कथा : सर्वभोगी बाबा

उसको विशेषण नै बाबा हो। उसलाई सबैले बाबा भनेर बोलाउने गर्छन्। उ बाबाको नामले यस बजारमा परिचित छ। उ पसल पसल होटल होटलमा प्रचारित छ। उ जस्ले जे दिए पनि खपाखप खाने गर्छ।
उसको एउटा कुटी छ। कुटीमा प्रायः ऊ मादक पदार्थ सेवन गरेर बेहोस अवस्थामा लडिरहेको हुन्छ। कुटी भित्र देव देवीका मूर्तिहरु पनि छन्। ऊ बिहान बेलुका ती मूर्तिहरुलाई पूजा गर्ने गर्छ। बजारीयाहरु पनि पूजा गर्न जान्छन्। उसका मन्त्रहरु बेजोडका छन्।
उसले प्रार्थना गर्न थालेपछि बजारभरि नै थाहा हुन्छ। लौ बाबाले प्रार्थना थालेछन्। ऊ सँग दुई हात लामो फलामे चिम्टा आकारको एउटा बस्तु छ। खपटा जस्तो आकारको एउटा मागी खाने भाँडो पनि छ।
उसले प्रायः जसो पहेँलो वश्त्र धारण गरेको हुन्छ। निधारमा बिभुत घसेको हुुन्छ। म आश्चर्य चकित छु। किनकि ऊ सँग एउटा इन्डियन रेडियो छ। उ सधैं सधैं हिन्दी समाचार सुन्न व्यस्त रहन्छ।
यो बजारसँग म परिचित भएको पनि करिब दुई तीन महिना मात्रै हुँदै छ। जुन दिन बजारमा डेरा लिएर बसें। त्यसै दिनबाट बाबाको विषयमा केही जान्ने र बुझ्ने मौका पाएको हुँ। बजारको वातावरण र बाबाको क्रियाकलाप दिमागबाट हट्नुको सट्टा स्मरण योग्य भएर आउने गर्छ। कलेज जाँदा आउँदा प्रायः बाबालाई बजारमै भेट्ने गर्छु।
यो बजार मानौ दैनिक भट्टी भित्र कुटेको कुकुर जस्तो पस्ने गर्छ र रगतले मातेको चितुवा जस्तो झम्टने गर्छ। यो बजार दैनिक घ्याम्पा भित्र डुब्ने गर्छ र पागल जस्तो बर्बराउने गर्छ। हरेक साँझ पाखुरा सुर्कासुर्की पर्ने गर्छ। बाबा पनि मौका छोपी अस्पस्ट शब्दमा बर्बराउने गर्छन्।
यहाँ भट्टीको बिकास सर्बाेच्च विन्दुमा पुगेको छ। सदस्यहरु यति सक्रिय छन् कि बाउ बाजेले एक गाँस खाएर जोडेको घर खेत बन्दकी राखेरै भए पनि यस कार्यमा तल्लीन भएको देख्दा संगठनप्रतिको आस्था होनाहार नै मान्नु पर्छ। मलाई अनौठो गर्वले छाती फुलाउन मन लागेको छ।
अहो मेरो बजार यति बिकसित भैसक्यो कि अरु बजारलाई भट्टी मोडल बिकासको मुहानको नमुना देखाउन शत प्रतिशत सफलता प्राप्त गर्न सकेको छ। त्यो बाबाले पनि यस्को सदस्यता प्राप्त गर्न सकेकोमा मेरो देब्रे ओठबाट नजानिँदो किसिमले फिस्स हाँसो खुस्कन्छ। म टोलाएर ट्याम्के डाँडा तिर फर्कन्छु।
ऊ लगभग यहाँ आएको १५-२० वर्ष भै सक्दा पनि पटक्कै नेपाली बोल्न जान्दैन। ऊ सँग प्रत्यक्ष सबाल जबाफ गरुँ भन्दा उ नेपाली बुझ्दैन। म उसको भाषा बुझ्दिन। उसको नाउँ गाउँ र देश के हो? कहाँ हो? छुट्याउन सक्तिन।
ऊ सधैं राजिब गान्धीको चर्चा चलाएर हिँड्ने हुँदा पक्कै पनि इण्डियन बाबा हो भन्ने लख काटेको छु। खैर जे भए पनि ऊ प्रतिष्ठित बाबा हो यस बजारको। बजार पनि मख्ख नै छ कि क्या भेटे बाबा पनि अत्याधुनिक।
सिकुटे बाबाको रिस अद्भूत छ। कसैले हेला गरेको सुनेमा प्रथमतः दाह्री हल्लन्छ, आँखा तन्कन्छ र मुख पड्कन्छ। सजिलै थाहा हुन्छ कि लौ आज बाबालाई रणचण्डी जागेछ। केटाकेटीहरु भीड लाग्छन्। स्वभावैले तमासा हेर्न। तर बाबा झन साह्रो कड्कँदै कराउन थाल्छन् र केटाकेटी डरले भाग्छन्। बाबा दिनभरी नानाभाँती बर्बराउँदै बजारमा ओहोर दोहोर गर्छन्।
ऊ भिखारी होइन। ऊ सँग रेडियोे छ। उ मगन्ते होइन। यहाँका प्रायः होटलमा उसलाई दाना पानीको लागि स्वतन्त्रता छ। उ डुलन्ते होइन। म आएदेखि ऊ बजारको बजारै छ।
म चकित छु। यो कस्तो किसिमको बाबा हो? के उद्देश्य छ उस भित्र? घर बार छोडेर किन उ यहाँ आइपुग्यो? १५-२० वर्षको समयावधिमा किन उसले नेपाली बोल्न जानेन? जाँड रक्सी मासु जे पनि किन खाने गर्छ? उसलाई किन यो बजारनै मन पर्यो त?
यसरी प्रश्नहरु उम्रन्छन् मन भरी। समाधान हुन सक्दैन र साथीलाई सोध्छु “यो बाबा कस्तो बाबा हो? ” साथी ब्यंग्यको झटारो कस्दै उत्तर दिन्छ “अरे यार यो कलियुग हो कलियुग। बाबाहरु मोर्डनाइजेशन भै सके। तिमी मुर्ख नबन। यदि यस्तै सोच्छौ भने तिमी पागल हुने छौ।
हो म पागल हुने छु। मलाई आधुनिक युगले एक थप्पड हाने जस्तो लाग्छ र म झसंग हुन्छु। हो त नि बाबाहरु मोर्डनाइजेशन भै सके।
छिर्लिङ छिर्लिङ। अस्पस्ट शब्दहरु। लौ बाबा आए। लौ बाबा आए। केटाकेटीहरु कराउँछन् एक तमासले र झुम्मिन्छन बाटो छेकेर।
छिर्लिङ ककक …। ऊ बर्बराउछ सातो जाने गरी। केटाकेटी डरले तितरवितर हुन्छन्। मानाैं मौरीको चाकामा मलसाप्रो पसेको छ र मौरीहरु भागेका छन्।
यसरी उ दैनिक चिम्टा बजाउँछ बजार भरी र पसलै पिच्छे थाप्छ उसको खपटा जस्तो भाँडो। उसलाई केही न केही दिनै पर्छ। नत्र उ उसकै भाषामा सराप्न थाल्छ। पर चोक सम्म पुगेर फर्कन्छ ऊ कुटीमा। लम्पसार लड्छ दिन भरी।
म झन झन् चकित छु। मेरो जीवनमा अनौठो बाबा भेट्टाएको छु। त्यसैले दैनिक कुटी छेउमा जान्छु र उच्च स्वरमा बोलाउँछु बाबा ककक…। उ घुरीरहेको हुन्छ।
म कलेजबाट फर्कि रहेको छु। पर त्यो बाबा एक तमाशले बर्बराइरहेको छ। चोकमा मान्छेको भीड छ। भीड छिचोल्दै अगाडि बढेको बेला भीडबाट आवाज आउँछ। लौ आज पनि बाबालाई भट्टी देवले सताएछ। म मन मनै भन्छु। धन्य छौ सिद्धकाली माता१ तिमीले खाँटी माहाभक्त पाइछौ। तिम्रो जय होस्।
सुन्दरहरैँचा-६, दुलारी, मोरङ
Facebook Comment