पूर्वराजालाई चुनाव लडेर संसदमा आउन चुनौती

काठमाडौं। कांग्रेस सांसद ईश्वरी न्यौपानेले पूर्वराजा ज्ञानेन्द्र शाहलाई सत्तामा फर्किने मन भए चुनावमा लडेर आउन चुनौती दिएकी छन्। प्रतिनिधिसभाको आइतबारको बैठकमा आकस्मिक समयमा बोल्दै उनले चुनाव लडेर संसदमा आउन चुनौती दिएकी हुन्।
‘सत्तामा नै यदि फर्किने चाहना छ भने टिका लगाएर या कसैको कृपाले होइन, नागरिकले पाउने सुविधाको उपयोग गर्दै २०८४ सालको निर्वाचनमा भाग लिने हिम्मत गर्नुस्,’ उनले भनिन्। पूर्वराजाका समर्थकलाई पनि यही बाटो अवलम्बन गर्न उनले सुझाव दिइन्।
‘लोकतान्त्रिक गणतन्त्र कसैको कृपाले आएको होइन। नेपाली जनताको शक्तिले हासिल गरको हो, लोकतन्त्रको विकल्प लोकतन्त्रभन्दा अर्को कुनै हुनै सक्दैन। व्यक्ति गलत हुनसक्छ, व्यक्तिले गल्ती गर्न सक्छ। विधिको शासनमा गल्ती सच्याउने र सजाय गर्ने पनि विधि नै हुन्छ। त्यो विधिलाई छलफल गरेर अझ पार्दर्शी र कसिलो बनाउन सकिन्छ। गल्ती गर्नेलाई दण्डित गर्न सकिन्छ। तर, कुनैपनि बहाना गरेर गणतन्त्रमाथिको प्रहार स्वीकार्य छैन। पछिल्ला दिनहरुमा संसद् जनताको समस्या छलफल गर्ने भन्दापनि एकअर्कालाई आरोप-प्रत्यारोप गर्ने थलोजस्तो देखिँदै छ। संसद् मर्यादित भन्दा पनि अराजक भयो भन्ने गुनासो थुनिन थालेको छ । लोकतान्त्रिक गणतन्त्रका लागि लडेकाहरु सचेत हुन जरुरी छ। व्यवस्थामाथि वितृष्णा फैलाउन चालिएको चाल त होइनन्?’ प्रश्न गर्दै उनले भनिन्।
Facebook Comment