पार्टी सभापति लामिछानेमाथि प्रतिशोध साधियो, उहाँ निर्दोष हुनुहुन्छ : शिशिर खनाल

डिसी नेपाल
११ फागुन २०८१ २२:०३

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता एवं प्रतिनिधि सभा सदस्य शिशिर खनालले पार्टी सभापति रबि लामिछानेमाथि राजनीतिक प्रतिशोध साध्ने काम भएको आरोप लगाएका छन्। डिसी नेपालको द ब्रिज टक कार्यक्रममा बोल्दै खनालले उक्त कुरा बताएका हुन्।

‘सहकारी रकम अपचलन छानबिन समितिले सहकारीबाट लामिछानेको खातामा पैसा गएको नदेखेको प्रस्ट लेखेको छ। उहाँले प्रतिवेदन सार्वजनिक भइसकेपछि गोरखा मिडियाको तत्कालिन निर्देशकका रुपमा लिनुपर्ने जिम्मेवारी लिने भनिसक्नु भएको छ। आवश्यक जिम्मेवारी लिन्छु भन्दा पनि उहाँमाथि राजनीतिक प्रतिशोध साधेर विभिन्न मुद्दा लगाइयो,’ खनालले भने।

सहकारी रकम अपचन, सांगठनिक अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा लगाएर लामिछानेलाई लामो समय हिरासतमा राखेर दु:ख दिने काम भएको उनको आरोप छ।

‘प्रतिवेदन बुझाउँदा मेरो धेरै असन्तुष्टि थिएन। हामीबीचमा द्वन्द्व पनि थिएन। लामिछानेमाथि लगाएका आरोपको प्रमाण समितिले प्राप्त गरेको थिएन। कम्पनीसँग जोडिएको विषयमा कुनै समस्या भएमा अध्ययन गर्ने काम सरकारको हो। हामीले गरेको अध्ययनले सहकारी ठगीमा उहाँ मुछिने सम्भावना म देख्दैन,’ उनले भने।

यसका साथै यतिबेला पार्टी संगठन विस्तारमा क्रियाशील रहेको उनले बताएका छन्। उनले ६५ जिल्लामा पार्टीको भेला सकिएको र अन्य जिल्लामा पनि भेला गर्ने तयारी भइरहेको उनको भनाइ छ। उनले वडा तहमा पनि भेला र तालिम प्रदान गर्ने काम भइरहेको खनालले जानकारी दिए।

हालै केन्द्रमा पनि दुई दिने तालिम सकिएको खनालले बताए। अहिले पार्टीको गतिशिलतामा नै आफूहरूको ध्यान केन्द्रित रहेको उनको भनाइ छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *