प्रधानमन्त्री ओलीको जन्मदिन आज

काठमाडौं। आज प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो ७४औं जन्मदिन मनाउँदैछन्। जन्मदिनको अवसरमा आज कुनै विशेष कार्यक्रम नराखिएको उनले जानकारी दिएका छन्।
ओलीले सामाजिक सञ्जालमा लेखेका छन्, ‘आज जन्मदिन, यस पटक जन्मदिनको विशेष कार्यक्रम केही राखिएको छैन। आज दिउँसो २ बजे यसै अवसरमा ’केपी ओली कप फुटबल च्याम्पियनसिप’ राखिएको रहेछ । खेल हेर्न एन्फा कम्प्लेक्स सातदोबाटो जाँदै छु, त्यहीँ भेटौँला, शुभकामना आदानप्रदान त्यहीँ गरौँला।’
ओलीको जन्म बुबा मोहनप्रसाद ओली र आमा मधुको छोराका रूपमा २००८ साल फागुन ११ गते तेह्रथुमको तत्कालीन इवा गाउँ पञ्चायतमा भएको थियो।
२०२२ सालमा कम्युनिष्ट राजनीतिमा लागेका ओलीले २०२६ सालमा नेपाल कम्युनिष्ट पार्टीको सदस्यता लिएका थिए। ओली तत्कालीन नेकपा मालेको संस्थापक मध्येका एक हुन् । उनी २०७१ साल असार ३१ गते माधवकुमार नेपाललाई हराउँदै एमालेको अध्यक्ष बनेदेखि लगातार पार्टीको अध्यक्ष छन्।
पछिल्लो पटक २०७८ मंसिरमा भएको दशौं महाधिवेशनमा फेरि अध्यक्ष चुनिएका ओली नेपाली कांग्रेससँगको सहकार्यमा हाल चौथो पटक प्रधानमन्त्री रहेका छन् ।
Facebook Comment