सरकार आलोचकको घाँटी निमोठ्ने गरी प्रस्तुत भइरहेको माधव नेपालको टिप्पणी

काठमाडौं। नेकपा (एकीकृत समाजवादी) अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई संविधान र कानुन मिच्ने बानी नै परिसकेको टिप्पणी गरेका छन्।
आज पार्टीका केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै उनले प्रधानमन्त्री ओलीले दुई दलीयको नाममा तानाशाही शासन लाद्ने प्रयत्न गरिरहेको बताएका हुन्।
उनले वर्तमान सरकारले संसद्को नियम, नियमावलीलाई मिच्ने कुरादेखि लिएर विधि विधानलाई बेवास्ता गर्ने काम गरिरहेको उनले बताए। वर्तमान सरकार आफ्ना आलोचकहरुलाई घाँटी निमोठ्न अग्रसर रहेको उनले बताए।
‘हाम्रो देशमा जुन सरकार अहिले शासन सञ्चालन गरिरहेको छ। त्यो बहुदलीय लोकतन्त्रको मान्यतालाई चुनौति दिँदै दुई दलीय शासनको सोचलाई अघि बढाउन खोजिरहेको छ। दुई दलीय शासन अर्थात् दुई दलीयको नाममा एक दलीय तानाशाही शासन लाद्ने सोचभन्दा भिन्न छैन। स-साना दलहरुलाई समाप्त पार्ने, प्रतिद्वन्द्वी पार्टीहरुलाई समाप्त पार्ने, अनेक किसिमले नियन्त्रणका तौरतरिका अपनाएर यो देशमा तानाशाही लाद्ने दुष्चेष्टा गरे। संविधानलाई मिच्ने बानी परिसकेका व्यक्तिहरु कानुन मिच्न पनि त्यतिकै अग्रसर भएका छन्,’ अध्यक्ष नेपालले भने।
उनले सरकारले संसदको नियम र नियमावली समेत मिच्ने काम गरिरहेको आरोप लगाए। उनले वर्तमान सरकार आलोचकको घाँटी निमोठ्ने गरी प्रस्तुत भइरहेको समेत उल्लेख गरे।
उनले देशभित्र छुवाछुत र महिला बलात्कारका घटनाहरु बढिरहेको भएपनि अपराधीहरु दण्डित नभएको जिकिर गरे। उनले समाजमा विद्यमान समसस्याहरुको समाधान गर्न पार्टी संगठनलाई थप बलियो बनाउँदै लैजानुपर्ने बताए।
‘हाम्रो पार्टीको बारेमा अनेकथरीका कुराहरु प्रचारमा आउने गरेको छ। कसैले एमालेसँग मिल्नेभयो भनेका छन्, कसैले माओवादीसँग मिल्न जाने भयो भनेर अनेक किसिमका कुप्रचारहरु भइरहेका छन् । यस्ता कुनै पनि कुप्रचारको भ्रममा पर्नुपर्ने आवश्यकता छैन । हामी आफ्नो पार्टीलाई बलियो र प्रभावकारी बनाउन चाहन्छौं,’ उनले भने।
Facebook Comment