नेपालले मनपरी गरेको भन्दै झलनाथको असन्तुष्टि

काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले जारी केन्द्रीय कमिटी बैठकमा असन्तुष्टि व्यक्त गरेका छन्।
अध्यक्ष माधवकुमार नेपालले पार्टी निकट विद्यार्थी संगठन अनेरास्ववियू र युवा संगठनमा मनपरी गरेको आरोप लगाउदै उक्त गलत निर्णय सच्याउन माग गरेका हुन्।
पार्टी अध्यक्ष नेपालले जारी गरेको अपानिमा दोहोरो जिम्मेवारीको नाममा अनेरास्ववियूकी अध्यक्ष आरती लामा र युवा संघका अध्यक्ष कृष्ण विकलाई पदमुक्त गरेका थिए। त्यसपछि अनेरास्ववियूमा समानन्तर कमिटीको अभ्यास भइरहेको थियो। माधव नेपालको यस्तो कदमको विरोध गर्दै सम्मानित नेता खनालले पार्टी नेतृत्वले निरंकुश र नोकरशाही शैलीमा मनपरी ढङ्गले युवाहरुलाई हाक्न खोजेको आरोप लगाएका छन्।
उनले केन्द्रिय कमिटी बैठकमा भनेका छन्, ‘समाजवादी चेतना र प्रतिबद्वताले समेत जागरुक बन्दै गरेका युवाहरुलाई निरंकुश र नोकरशाही शैलीमा मनपरी ढङ्गले हाक्न खोजेर हाँक्न सकिदैन। पार्टी नेतृत्वले जथाभावी डण्डा चलाएर पार्टी चल्न सक्दैन र चलाउन सकिदैन भन्ने कुरा आत्मसात गर्न सक्नुपर्छ। अन्यथा दुर्भाग्यपूर्ण अवस्था आइलाग्ने कुरा अवश्यभावी हुन्छ।’
शुक्रबारदेखि जारी केन्द्रीय कमिटी बैठक आज पनि जारी रहेको छ र केन्दीय सदस्यहरुले धारणा राख्नेक्रम जारी छ।
Facebook Comment