सशस्त्र प्रहरी इन्सपेक्टर महत मृत्यु प्रकरण : अर्का इन्सपेक्टर विकेक जोशी पक्राउ

डिसी नेपाल
१३ फागुन २०८१ ९:५३

काठमाडौं। सशस्त्र प्रहरी बलकी इन्सपेक्टर सन्तोषी महतको मृत्यु प्रकरणमा अर्का इन्सपेक्टर विकेक जोशी पक्राउ परेका छन्।

जोशीलाई आत्महत्या दुरुत्साहन आरोपमा अनुसन्धानका लागि पक्राउ गरिएको हो। तालिमको क्रममा ब्यारेकमै झुन्डिएको अवस्थामा मृत भेटिएकी सन्तोषीको परिवारले जोशीविरुद्ध आत्महत्या दुरुत्साहनमा किटानी जाहेरी दिएका थिए। उजुरी दर्ता भएपछि जोशीलाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको हो।

पक्राउ परेका इन्सप्क्टर २३ नं.गण तनहुँमा कार्यरत छन्। उनी १६ बेसिकका इन्सपेक्टर हुन्। जोशी र सन्तोषी प्रेमी–प्रेमिका रहेको परिवारिक दाबी रहेका कारण उनीमाथि अनुसन्धान शुरु गरिएको प्रहरीले जनाएको छ।

सो प्रकरणमा आन्तरिक छानवीन गर्न सशस्त्र प्रहरी मुख्यालयले पनि डिआइजीको नेतृत्वको समिति बनाएको छ।

उनीहरु पटक पटक घुम्न जाने गरेको र सँगै हिँड्ने गरेको सशस्त्र प्रहरीका एक अधिकृतले जानकारी दिए । इन्स्पेक्टर जोशीले सन्तोषीलाई आत्महत्या गर्न बाध्य पारेको आरोप छ। सशस्त्र प्रहरी स्रोतका अनुसार उनीहरू प्रेम सम्बन्धमा रहेका कारण सँगै बाहिर हिँड्डुल गर्ने गरेका थिए । पछिल्ला केही दिनयता ती इन्स्पेक्टरले तनाव दिने गरेको हुनसक्ने आशंका गरिएको छ।

इन्स्पेक्टर बेसिकको तालिम गर्दै आएकी महत पोखरास्थित हुल तथा दंगा व्यवस्थापन तालिम शिक्षालय लामापाटन ब्यारेकमा शनिवार साँझ मृत भेटिएकी थिइन्।

सिन्धुपाल्चोक घर भएकी महत १७ बेसिक (२०८१) की इन्स्पेक्टर हुन्। इन्स्पेक्टरको बेसिक तालिम गरिरहेकी उनी ब्यारेकको महिला शौचालयको नजिकको बिममा झुन्डिएको अवस्थामा मृत फेला परेपछि सशस्त्र प्रहरीले नेपाल प्रहरीलाई बोलाएर घट्ना मुचुल्का गराएको थियो।

२०७२ सालमा सशस्त्रकै सिपाहीमा भर्ना भएकी उनले २०७८ सालमा असईमा नाम निकालेकी थिइन्। त्यसपछि अहिले २०८१ सालमा इन्स्पेक्टरमा नाम निकालेर तामिल सुरु गरेकी थिइन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *