अहिलेको गठबन्धन सरकार असंवैधानिक र तानाशाही प्रवृतिको: प्रचण्ड

झापा। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधानमा माओवादीको छाप देख्नेले संविधानलाई च्यात्न खोजेको बताएका छन्।
सोमबार झापाको कचनकवल गाउँपालिकाको हुकाहुकी चोकमा पार्टीको जनतासँग माओवादी तराई मधेश जागरण अभियान उद्घाटन गर्दै प्रचण्डले संविधानको प्रस्तावनादेखि अन्त्यसम्म माओवादीको छाप देख्नेले संविधान मन नपराएको र च्यात्न खोजेको बताएका हुन्।
प्रचण्डले जनताको त्याग र बलिदानका कारण मुलुकको परिवर्तन सम्भव भएको भन्दै अहिले परिवर्तनमाथि नै प्रश्न उठाउन खोजिएको समेत बताए।
दुई–दुई पटक सदन विघटन गरेर संविधान च्यात्ने प्रयासलाई माओवादीले नै असफल बनाएको भन्दै अध्यक्ष प्रचण्डले अहिले पनि त्यहि कसरत देखिन थालेको जिकिर गरे। उनले अहिलेको गठबन्धन सरकार असंवैधानिक र तानाशाही प्रवृतिको सरकार रहेको दोहोर्याए। अहिले नै सरकार फेरिहाल्ने कसरतमा माओवादी नरहेको उल्लेख गर्दै प्रचण्डले माओवादी पार्टी जनतामा केन्द्रीत भएको बताए। उनले माओवादी एक्लै चूनाव लड्न नसक्ने प्रचार गरिएको भन्दै जनताको तागतको बलमा आफ्नै खुट्टामा उभिएर आगामी चूनाव लड्ने स्पष्ट पारे।
झापाबाट सुरु भएको जनतासँग माओवादी तराई मधेस जागरण अभियान चैत ७ गते कन्चनपुरमा पुगेर समापन हुने माओवादी केन्द्रले जनाएको छ। अभियानमा अध्यक्षदेखि उपमहासचिवसम्म केन्द्रीय पदाधिकारीसहित सम्बन्धित प्रदेश, जिल्ला र पालिकाका सम्पूर्ण नेता कार्यकर्ता परिचालित भएका छन्। सो अभियान सकिएपछि वैशाखमा मध्यपहाडी लोकमार्ग केन्द्रित जनतासँग माओवादी पूर्वपश्चिमजागरण अभियान सञ्चालन गर्ने माओवादीको तयारी छ।
Facebook Comment