सशस्त्र प्रहरीमा चरम राजनीतिक हस्तक्षेप, देउवाका भतिजी ज्वाइँ कुँवर डिआइजी बढुवा सिफारिस

डिसी नेपाल
९ फागुन २०८१ ६:५८

काठमाडौं। सशस्त्र प्रहरीमा चरम राजनीतिक हस्तक्षेप भएको छ। डिआइजी बढुवामा जुनियर एसएसपी दीपेन्द्र कुँवर र विष्णु भट्टलाई बढुवा सिफारिस गरिएसँगै चरम राजनीतिक हस्तक्षेपको पुष्टि भएको छ।

शक्तिकेन्द्रको दबाबमा एसएसपी कुँवरलाई बढुवा गर्न अघिल्लो ब्याचलाई छुटाएर बिहीबार राति जुनियरलाई बढुवा सिफारिस गरिएको छ। सिफारिस हुनेमा कृष्ण ढकाल, दीपेन्द्र कुँवर र विष्णुप्रसाद भट्ट रहेका छ। गत भदौदेखि दुई डिआइजी पद रिक्त भएको थियो।

राजनीतिक शक्ति केन्द्रसँग यसपटक प्रहरी महानीरिक्षक (आइजीपी) राजु अर्याल चुकेका छन्। यसपटकको बढुवमा सशस्त्र प्रहरीमै भर्ना भएको दोस्रो ब्याचलाई अघि सारिएको छ। ढकाल ब्याच नं १ का हुन् भने कुँवर र भट्ट दोस्रो ब्याचबाट आएका छन्।

पहिलो ब्याच र त्यसभन्दा पनि सिनियर अधिकारीहरुलाई छुटाएर कुँवर र भट्टलाई बढुवा गरिएको छ। कुँवर प्रबन्ध शाखामा छन् भने भट्ट मिसनमा कार्यरत छन्। नेपाल प्रहरीको प्राविधिकबाट आएका कृष्णराज पाठक सबैभन्दा सिनियर एसएसपी थिए। तर उनलाई यसपटक पनि बढुवा गरिएन।

डीआईजी विदुर खड्काको अवकाशको सात महिनापछि २०८१ साल फागुन ३ गते बढुवा सिफारिसका लागि आवेदन खुलाउँदा आफूभन्दा दुई ब्याच सिनियर पाँच जना हुँदाहुँदै सिसम २ सशस्त्र प्रहरी निरीक्षक बेसिकका दीपेन्द्र कुँवर (ख) ले शक्तिकेन्द्रको आडमा दाबी पेस गरेपछि दीपेन्द्र अधिकारीको बढुवा एक महिना १२ दिन पछि पारेका थिए।

अहिले पनि कुँवरले शक्तिकेन्द्रको आडमा दाबी नछाड्दा अघिल्लो ब्याचका छुटाइएको हो।

सशस्त्र प्रहरीमा सिसम १ सशस्त्र प्रहरी निरीक्षक टोलीका ९ जनामध्ये पाँच जना डीआईजी भइसकेका छन्। बाँकी चार जनामध्ये मनिष थापा र कृष्ण ढकाल मुख्य दाबेदार छन्।

उनीहरू मात्रै होइन, नेपाल प्रहरीबाट स्थानान्तरण भई आएका उनीहरू भन्दा सिनियर कृष्णराज पाठक पनि बढुवाका दाबेदार थिए। पाठक तिनै सशस्त्र प्रहरी अधिकृत हुन्, जो डीआईजीको दुई पटकको बढुवामा छुटिसकेका छन्। यसपटक पनि छुटाइएको छ।

अहिले छुट्ट उनी तीन पटक छुटेका छन्। उता, सिसम १ का दुई जना दाबेदारपछि नेपाल प्रहरीबाट स्थानान्तरण भई आएका प्रवीण कँडेल मुख्य दाबेदार थिए। नेपाल प्रहरीबाट स्थानान्तरण भई आएका कँडेल एसपी, कामु एसएसपीसम्म कुँवरभन्दा अघि बढुवा भएको भएपनि एसएसपीमा भने सँगै ‘कन्फर्म’ भएका हुन्। यद्यपि, उनी पहिलो नम्बरमा ‘कन्फर्म’ भएका थिए।

सशस्त्र प्रहरी निरीक्षक बेसिकमा ७४ नम्बरमा रहेका तिनै कुँवरकै कारण अहिलेको बढुवा प्रभावित बनेको थियो। उनकै कारण अहिले सशस्त्र प्रहरी नेतृत्वदेखि सिंगै संगठन समस्यामा परेको छ।

कुँवरलाई बढुवा गर्न सत्तासाझेदार दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, गृहमन्त्री रमेश लेखकले बढुवा सिफारिस समितिलाई चर्को दबाब दिइएको थियो।

कुँवर पूर्वप्रधानमन्त्री देउवाका स्वकीय सचिव भानु देउवाका बहिनी ज्वाइँ हुन्। उनलाई अघि ल्याउनका लागि धेरै पटक सशस्त्र प्रहरीको नियमावली समेत परिवर्तन गरिएको छ। स्टाफ कलेज गर्न नसकेर उनलाई राजनीतिक दबाबको आधारमा सेनामा विशेष कोटा मार्फत पठाइएको थियो।

सशस्त्रमै भर्ना भएको टोलीका लागि डीआईजी बन्न स्टाफ कलेज अनिवार्य छ। यसअघि तीनपटकमा स्टाफ कलेज पास गरिसकेको हुनुपर्ने व्यवस्था थियो। साथै अर्का एसएसपी ढकालले तीनपटकमा पनि स्टाफ कलेज पास नगरेपछि उनकै लागि नियमावली परिवर्तन गरेर ५ पटकसम्म स्टाफ कलेज दिन पाउने व्यवस्था गरिएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *