले नागरिकता दिइरहँदा हाम्रा सरकारप्रमुख र राष्ट्रप्रमुख कुम्भकर्णको निद्रालाई साथ दिइरहेका छन्।

शिवालयमा परमात्माको, मठमन्दिरमा देवीदेवताको, तीर्थस्थलमा दैवी ऊर्जाको, पुण्यभूमिमा ऋषि तथा सिद्धहरूको निवास हुन्छ। भक्तको आस्था, साधकको साधना, चिन्तकको चेतनाले यस्तै स्थानमा पूर्णता पाउँछ।

तीर्थस्थलमा मूर्ति र मन्दिरले जन्म लिन्छन्, परम्पराहरूले जीवन पाउँछन्, दर्शनार्थीले पाप पखाल्छन्, साधकहरूले आत्मसाक्षात्कार गर्छन्। दैवी शक्ति प्राप्त गर्ने, विभिन्न लोकसँग सम्पर्क गर्न सकिने, पृथ्वीको सर्वाधिक ऊर्जाको केन्द्र नै तीर्थस्थल हो।

‘तरति पापादिकं यस्मात्’ अर्थात्, जसले पापको महासागरबाट तार्छ त्यसलाई तीर्थ भनिन्छ। ‘तृ प्लवनतरणयोः’ धातुबाट तीर्थ शब्द बन्दछ। ‘तरति अनेन इति तीर्थम्’ अर्थात् जसको दर्शनले अपार संसारबाट पार हुन्छ त्यसलाई तीर्थ भनिन्छ। तीर्थहरूको समूहलाई तीर्थस्थल मानिन्छ।

तीर्थस्थल वा मठमन्दिरनिकटको पानी, वनस्पति, पत्थर, हावा, माटो आदिमा अन्य भूगोलको भन्दा अधिक शक्ति, शान्ति र गुणवत्ता हुन्छ। गोसाइँकुण्डलाई पानीले, कैलाशलाई माटो र पत्थरले, मृगस्थलीलाई वनस्पतिले, अमरनाथलाई हिउँले, कालीगण्डकीलाई पत्थर (शालग्राम) ले तीर्थस्थलमा परिणत गरिदिए। परमात्माको कृपा, दैवी शक्ति र पूजापाठको बल, साधनाको ऊर्जा, प्रकृतिको आभाले तीर्थस्थलहरू पूजनीय, दर्शनीय र स्मरणीय हुन्छन्।

तीर्थको वर्णन ऋग्वेदले पनि गरेको छ। वेदले तीर्थलाई पवित्र सम्झेर नमस्कार गरेका छन्। शुक्लयजुर्वेद (३०।१६)ले तीर्थलाई आनन्दको केन्द्र बताएको छ। वेदमा पनि रुद्रले हातमा तरबार र पिनाकि धनुष लिएर तीर्थाटन गरेको चर्चा छ। प्रकृति, भूबनोट, साधना, वनस्पति आदिले जमिनमा विशेष प्रकारको शक्ति उत्पन्न गर्छन्।

बेल, पीपल, पारिजात, चिन्तामणि, कल्पवृक्ष आदिको ऊर्जाले चिन्तन र दैवी कृपा प्राप्त गर्न भूमिका खेल्छन्। जल, वनस्पति, तीर्थस्थल आदि देवीदेवताको स्वरूप, शक्तिको पुञ्ज भएकाले साधना गर्दा ध्यान नदिए विपरीत परिणाम आउन सक्छ जस्तै कर्मनाशा नदीलाई छुँदा, करतोया नदीलाई नाघ्दा, गण्डकी नदीमा तैरिँदा मनुष्यको पुण्य नाश हुन्छ।

चार पुरुषार्थ (धर्म, अर्थ, काम र मोक्ष) तीर्थाटनबाट प्राप्त हुन्छ। तीर्थाटनबाट भरपुर आर्थिक लाभ गर्न नसकिएला तर शान्ति, धर्म र मोक्ष प्राप्त हुन्छ। हरेक धर्मावलम्बीहरूका आआफ्ना तीर्थस्थल छन्।

हाम्रा लागि महाज्योतिर्लिंग (पशुपति), मानसरोवर, मुक्तिनाथ, चार धाम, बाह्र ज्योतिर्लिंग, विभिन्न नदी र कुण्ड मुख्य तीर्थस्थल हुन्। बौद्धहरू लुम्बिनीलाई, इस्लामहरू मक्कामदिना र इसाईहरू जेरुसलामलाई तीर्थस्थल मान्दछन्।

पृथ्वीका प्रमुख र अधिकांश तीर्थस्थलहरू नेपालमा छन्। यहाँका बस्तीमा भूमेदेवता, कुवा र धारामा नागदेवता, सबै घाटमा महादेव, भञ्ज्याङमा देउराली, नदीमा वरुण देवताको निबास छ। वायुपुराणका अनुसार पृथ्वीमा साढे तीन करोड, वाराहपुराणका अनुसार ६६ अर्ब तीर्थस्थल छन्। तीर्थस्थललाई निम्नअनुसार विभाजन गरिएको छ-

१. स्वयम्भूतीर्थ– आफैँ उत्पन्न भएका देवीदेवताका मूर्ति वा तीर्थस्थलले स्वयम्भूतीर्थ बनाउँछ। जस्तै पाशुपतक्षेत्र, स्वयम्भूक्षेत्र, मुक्तिक्षेत्र, देवघाटक्षेत्र, गोसाइँकुण्ड, मानसरोवर, नेपालका ६४ शिवलिंग, भारतका १२ ज्योतिर्लिंग आदि। यहाँ परमात्माको साक्षात्कार हुन्छ, सिद्धहरूको दर्शन मिल्छ। आर्यावर्तका अधिकांश तीर्थस्थलहरूमा आफैँ उत्पन्न भएका शिवलिंग, विष्णु, देवीलगायतका मूर्तिहरू छन्।

२. कृतिमतीर्थ– जगत् र जीवात्माको कल्याण गर्न स्थापित तीर्थलाई कृतिमतीर्थ भनिन्छ। भारत र अमेरिकामा निर्मित पशुपतिमन्दिर कृतिमतीर्थस्थल हुन्।

३. आवीर्भावतीर्थ– भगवान्को जन्म, देवीदेवतासँग सम्बद्ध स्थानलाई आवीर्भावतीर्थस्थल भनिन्छ। सीताको जन्मले जनकपुर, बुद्धको जन्मले लुम्बिनी, व्यासको जन्मले दमौली, महादेवको बसाईले गोसाइँकुण्ड र कैलाशपर्वत तीर्थस्थल बन्न पुगे।

शैव, वैष्णव वा शाक्तक्षेत्रलाई पवित्रतममात्र होइन ऊर्जाशील तथा शक्तिशाली तीर्थस्थल मानिन्छ जसले कलुषित र दुर्भावलाई सद्भावमा परिवर्तन गर्दछ। हाम्रा शास्त्रहरूले मनलाई शिव एवं शरीरलाई शिवालय बनाउने विधि भएकाले महात्माहरूलाई तीर्थस्थलका रूपमा पूजिन्छ।

तीर्थस्थल र देवस्थलको अनुष्ठानले मनुष्यलाई ऋषि र सिद्ध बनाउँछ। दानमयूख (पृ. ८)मा भनिएको छ- गौशालामा सय गुणा, तीर्थस्थलमा हजार गुणा तथा शिवालयमा दिएको दानले अनन्त गुणा फल मिल्छ। संस्कारयुक्त व्यक्तिबाट शिवालयमा एउटै गोदान गराउँदा लाखौँ गोदानको फल प्राप्त हुन्छ।

तीर्थस्थलको ऊर्जाले धार्मिक अनुष्ठानको पुण्यलाई अत्यधिक वृद्धि गर्छ। उर्बराका दृष्टिले कुनै स्थानको एक विगाहा वा रोपनीमा जति फल्छ अर्कोमा त्यसको चार गुणा धेरै उत्पादन हुन्छ।

यसरी नै साधनालाई फलीभूत बनाउन तीर्थले महत्वपूर्ण भूमिका खेल्दछ। बिजुलीबाट बत्ती बल्छन्, टेलिभिजन र मोवाइल चल्छन् तर नांगो तारमा छुँदा प्रतिफल विपरीत आउँछ अर्थात् हरेकलाई प्रयोग गर्ने विधि हुन्छन्।

पापानां पापशमनं धर्मवृद्धिस्तथा सताम्।
विज्ञेयं सेवितं तीर्थं तस्मात्तीर्थपरो भवेत्।।–विष्णुधर्मोत्तरपुराण (३।२७३।७)

अर्थात् “पापीको पाप नाश हुन्छ, सज्जनको धर्मवृद्धि हुन्छ त्यसैले तीर्थको महिमालाई वर्णन गर्न सकिन्न।” धार्मिक कार्य तथा योजना निर्माणहरू मन्दिर र तीर्थस्थलमा गर्न उपयुक्त हुन्छ। पृथ्वीमा चार प्रकारका तीर्थ छन्– देवताले उत्पन्न गरेका, असुरहरूले स्थापना गरेका, ऋषिहरूद्वारा स्थापित, मनुष्यहरूले निर्माण गरेका।

नेपाल यस्तो गरिमामय राष्ट्र हो जहाँ चारै प्रकारका तीर्थस्थल छन्। युरोप र अमेरिका महादेशमा मानवनिर्मित तीर्थस्थलमात्रै भएकाले त्यहाँ कुनै ऋषि जन्मिएनन्, देवीदेवताहरू घुमेनन्, तिनीहरूलाई म्लेच्छ र स्थानलाई भोगभूमि भनियो। नेपालका हरेक तीर्थस्थलमा पितृ, ऋषि र देवता रहन्छन्।

पश्चिम नेपालको जलजलादेखि कोशी नदीको किनारसम्म वराहहरू, नेपालका ६४ शिवलिंगहरूमा ६४ भैरवहरू, हिमाल र मशानघाटमा महादेवका गणहरू घुमिरहन्छन्। मष्टो, वायुदेव, आकाशभैरव, सिद्धहरू नेपालका विभिन्न भागमा रहेर त्यहाँको कल्याण गरिरहेका छन्।

यसकारण नेपाल आर्यभूमि, देवभूमि, मोक्षभूमि बन्यो। तीर्थस्थलमा वैभव नदेखाई मातापिता, गुरु, सन्तान वा श्रीमतीलाई लिएर जानुपर्छ, एक्लै जानुहुँदैन। श्रवणकुमारले आफ्ना मातापिताका साथ, पाण्डवहरूले द्रौपदीका साथ, राम र लक्ष्मण आफ्ना गुरुका साथ तीर्थस्थल गएको रामायण र महाभारतमा उल्लिखित छन्।

उचित समय, विधि र स्थानमा गरेका तीर्थाटनले लाभ दिन्छ। पुर्खाहरूले खेती, अध्ययन, राजनीति, व्यवसायलगायतका कार्य गर्न भन्दा पहिले देवीदेवताको पूजन, तीर्थस्थलको दर्शन, शास्त्रवचनको स्मरण गर्थे।

तीर्थको दर्शन र स्पर्शनले जीवन सार्थक, दानले धनलाई शुद्ध, मननले मनलाई पवित्र, देवस्मरणले हृदयलाई शान्त, राष्ट्रदेवको अनुष्ठानले समाजको कल्याण गर्छ। सेवाले रोग घटाउँछ, साधनाले रहस्य पत्ता लगाउँछ, दानले दुर्घटना र विपत्तिबाट जोगाउँछ। त्यसकारण दानीलाई हानि हुँदैन भनिन्छ। दानवीरहरू कालजयी हुन्छन् जस्तै राजा हरीशचन्द्र, नहुष, बलि, कर्ण आदिका नाम इतिहासमा पढ्न पाइन्छन्।

ज्ञानह्रदे सत्यजले रागद्वेषमलापहे।
यः स्नाति मानसे तीर्थे स वै मोक्षमवाप्नुयात्।।–गरुडपुराण (१६।१११)

अर्थात् “ज्ञानरूपी तलाउ भएको, सत्यरूपी जलले भरिएको, राग द्वेषरूपी मललाई नाश गर्ने मानसतीर्थमा जो स्नान गर्दछ, त्यसले निश्चय नै मोक्षपद प्राप्त गर्दछ।” राजामहाराजाहरू हरेक कार्यको शुरु र अन्त्यपछि तीर्थाटन र सत्पुरुषको दर्शन गर्दथे।

महाभारतयुद्धपूर्व अर्जुनले देवीदेवताको दर्शनसहित तीर्थस्थलमा साधना गरे। लंकायुद्धपूर्व रामले ऋषिहरूको सेवा, तीर्थस्थलको दर्शन, रामेश्वरशिवलिंगको स्थापना गरे। नेपाल एकीकरणपूर्व पृथ्वीनारायण शाहले तीर्थाटन, देवीदेवता र सन्तको आशीर्वाद लिए।

तीर्थस्थलले निःशुल्क शिक्षा, स्वास्थ्य, खाना, आवासलगायतका सेवा उपलब्ध गराउँदै आएकाले नेपालमा कहिल्यै शरणार्थी जन्मिएनन्, बालाश्रम र वृद्धाश्रमको आवश्यकता परेन, भिखारी पैदा भएनन्।

आर्यक्षेत्रको पानी, अन्न र हावा खानेहरू परहित, जनसेवा, ईश्वर चिन्तन, प्रकृति संरक्षणमा रमाउँछन्। संस्कारबाट संस्कृति बच्दछ, संस्कृतिले धर्मको संरक्षण गर्दछ र धर्मकै सिँढी चढेर अध्यात्मको बाटोबाट परमात्माको साक्षात्कार गरी मातृभूमि, मातृसंस्कृति र राष्ट्रियता बलियो बनाउँछ।

धर्मबाट च्यूत भएको राष्ट्र र व्यक्तिको भविष्य हुँदैन। यहाँका देवस्थल र तीर्थस्थलले जीवनलाई बचाउँथे, समाजलाई सजाउँथे, समस्या समाधान गर्थे, लक्ष्यमा पुग्थे, राष्ट्रलाई अड्याउँथे। दुर्भाग्य पुर्खाको धरोहरहरू एवं दैवी विरासतलाई जोगाउन भिख माग्नुपरेको छ।

जीर्णोद्वारका क्रममा विदेशीले दैवी ऊर्जा र पुरातात्विक सामग्रीको सर्वनाश गरिदिएका छन्। सम्राट् अशोकले वर्वर युद्धबाट बिदा लिनमा बुद्धवाणी र तीर्थाटन नै मुख्यकारण हुन्।

तीर्थस्थल अध्ययन तथा अनुसन्धानको केन्द्र हुन्, विकासको मूल हुन्, पितापुर्खाको याद गर्ने ऐतिहासिक थलो हुन्, देवीदेवताको आशीर्वाद प्राप्त गर्ने पुण्यस्थल हुन्। पहाडका गुफा र नदीका संगममा ऋषि, तपस्वी आदिले ज्ञान प्राप्त गरेका थिए। यही बुझेर विदेशहरू ध्यान, दर्शन र अध्ययनार्थ नेपाल आउँछन्।

यही दैवी शक्तिले तराईझैँ मौलाउने, पहाडझैँ उभिन, हिमालयझैँ उचालिन सक्छौँ। राष्ट्रलाई विपत्ति आइलाग्दा, नीति निर्माण गर्दा देवस्थल वा तीर्थस्थलमा बसेर योजना बनाए प्रतिफलमुखी हुने थियो। तीर्थले हाम्रा पीर, पीडा, पछौटेपनलाई धुन सक्छन्, सद्बुद्धि र सच्चरित्र निर्माण गराउँछन्।

तीर्थस्थलमा देवीदेवता भेटिन्छन्, पितृ प्रसन्न हुन्छन्, संसार बुझिन्छ, आत्मा चिनिन्छ, दशा सकिन्छ, मन पवित्र हुन्छ, इतिहास थाहा हुन्छ, कर्तव्यको बोध हुन्छ। एकताको शक्ति, मानसिक शान्ति, आर्थिक संवृद्धि र सामाजिक समवन्यको स्रोत भएकाले यिनीहरूको श्रीवृद्धिमा तन, मन र धन लगाउन बिर्सनुहुँदैन।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *