मछिन्द्र र संकटा केपी ओली कपको सेमिफाइनलमा

काठमाडौं। मछिन्द्र एफसी र संकटा क्लब काठमाडौंमा जारी केपी ओली कप फुटबल च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ।
मंगलबार मछिन्द्रले एफसी ट्रान्सपोर्ट युनाइटेड र संकटा क्लब एपीएफलाई पराजित गर्दै सेमिफाइनल प्रवेश गरेको हो। ललितपुर सादोबाटोस्थित एन्फा कम्प्लेक्समा मंगलबार भएको दोश्रो खेलमा मछिन्द्रले ट्रान्सपोर्ट युनाइटेडलाई १–० गोलले पराजित गर्दै सेमिफाइनलको यात्रा तय गरेको हो। मछिन्द्रको जितमा स्टेफेन जलिले निर्णायक गोल गरे। स्टेफेनले खेलको ८०औं मिनेटमा सनिस श्रेष्ठको क्रसलाई गोलमा परिणत गरेका थिए। मछिन्द्रले फाइनल प्रवेशका लागि आयोजक केपी एफसीसँग प्रतिष्पर्धा गर्नेछ।
त्यस्तै मंगलबार नै भएको पहिलो खेलमा ट्राइब्रेकरमा एपीएफलाई ५–३ ले पराजित गर्दै संकटाले सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो। निर्धारित समयमा दुवैतर्फबाट गोल हुन नसकेपछि खेल ट्राइब्रेकरमा धकेलिएको थियो। एपीएफका सुजन पुलामीको प्रहारलाई संकटाका गोलकिपर दिप कार्कीले असफल पार्दै टोलीलाई जित दिलाए। अब फाइनल प्रवेशका लागि संकटाले त्रिभुवन आर्मी क्लबसँग प्रतिष्पर्धा गर्नेछ।
राष्ट्रिय युवा संघ नेपालको आयोजनामा जारी प्रतियोगितामा ९ टोलीले सहभागिता जनाएका छन्। फागुन १८ गतेसम्म चल्ने उक्त प्रतियोगिताको विजेताले १५ लाख ११ हजार ११ हजार १११ र उपविजेताले ५ लाख रुपैयाँ पाउनेछन्।
Facebook Comment