माओवादीको अभियान छाढेर हिँडे नारायणकाजी, बोल्न नदिएको गुनासो

डिसी नेपाल
१३ फागुन २०८१ १२:४८

काठमाडौं । प्रमुख प्रतिपक्षी दल माओवादी अहिले तराई–मधेश जागरण अभियानका क्रममा कोशी प्रदेशको मोरङमा छ। मोरङको कानेपोखरी गाउँपालिकामा आयोजित सभालाई माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गरिरहेका छन्।

माओवादीले अभियानको तेस्रो दिनसम्म पार्टीका पदाधिकारी कोशी प्रदेशमै रहने निर्णय गरेको थियो। जसमा अध्यक्ष प्रचण्ड, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, अध्यक्ष अग्नि सापकोटा, महासचिव देव गुरुङ, उपमहासचिव र सचिवहरू सबैजना झापा, मोरङ र सुनसरीमा रहने भनिएको थियो। तर, माओवादी वरिष्ठ उपाध्यक्ष श्रेष्ठ अभियान छाडेर हिँडेका छन्। उनी मंगलबार चितवन पुगेका छन्।

चितवन पुगेर श्रेष्ठले जनतासँग माओवादी तराई–मधेस जागरण अभियान उद्घाटनका क्रममा आफूलाई बोल्नका लागि अवरोध सिर्जना गर्न खोजिएको बताएका छन्। उनले अध्यक्ष प्रचण्डको आग्रहमा आफूले उद्घाटन समारोहमा बोल्न सुरु गर्दा मनोवैज्ञानिक रूपमा अवरोध गर्ने स्थिति उत्पन्न भएकाले मन्तव्यलाई अघि नबढाएको बताए।

झापाको कचनकवलमा आयोजित उद्घाटन कार्यक्रममा भएको घटनालाई सामान्य रूपमा लिन आग्रह गर्दै उनले प्रचण्डको नेतृत्वमा पार्टी पुनर्गठन र एकताबद्ध ढङ्गले अघि बढाउन प्रतिबद्ध रहेको बताए। उनले जनतासँग माओवादी तराई–मधेश जागरण अभियानलाई उक्त घटनाले कुनै असर नपर्ने स्पष्ट पारे। श्रेष्ठले पार्टीका नेता, कार्यकर्ता, शुभेच्छुकहरूको भावनालाई सकारात्मक रूपमा लिँदै सार्वजनिक रूपमा नै क्षमायाचना गर्न चाहेको बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *