अवैध तरिकाबाट अमेरिका छिरेका नेपाली अब स्वदेश फर्किनुपर्छ

केही दिन अगाडि एक टेलिभिजनमा प्रशारण भएको एकजना व्यक्तिको भनाइ सुन्दा निकै मार्मिक लाग्यो। उनी धनगढीमा शिक्षक पेशामा रहेका रहेछन्।
उनी जापान जाने प्रयासरत थिए, त्यही बेलामा एकजनाले उनलाई अमेरिका अबैध बाटोबाट छिर्न सकिने उपाय सिकाएपछि उनी पनि डन्की फ्लाइटबाट अमेरिका छिर्ने कार्यमा संलग्न भए। त्यसका लागि उनले आफ्नो जग्गा बेचेर ५० लाख दलाललाई बुझाएर अघि बढेछन्।
उनी दिल्ली हुँदै दक्षिण अमेरिकाको भेनेजुएला, कोलोम्बिया, पनामा, कोष्टारिका, निकारागुवा, होण्डुरस ग्वाटेमाला मेक्सिको हुँदै महिनौं दिन बिभिन्न दुःख पीडा जोखिम भोग्दै अमेरिका छिरेछन्। हरेक देशमा त्यहाँका सुरक्षा निकायबाट बच्न बिभिन्न जंगल, पहाड डुंगाको प्रयोग गर्दै अघि बढेछन्।
त्यहाँ आइपर्ने जोखिमहरु निकै डरलाग्दा थिए। कतिपय मानिसहरु हिँड्न नसकेपछि उनीहरुलाई बाटोमा छोडेर हिँडेको र उनीहरु केही समयपछि मर्ने निश्चित हुँदोरहेछ।
मेक्सिकोबाट अमेरिका छिर्ने बेलामा अग्लो पर्खालबाट सीमापारि अमेरिकातर्फ हामफालेर जानु पर्नेरहेछ। त्यहाँ कतिपयको खुट्टा भाँचिन सक्ने रहेछ। तर अमेरिकाको लसएन्जलस छिरेपछि त्यहाँका सुरक्षा निकायको कब्जामा परेछन्।
त्यसपछि सोधपुछ र अदालतको कारवाहीबाट बच्न पैसा खर्च गर्नुपर्ने तर उनीहरु धरैजसोको प्रमाण नपुगेर डिपोर्टमा पर्ने रहेछ। पहिला नेपालमा माओबादी द्वन्द्वका क्रममा माओबादीको त्रासबाट ज्यान जोगाउनको लागि भनि शरणार्थी बनेर अमेरिकामा शरण लिन पाउने थिए भने अब नेपालमा माओबादीको समस्या नभएर खाओबादीको समस्या मात्र भएकाले अमेरिकाले शरण दिन छोडेपछि अबैध तरिकाबाट अमेरिका पुग्नेहरु फिर्ता हुन थालेका छन्।
ती शिक्षक बिज्ञान, गणित, अंग्रेजी पढाउने योग्य शिक्षक रहेछन्। त्यस्ता शिक्षकको सामुदायिक स्कुलहरुमा अत्यन्त अभाव छ। त्यस्ता बहुमूल्य शिक्षक समेत अरुको लहलहैमा लागेर बिदेश भासिन्छन् भने अरु सर्बसाधरणको के कुरा गर्ने? यो जम्मै स्वदेशमा केही हुँदैन भन्दै बिदेश जाने लहडले हो।
सरकार तथा जनप्रतिनिधिले स्वदेशका गाउँघरमा बसेर गर्न सक्ने बिभिन्न जिविकाका उपायहरु हुँदा हुँदै पनि त्यसलाई योजनावद्ध तरिकाबाट कार्यन्वयन गर्न नसकेको कारणले पनि बिदेशीनेको संख्या नघटेको हो।
जति पैसा खर्च गरेर आज युवाहरु बिदेश गइरहेका छन्। त्यति पैसा स्वदेशमा लगानी गरेमा सानो ठूलो व्यवासाय गर्न सकिन्छ। खासगरि कृषिमा आधारित ब्याबसाय गरेर परिवारसँग बसेर धेरै राम्रो कमाइ गर्न सकिन्छ।
झापामा मेरा आफन्त पहिला क्याम्पस प्रमुख भइसकेका जसले प्राइभेट क्याम्पस समेत चलाएका छन्। उनले घरमा गाई पालेका छन्। बिहान ४ बजे उठेर गाइको थलो सोर्छन, गाईलाई नुहाउने तथा दुध दुहुने गर्छन्।
जसले गर्दा घरमा परिवारसँग बसेर शुद्ध दुध, दही तथा अग्र्यानिक तरकारी खान पाएका छन्। अर्को एकजना दाइ हुनुहुन्छ जसले सरकारी जागिर खाएर अवकाश पाएका छन्। उनले पनि घरमा गाई पालेर बसेका छन्। त्यो गाईको दुध बिक्री गरेर राम्रै कमाइ गरेका छन्।
गाईको मल बारीमा प्रयोग गरेर अग्र्यानिक साग, काउली, आलु, मुला, तोरी उत्पादन गरेका छन्। घरको गाईको दुधबाट बनेका दही घिउ कहिले काहीँ घरमा आउनेले पनि खान पाउँछन्। हामी भन्दा उमेरमा निकै जेठो भएपनि अझैपनि स्वस्थ र निरोगी हुनुहुन्छ। यस बाहेक धेरै नेपालीले अहिले कृषि व्यवसायमा लगानी गरेर राम्रो कमाइ गरेका छन्।
हाम्रो लागि सजिलो र हामीलाई सजिलै उपलब्ध हुने कृषिमा आधारित ब्यबसाय नै हो। यसका लागि धेरै खर्च गर्नु पर्दैन। तर बजारको व्यवस्था स्थानीय तहले गर्नैपर्छ। मैले पहाडतिर देखेको छु-सडकहरु जताततै पुगेका छन् तर युवाहरु सबै बिदेश लागेपछि गाउँमा बुढाबुढी र बच्चाहरु मात्र देखिन्छन्। प्रायः सबै जग्गा बाँझा छन्।
यो सबै सरकारको गलत नीति र दलका कार्यकर्ताको शहर केन्द्रित राजनीति गर्नको कारणले पनि हो। झोले कार्यकर्ता शिर्फ नेताको वरिपरि बसेर चाकडी गरेर कहीँ नियुक्ति पाउने आसमा झुलिरहेका मात्र हुन्छन्। यदि उनीहरुलाई क्षमताको आधारमा अवसर दिइनेछ भनि गाउँमा कृषि तथा अन्य व्यवसाय गर्न प्रोत्साहन र निर्देशन दिने हो भने हाम्रा गाउँघर खाली हुने थिएनन्।
अहिले माओवादीका विप्लव समूह उत्पादनमा लागि उक्त सामान आफैंले शहरमा बेच्न थालेका छन्। जसले धेरै युवा रोजगार बनेका छन्। यी निकै सरहानीय कार्य हो। यस्ता कार्य अरु दलले पनि अनुसरण गर्नुपर्छ।
अहिले अमेरिकामा ट्रम्प आएपछि उनले अमेरिकामा रहेका सबै अबैध बिदेशी नागरिकलाई फिर्ता गर्ने अभियान नै चलाएका छन्। जसको कारण आफ्ना नागरिक रोजगार हुन सकुन्। अमेरिकामा अबैधरुपमा बसेका नेपाली पनि ढिलो चाँडो स्वदेश फर्कने संभावना बढेको छ।
कतिपय व्यक्ति आफ्ना जवान श्रीमती छोराछोरी तथा बुढा आमाबाबु छोडेर बर्षौंदेखि बिदेशमा मस्तीको जिन्दगी बिताउनेलाई भने स्वदेश फर्काउने ट्रम्पको कार्यलाई धेरै नेपालीले स्वागत गरेका छन्।
हामी अमेरिका भनेपछि किन यस्तो मरिहत्ते गर्छौं जहाँ जानको लागि हामी आफ्ना जग्गा जमिन बेचेर धितो राखेर बिदेशीएका छौं। त्यो शिर्फ ती देशको सुव्यबस्थापन, स्वच्छ सफा वातावरण तथा सुशासनको कारण अनि काम र रोजगारको निश्चितताले हो। हामी त्यसतर्फ लाग्न सकेको छैनौं।
अब जग्गा जमिन बेचेर या धितो राखेर बिदेश जाने नीति पुरै बदल्नु परेको छ। त्यो बिदेश जाने पैसाले खेत बारीमा कुलो पैनी ल्याएर सिचाइँ गराैं। यदि पानी मात्र खेतबारीमा पुग्ने हो भने हामीले १२ महिना धान, मकै, गहुँ तथा तरकारी लगाउन सक्छौं। माछा, पशुपन्छी पालन गर्न सकिन्छ।
बजारको व्यवस्थाको लागि स्थानीय तहले नजिकको बजारमा आफ्ना सटल चलाएर कृषकका उत्पादन खरिद बिक्री गर्ने प्रबन्ध गरिदिऔं। यदि दलालले मात्र बीचमा अत्यधिक नाफा नखाने हो भने किसानको स्वरुप बदल्न कुनै कठिनाइ हुनेछैन। यसरी हामी सजिलै खाद्यान्नमा आत्मनिर्भर हुनसक्छौं। जसबाट हाम्रो ब्यापार घाटा कम हुँदै जानेछ।
अब ट्रम्पले युएस एड बन्द गरेपछि धेरै आइएनजिओ स्वतः बन्द भइसके। त्यसैले बिदेशी डलरमा आउने भत्तामा पल्केकाहरु पनि अब कृषिमा लागेर हाम्रा बाँझा खेतबारीमा सिचाइँ गरेर जनतासँग मिलेर बिभिन्न किसिमका ब्यबसाय संचालन गरौं।
हाम्रा युवाहरु अहिले बिदेशमा बसेर धेरै शिप सिकेर आएका छन्। यस्ता युवकहरुले स्वयं पनि केही गरौं भनेर ब्यक्तिगत या सामूहिक रुपमा धेरैकुरा गर्न सक्छन्। सरकारले युवाहरुलाई बिदेश जानेमा प्रोत्साहन गर्नु भन्दा स्वदेशमा बसेर गर्न सकिने बिभिन्न रोजगारका उपायहरु बताउने र आवश्यक प्राबिधिक सल्लाह र सहयोग दिनुपर्छ।
अहिले सजिलै उत्पादन गर्न र कमाउन सकिने खेती जसलाई पशुपंछीलेसमेत हानि नपुर्याउने खेती भनेको गाँजा खेति हो। यसलाई सबै जनताको चाहना हुँदाहुँदै पनि सरकारले हिम्मत गरेर यसलाई बैधता प्रदान गर्न सकेको छैन। अझैपनि बिदेशीको दवाव र प्रभावले त होइन?
ट्रम्पले जसरी आफ्नो देशको हितमा कतिपय हिम्मतिला निर्णय गरेर युएस एडलगायत धेरै सहयोग बन्द गरेर आफ्नो देशको रिन घटाउने प्रयास गरेको छ। त्यसरी नै हामीले पनि देशको अत्यधिक ऋण घटाउन पहिला खाद्यान्नमा आत्मनिर्भर हुने र जडिबुटी संकलन तथा औषधि उत्पादन गरि बिदेश निकासी गर्न सकेमा हाम्रो बिदेशी ऋण धेरै कम हुनसक्छ।
त्यस्तै गरेर हामीले बिद्युत निर्यात भन्दा देशभित्र खपत गर्न घरायसी प्रयोग तथा उत्तर दक्षिणमा यातायातको लागि रोप वे केवलकार तथा दिद्युतीय ट्राम रेल आदिमा जोड दिन थालेमा तेल ग्यासको आयतमा कम भइ ब्यापार घाटा धेरै कम हुनेछ।
शिक्षण र स्वास्थ्य संस्थाहरुको स्तरबृद्धि शिघ्र गर्नुहोस्। सरकारले युवाहरुलाई स्वदेशमा रोकेर राख्ने रोजगारमुलक योजना र देशको सरकारी खर्च घटाउन र आयमुलक कार्य सुरु गर्न थालेमा देशले काँचुलि फेर्न समय लाग्दैन।
तर सरकार शिर्फ ठूलो कुरा गर्ने काम भने जनहितमा नगरी शिर्फ दल र कार्यकर्ता तथा दलाल पोस्ने कार्यमा संलग्न रहेकोले देशको अधोगति भइरहेको छ। त्यसतर्फ सरकारले गम्भिर भएर आत्मआलोचना गरोस्। प्रधानमन्त्रीज्यू ट्रम्पबाट केही सिक्नुहोस् जनता र राष्ट्रको हितमा साहसिक निर्णय लिनुहोस्। हाम्रो समाजले छिटै कोल्टे फेर्दैछ।
Facebook Comment