इजरायलले ६०० भन्दा बढी प्यालेस्टिनी कैदीहरूको रिहाइ अनिश्चितकालसम्म स्थगित गर्ने

डिसी नेपाल
११ फागुन २०८१ ११:५७

काठमाडौं । इजरायलले ६०० भन्दा बढी प्यालेस्टिनी कैदीहरूको रिहाइ अनिश्चितकालसम्म स्थगित हुने बताएको छ। इजरायलको यो कदमलाई युद्धविराम प्रक्रियामा ठूलो धक्काको रूपमा हेरिएको छ।

इजरायल र हमासबीच गाजामा भएको युद्धविराम अन्तर्गत हमासले शनिबार छ जना बन्धकलाई रिहा गरेको बेला इजरायलले यो बयान दिएको हो।

यी छ जना बन्धकहरूको नाम हिशाम अल-सय्यद, एलिया कोहेन, ओमर शेम तोभ, ओमर वेन्कर्ट, अवेरा मंगिस्तु र ताल शोहम हुन्।

यी सबै इजरायली बन्धकहरूलाई हमासले ७ अक्टोबर २०२३ मा अपहरण गरेको थियो। यो त्यो दिन थियो जब हमासले इजरायलमाथि आक्रमण गरेको थियो।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले हमासले इजरायली बन्धकहरूलाई हस्तान्तरण गर्ने ग्यारेन्टी नगरेसम्म प्यालेस्टिनी कैदीहरूको रिहाइमा अब ढिलाइ हुने बताएका छन्।

युद्धविरामको पहिलो चरणमा इजरायली बन्धकहरूको रिहाइको एक चरण अझै बाँकी छ।

नेतान्याहूले हमासले युद्धविराम नियमहरू “बारम्बार उल्लङ्घन” गरेको आरोप लगाएका छन्। उनले भने, “हमासले प्रचार प्राप्त गर्न इजरायली बन्धकहरूलाई दुरुपयोग गरिरहेको छ।”

इजरायल र हमासबीचको सम्झौता तीन चरणमा कार्यान्वयन हुनेछ।

पहिलो चरणमा, इजरायली जेलमा रहेका प्यालेस्टिनी कैदीहरूको बदलामा हमासद्वारा बन्धक बनाइएकाहरूलाई रिहा गरिनेछ।

यसपछि, इजरायली सेना बिस्तारै गाजाबाट फिर्ता हुनेछ र त्यसपछि अन्तिम चरणमा गाजाको पुनर्निर्माणको काम गरिनेछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *