कटारी गोल्डकपमा वीरगञ्जको विजयी सुरुआत

कटारी (उदयपुर) । ‘पाँचौँ कटारी मेयर गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिता’मा वीरगञ्ज युनाइटेडले विजयी सुरुआत गरेको छ। आज भएको पहिलो खेलमा एनजे क्लब, सिन्धुलीलाई २–१ गोल अन्तरले पराजित गर्दै वीरगञ्जले विजयी सुरुआत गरेको हो।
वीरगञ्जका लागि अन्जन बच्छारले २४औँ मिनेटमा पहिलो गोल गरेका थिए। दोस्रो हाफको ३४ औँ मिनेटमा सिन्धुलीका लागि सञ्जिब धामीले गोल गर्दै खेल बराबरीमा ल्याए। तर खेलको ७४ औँ मिनेटमा वीरगञ्जका विक्रम थोकरले गरेको गोल निर्णायक बन्न पुग्यो।
यो जितसँगै वीरगञ्ज सेमिफाईनल प्रवेश गरेको छ। विक्रम थोकर ‘म्यान अफ दी म्याच’ घोषित भए। उनलाई आयोजक कटारी नगर खेलकुद विकास समितिका अध्यक्ष दिपक राईले नगद तीनहजार सहित मेडल प्रदान गरे।
सोमबारको खेल च्याम्पियन ब्वाइज काठमाडौं र सामत्से फुटबल क्लव भुटानबीच हुनेछ। कटारी नगरपालिकाको सहयोगमा शनिबारदेखि जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद तीन लाख हात पार्नेछ भने उपविजेताले एक लाख ५० हजार प्राप्त गर्नेछ।
आठ टिमको सहभागिता रहेको प्रतियोगिताको फाइनल खेल यही फागुन १७ गते हुनेछ। खेल अवधिभरीका खेलाडीहरुले विधागत तर्फ उत्कृष्ट खेलाडी , उत्कृष्ट गोलरक्षक ,उदियमान खेलाडी, सर्वाधिक गोलकर्ता र उत्कृृष्ट डिफेन्डरलाई प्रति विधा नगद पाँचहजार सहित ट्रफी, मेडल र प्रमाण पत्र प्रदान गरिने आयोजक समितिका उपाध्यक्ष राजकुमार थापाले जानकारी दिए।
Facebook Comment