बेचन झाको बन्दी प्रत्यक्षीकरण निवेदन न्यायाधीशद्वय ढुंगाना र ढकालको इजलासमा

काठमाडौं। नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेर थुनामा रहेका विचौलिया बेचन झाले सर्वोच्च अदालतमा दायर गरेको बन्दी प्रत्यक्षीकरणको निवेदनमाथि आज सुनुवाई हुँदैछ। सो निवेदन सर्वोच्चका न्यायाधीशद्धय टेकप्रसाद ढुङ्गाना र बालकृष्ण ढकालको संयुक्त इजलासमा पेशी तोकिएको छ।
काठमाडौं जिल्ला अदालतको आदेशबाट थुनामा रहेका झा उच्च अदालत पाटन हुँदै गत माघ २ गते सर्वोच्च अदालतसम्म पुगेका थिए। झाको हकमा माघ ३ मा पहिलो सुनुवाइ गर्दै सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको थियो।
झा पूरक अभियोगपत्रबाट शरणार्थी प्रकरणमा जोडिएका थिए भने पहिलो अभियोगपत्र दायर गर्नुअघि भएको अनुसन्धानमा फरार थिए। पछि भारतबाट उनलाई पक्राउ गरेर ल्याएपछि सरकारले जिल्ला अदालत काठमाडौंमा पूरक अभियोगपत्र दर्ता गरेको थियो।
उक्त अभियोगमा जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो। त्यसविरुद्ध सुरुमा उच्च अदालत पाटन पुगे पनि उच्चले जिल्लाकै सदर गरेपछि झाले माघ २ मा सर्वोच्च अदालत गुहारेका थिए।
Facebook Comment