बाल नाटक महोत्सव तथा लघुचलचित्र प्रदर्शन सकियो, विभिन्न विधामा पुरस्कृत

डिसी नेपाल
८ फागुन २०८१ १६:२६

काठमाडौं । शैली थिएटर तथा रूसी सदन काठमाडौंको आयोजनामा ‘१६औं राष्ट्रिय बाल नाटक महोत्सव तथा बाल लघुचलचित्र प्रदर्शन’को समापन भएको छ।

चलचित्र विकास बोर्डका सदस्य राजु केसीको प्रमुख आतिथ्यता, रूसी सदन काठमाडौंका उपनिर्देशक अनुस भान्या तथा शैली थिएटरका अध्यक्ष नवराज बुढाथोकीको सभापतित्वमा महोत्सव सम्पन्न भएको हो।

महोत्सवमा विभिन्न १६ वटा नाटक सहभागी रहेका थिए। नेपालका युवा विदेश पलायन हुने प्रवृत्ति समावेश गरिएको मृगशिरा स्कुलले तयार पारेको नाटक ‘लौरो’ का कलाकार विप्लव अभिकारीले ‘द वेष्ट एक्टर अवार्ड, मेल’ पाएका छन्। समृद्धि स्कुलले प्रस्तुत गरेको नाटक देउकीका कलाकार रोजिना श्रेष्ठले ‘द वेष्ट एक्टर अवार्ड, फिमेल’ प्राप्त गरेकी छन्।

त्यस्तै बिजेताहरूले ट्रफी, प्रमाणपत्र र नगर पाँच हजार प्राप्त गरेका छन्। नाटक ‘लौरो’का निर्देशक पुष्प राज अवस्थिले ‘द वेष्ट डाइरेक्टर अवार्ड’ प्राप्त गरेका छन् भने उनले नगद दश हजारसहित प्रमाणपत्र हात पारेका छन्।

त्यस्तै, युनाइटेड युनिभर्सल स्कुलको नाटक ‘पढ्न त मन लाग्छ’ ले ‘द बेष्ट प्ले अवार्ड’ प्राप्त गरेको छ। मृगशिरा स्कुलको ‘लोरो’ले ‘फस्ट रनर अप अवार्ड’ तथा माउन्ट हेर्मोन स्कुलको नाटक ‘शिशिर बसन्त’ले सेकेन्ड रनरअप अवार्ड प्राप्त गरेको छ। ‘शैली पब्लिक चोइस अवार्ड’ दर्शना स्कुलको नाटक ‘को चोर’ले प्राप्त गरेको छ। ती नाटकले क्रमश: दश हजार, सात हजार र पाँच/पाँच हजार रूपैयाँ सहित प्रमाणपत्र हात पारेका छन्।

महोत्सवको बेष्ट इमर्जिङ एक्टर अवार्ड हिले माध्यामिक विद्यालयको नाटक ‘आरनको कथा’बाट निलम दमाईले हात पारेका छन्। बेष्ट इमर्जिङ प्ले समृद्धि स्कुलको नाटक देउकीले अवार्ड प्राप्त गरेको छ। त्यस्तै, प्रोत्साहन अवार्डमध्ये ‘बेष्ट ओर्जिनल राइटिङ अवार्ड’ होली एञ्जल स्कुलको नाटक ‘तारेभिर’, ‘बेष्ट कस्टुम डिजाइनर अवार्ड’ भेलोसिटि स्कुलको नाटक ‘तुलसी’, भोलिन्टिएर चोइस अवार्ड आकाश गंगा इन्टरनेशनल ऐकेडेमीको नाटक ‘रक्त पासो’ ,’जुरी अवार्ड’ हिले माध्यमिक विद्यालयको नाटक ‘आरनको कथा’ ले अवार्ड प्राप्त गरेको छ। महोत्सवको निर्णायक मण्डलमा वरिष्ठ रङ्गकर्मीद्वय सरस्वति चौधरी र बद्रि अधिकारी रहेका थिए।

शैली थिएरका अध्यक्ष एवं महोत्सव निर्देशक नवराज बुढाथोकीले बालबालिकाहरूलाई हारबाट जितमा परिणत गर्नसक्ने गरी अगाडि बढाउन १६औं राष्ट्रिय बाल नाटक महोत्सव तथा बाल लघुचलचित्र प्रदर्शनले महत्त्वपूर्ण भूमिका खेलेको बताए। उनले करिब १६ वर्षसम्म अनवरत रूपमा नाटक र थिएटरलाई अगाडि बढाउन चुनौती रहेको भएपनि यसलाई सार्थक रूपमा अगाडि बढाइरहेको बताए।

कार्यक्रममा बालसाहित्य रत्न शान्तदास स्मृति सम्मान २०८१ सम्मान स्व. जनक प्रसाद हुमागाईंलाई प्रदान गरिएको थियो। महोत्सवमा दश हजार हाराहारी मानिसले अवलोकन गरेको आयोजक संस्थाले जनाएको छ। फागुन १ गतेदेखि फागुन ७ गतेसम्म रूसी सदन कमलादी र शैली थिएटरमा कार्यक्रम भएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *