गुलाम अलिको गीत ‘गाजलु ती ठूला ठूला आँखा’को भिडियो सार्वजनिक

डिसी नेपाल
९ फागुन २०८१ १०:२८

काठमाडौं। नेपाली सङ्गीतको इतिहासमा विशेष स्थान राख्ने कालजयी गीत ‘गाजलु ती ठुला ठुला आँखा’को नयाँ भिडियो सार्वजनिक भएको छ । उस्ताद गुलाम अलिको सुमधुर स्वरमा सजिएको यो गीतलाई म.वि.वि. शाह (स्वर्गीय राजा महेन्द्र वीरविक्रम शाह) ले रचना गरेका हुन् भने सङ्गीत दीपक जङ्गमले दिएका छन् ।

यो गीत पहिलो पटक २०४२ साल (सन् १९८५) मा रेकर्ड गरिएको थियो । उस्ताद गुलाम अलिले नेपाल भ्रमणका क्रममा चार वटा गीत रेकर्ड गरेका थिए, जसमा ‘गाजलु ती ठुला ठुला आँखा’ पनि समावेश थियो । तीन दिनको अवधिमा रेडियो नेपालको स्टुडियोमा यो गीत रेकर्ड गरिएको थियो ।

हालै, म्युजिक नेपालले क्रिएटिभ आवर प्रोडक्सन र ड्याड प्रोडक्सनको सहकार्यमा यस गीतको नयाँ भिडियो निर्माण गरी सार्वजनिक गरेको हो । यसको भिडियोमा शङ्कर श्रेष्ठ र अञ्जना बराइलीले अभिनय गरेका छन् । यसको भिडियोको अवधारणा तयार र निर्देशन सुब्रत आचार्यले गरेका हुन् भने छायाङ्कन उत्सव दाहालले गरेका छन् । भिडियोको सम्पादन विकास दाहालले गरेका छन् ।

हेयर र मेकअपको जिम्मेवारी सुप्रिया आर.एल. शाहले सम्हालेकी छन् भने स्टाइलिङ आशिम रानाभाटले गरेका छन् । प्रोडक्सन डिजाइनरको रूपमा दिपेन्द्र गौतम ‘माइकल’ले काम गरेका छन् भने सहायक निर्देशक साईब्रत आचार्यले भिडियोको समन्वयमा भूमिका निर्वाह गरेका छन्, क्रिएटिभ निर्देशन जया शर्माले गरेकी छन् ।

‘गाजलु ती ठुला ठुला आँखा’ गीतले नेपाली सङ्‌गीतप्रेमीहरूको मनमा विशेष स्थान बनाएको छ । यस गीतको लोकप्रियता नेपालमा मात्र सीमित नभई छिमेकी मुलुकहरूमा पनि फैलिएको छ । पाकिस्तानी गायिका सारा राजा खानले पनि यो गीत गाएर सामाजिक सञ्जालमा चर्चा पाएकी थिइन् ।

यस गीतको नयाँ भिडियोले पुरानो सङ्गीतलाई नयाँ पुस्तासम्म पुर्‍याउने प्रयास गरेको छ । सङ्गीतप्रेमीहरूले यो भिडियो म्युजिक नेपालको आधिकारिक च्यानलमा हेर्न सक्नेछन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *