मुलुकको विकास मोडल फेरौं : मन्त्री दाहाल

डिसी नेपाल
८ फागुन २०८१ १५:२७

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले मुलुकको विकासको मोडललाई पुनर्विचार गर्नुपर्ने बताएका छन्।

बिहीबार काठमाडौंको भृकुटिमण्डपमा नेपाल बिल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनीको उद्घाटन गर्दै मन्त्री दाहालले अहिले योजनावद्ध ढंगले विकास निर्माणका काम गर्न नसकिएको भन्दै मुलुकको बिकासको मोडललाई पुनर्विचार गर्नुपर्ने बताएका हुन्।

योजना आयोगले बनाएको योजना अनुसार आयोजनाहरू अघि बढ्न नसकेको उनले बताए। उनले विकास निर्माणका काम सुरु गर्दा प्राथमिकताका आधारमा सुरु गर्नुपर्नेमा जोड दिए। त्रिदेशीय व्यापारिक सम्बन्धलाई मजबुद बनाउनका लागि नाकासम्म सहज रुपमा आवतजावत गर्न सक्ने गरी पूर्वाधार निर्माण गर्नुपर्ने मन्त्री दाहालको भनाइ छ।

मन्त्री दाहालले निर्माण व्यवसायी, उद्योगीको समस्या समाधान गर्न नियमित ढंगले छलफल भइरहेको जानकारी दिए।

निर्माण व्यवसायीको भुक्तानीको समस्या समाधान भएपछि आयोजना निर्माणहरु सहज रुपले अघि बढेको उनले बताए। त्यस्तै उनले सरकार र नीति क्षेत्र मिलेर देशको बिकास निर्माणमा अघि बढ्नुपर्ने धारणा राखे।

मिडिया स्पेस सोलुसन्स प्रालि र फ्युचरएक्स ट्रेड फेयर एण्ड इभेन्ट्स प्रालिले संयुक्त रुपमा आयोजना गरेको प्रदर्शनीमा निर्माण व्यवसायसँग सम्बन्धित उत्पादन र नविनतम् प्रविधिका १५० स्टल राखिएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *