एकीकृत समाजवादीः नेपाल-खनाल दूरी बढ्दो

डिसी नेपाल
९ फागुन २०८१ ७:११

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)मा अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनालबीच पछिल्लो समयमा दूरी थप बढ्दै गइरहेको छ। दुवै नेता एक अर्काको कार्यशैलीबाट सन्तुष्ट छैनन्। पार्टी सञ्चालनको विधि, प्रक्रिया र कार्यशैलीबाट असन्तुष्ट दुवै नेताले एक अर्काको आलोचना गर्न थालेका छन्।

एकीकृत समाजवादीको सम्पन्न १०औं महाधिवेशनयता नेपाल र खनालको सम्बन्ध पहिलेजस्तो सुमधुर छैन। दुवैले एक अर्काको आलोचना गर्ने गरेको एकीकृत समाजवादीकै नेताहरू बताउँछन्। ‘पहिले जस्तो उहाँहरूबीच सम्बन्ध त्यति राम्रो देखिँदैन, एक अर्काको आलोचना खुलेरै गरिरहनुभएको छ,’ ती नेताले भने, ‘महाधिवेशनयता त सम्बन्ध झन् बिग्रेको छ।’

महाधिवेशनपछि शुक्रबार र शनिबार केन्द्रीय कमिटीको दोस्रो बैठक बस्दै छ । त्यसअघि गत मंगलबार र बुधबार स्थायी कमिटी तथा पोलिटब्युरो कमिटीको बैठक भएको थियो । त्यस बैठकमा समेत नेपाल र खनालले देखिनेगरी एक अर्काको आलोचना गरेका छन् । नेपाल र खनालले लिखित रूपमै एक अर्काको आलोचना गरेका छन्।

पछिल्लो समय पार्टी अध्यक्ष नेपालले जारी गरेको अपानि–४ मा युवा संघ र अखिलका अध्यक्षको जिम्मेवारी खोसिएपछि दुई नेताबीच विवाद चर्किएको बताइन्छ । युवा संघ र अखिलका अध्यक्षको जिम्मेवारी खोसिएपछि खनाल र महासचिव घनश्याम भुसालले असन्तुष्टि व्यक्त गरेका छन् ।

खनालले बैठकमा लिखित रूपमै असन्तुष्टि व्यक्त गरेपछि अध्यक्ष नेपालले समेत लिखित रूपमै आफ्नो राजनीतिक प्रतिवेदनमार्फत असन्तुष्टि व्यक्त गरेका छन् । पार्टीको महाधिवेशनको समयदेखि नै नेपाल, खनाललगायत महासचिव भुसालसहितको समूह गुटगत रूपमा अगाडि बढेको नेताहरू बताउँछन् ।

स्थायी कमिटी र पोलिटब्युरो कमिटीबाट पारित अध्यक्ष नेपालको राजनीतिक प्रतिवेदनमा पार्टीमा अनुशासनहीन र अराजक प्रवृत्ति बढेको उल्लेख गरिएको छ । ‘पार्टीभित्र अनुशासनहीन र अराजक प्रवृत्ति देखिने गरेको छ, अनुशासनहीन, अराजक र निराश जमातले कहिल्यै पनि पार्टीको विकास र विस्तारमा सकारात्मक भूमिका खेल्न सक्दैन, त्यसो भएकाले यस्ता प्रवृत्तिका विरुद्ध दृढताका साथ जुध्नु र त्यसमाथि नियन्त्रण गर्ने काम गर्नुपर्छ,’ नेपालको प्रतिवेदनमा उल्लेख छ ।

पार्टी निर्णयको उपहास गर्दै जथाभावी बोल्ने, लेख्ने प्रवृत्ति देखिएको भन्दै नेपालले निर्णय कार्यान्वयनमा जोड दिएका छन् । साथै, उनले विभिन्न निर्णयका विरुद्ध बोल्ने, लेख्ने गरेको जनाउँदै खनाल र भुसाल समूहप्रति कटाक्ष गरेका छन् ।

अध्यक्ष नेपालले राजनीतिक प्रतिवेदनमै यस्तो उल्लेख गरेपछि सम्मानित नेता खनालले समेत लिखित रूपमै ‘काउन्टर जवाफ’ दिएका छन् । पार्टीमा टिके प्रवृत्ति मौलाएको भन्दै यसरी पार्टी र संगठन चल्न नसक्ने खनालले जनाएका छन् । पार्टी अध्यक्ष नेपालको कार्यशैलीको खनालले चर्को रूपमा आलोचना गर्दै मनपरी शैली सुधार्न सुझावसमेत दिएका छन् ।

‘गलत निर्णय सच्याऔं, पार्टीलाई एकताबद्ध बनाएर अघि बढौं,’ खनालले भनेका छन् ।

खनालले गत बुधबारको स्थायी कमिटी बैठकमा लिखित रूपमै भनेका छन्, ‘पार्टीमा टिके प्रथा, ठाडो बर्खास्ती र नियुक्ति, मन नपरेकालाई हटाउने र परेकालाई ठाडै नियुक्त गर्ने, भइरहेका कमिटीहरू विघटन गर्ने, उनीहरूका आफ्ना सम्मेलन र अधिवेशनहरू गर्न नदिने तरिका भनेको गुटबन्दीपूर्ण विभाजनकारी र विघटनकारी तरिका मौलाएको छ ।’

खनालले पार्टीमा अपनाइएको तौरतरिकालाई निरंकुश र नोकरशाहीको संज्ञा दिँदै यस्तो तरिका स्वीकार्य नहुने चेतावनी दिएका छन् । ‘यो स्वीकार्य हुँदैन, त्यस्ता तरिकाले पार्टी पनि चल्दैन र जनसंगठन पनि चल्दैनन्, पार्टीले यो कार्यशैली र निर्णय गर्ने तरिका सच्याउनुपर्छ,’ खनालले भनेका छन् ।

अपानिमार्फत अखिल अध्यक्षको जिम्मेवारी खोसिएर नयाँ अध्यक्षको जिम्मेवारी तोकिएको छ । त्यसपछि अखिलको समानान्तर राष्ट्रिय भेला काठमाडौंमा सम्पन्न भएको छ । समानान्तर भेलामा नेता खनाल सहभागी भएका थिए । समानान्तर कमिटी घोषणा गर्ने उद्देश्यसहित भएको भेलाले कमिटी घोषणा नगरी एक साताभित्र अखिलको विवाद समाधान गर्न चेतावनीसहितको आग्रह गरेको छ । विवाद समाधान नभए समानान्तर कमिटी घोषणा गरिएको छ ।

यस्तै, नेता खनालले हालै छापिएको पार्टीको विधानमा निर्णयविपरीत फेरबदल भएको भन्दै त्यसमा समेत असन्तुष्टि व्यक्त गरेका छन् । गत असारमा सम्पन्न महाधिवेशनले पारित गरेको विधान अहिले पुस्तकका रूपमा छापेर आउँदा फेरबदल गरिएकामा षड्यन्त्र भएको उनको भनाइ छ । छापिएको विधानमा महाधिवेशन हलले पारित गरेको भन्दा फरक विषय राखिएको भन्दै खनालले असन्तुष्टि व्यक्त गरेका हुन् ।

‘हलले पारित गरेको विधानमा सम्मानित नेता महाधिवेशनबाटै निर्वाचित हुने भनिएकामा केन्द्रीय कमिटीले तोक्ने, ६ जना उपाध्यक्षमा एक महिला भनिएकामा महिला भन्ने शब्द नै हटाएको, तीन जना उपमहासचिव भनेकामा चार जना लेखेर विधान छापिएको छ, विधानका धेरै कुरा मनपरी चलाइएको छ,’ खनालले बैठकमा भनेका छन् ।

स्थायी कमिटी बैठकमा खनालले विरोध गरेपछि त्यसलाई सच्याउने सहमति भएको थियो । छापिएको विधान फिर्ता लिएर सच्याएर पुनः प्रकाशन गर्ने सहमति भएको छ । विधान प्रकाशनको जिम्मेवारी वरिष्ठ नेता डा. बेदुराम भुसालले पाएका थिए । उनी नेपालनिकट नेता मानिन्छ ।

अब छापिसकेको १० हजारप्रति पार्टीको विधान नबाँडिने र सच्याएर अर्को प्रकाशन गरिने उपाध्यक्ष एवं प्रवक्ता प्रकाश ज्वालाले जनाएका छन् । प्रकाशित विधानप्रति आएका नेताहरूका सुझावका आधारमा सच्याएर पुनः प्रकाशन गर्ने सहमति भएको ज्वालाले बताए ।

यसैबीच, बिहीबार नै बस्ने भनिएको केन्द्रीय कमिटीको बैठक अब शुक्रबार र शनिबार बस्ने भएको छ । संविधानसभा सदस्य एवं पार्टी पोलिटब्युरो सदस्य विदुर सापकोटा निधनका कारण एक दिन बैठक सारिएको हो । सापकोटाको बिहीबार दिउँसो पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको छ ।

सापकोटाको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जली दिन अध्यक्ष नेपाल, वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डे, महासचिव घनश्याम भुसाललगायतका नेताहरू आर्यघाट पुगेका थिए । त्यसअघि सापकोटाको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि आलोकनगरस्थित एकीकृत समाजवादीको कार्यालयमा राखिएको थियो । कार्यालय आलोकनगरमा राखिएको सापकोटाको पार्थिव शरीरमा अध्यक्ष नेपालले पार्टीको झन्डा ओढाएर सम्मान गरेका थिए ।

काभ्रेको मण्डनदेउपुर नगरपालिका–७ नौबिसेका ५९ वर्षीय सापकोटाको काठमाडौंको चाबहिलस्थित हेल्पिङ ह्यान्ड्स सामुदायिक अस्पतालमा उपचारका क्रममा बिहीबार बिहान निधन भएको थियो । सापकोटा लामो समयदेखि उच्च रक्तचाप र मधुमेह रोगबाट ग्रसित थिए । स्वर्गीय सापकोटाका पत्नी र एक छोरी छन् ।

राजधानी दैनिकबाट




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *