माओवादीको टिप्पणी- अध्यादेश सरकारको पासो भयो

डिसी नेपाल
९ फागुन २०८१ १७:५४

काठमाडौं । नेकपा माओवादी केन्द्रले सरकार अध्यादेशको पासोमा परेको टिप्पणी गरेको छ।

शुक्रबार पार्टी कार्यालय पेरिसडाडाँमा पत्रकार सम्मेलन गर्दै माओवादी प्रवक्ता अग्निप्रसाद सापकोटाले संसद बोलाएको २१ दिनमा अध्यादेश अघि बढ्न नसकेको र सदनको काम सून्य भएकाले सरकार अध्यादेशको पासोमा परेको टिप्पणी गरे। सबैभन्दा बढी प्रभावकारी हुनुपर्ने संस्था सदन भएपनि आरोप–प्रत्यारोप थलो बन्न पुगेको उनले बताए।

प्रवक्ता सापकोटाले दुई तिहाईको कुरा गर्ने सरकारले अध्यादेशबाट शासन चलाउन खोजेको आरोप लगाए। उनले सरकारले ल्याएको अध्यादेश समेत निश्चित बर्ग र घरानालाई फाइदा हुने गरी आएको समेत बताए।

सापकोटाले सरकारका सवै क्रियाकपाल हेर्दा ठूला दुई दल मिलेर बनेको सरकार तानाशाहीकरणतर्फ उन्मुख रहेको जिकिर गरे। सरकारको क्रियाकलापविरुद्ध बोल्न पाउने नागरिकको अधिकारलाई समेत कुण्ठित गर्ने काम सरकारले गर्न खोजेको उनले बताए।

उनले प्रतिगमनको खतराबिरुद्ध खवरदारी गर्दै संविधानको रक्षा गर्न माओवादी जनतातर्फ फर्किएको जिकिर गरे। जनस्तरमा संगठन सुदृढिकरणका लागि समेत जनतासँग माओवादी अभियानअन्तर्गत फागुन १२ गते झापाबाट सुरु गरी चैत्र ८ गते कञ्चनपुरमा गएर समापन हुने उनले बताए।

उक्त अभियान सम्पन्न भएपछि मध्यपहाडी लोकमार्ग दुई महिने अभियान सञ्चालन हुने प्रवक्ता सापकोटाले बताए। सो क्रममा भ्रष्टाचारीलाई संरक्षण गर्ने सरकारी प्रवृतिको विरोध र भण्डाफोर गर्ने उनको भनाइ छ।

उनले ढिलो नगरि सवै पार्टीसँग छलफल गरी सरकारले विश्व दृष्टिकोण तयार गर्नुपर्ने धारणा राखे। उनले वर्तमान सरकारको कुशासनले गर्दा पूर्वराजाले व्यवस्थाविरुद्ध बोल्ने अवस्था सिर्जना भएको जिकिर गरे। मुलुकमा राजा फर्कने कुरा शतप्रतिशत असम्भव रहेको उनले बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *