सेना दिवस नेपालको गौरवपूर्ण अतीतः नेपाली सेना

नेपाल विविध विशेषतायुक्त गौरवमय गाथा भएको र आफ्नै विशेष पहिचान कायम गरेको एक प्राचीन मुलुक हो। यो मुलुकको गौरवमय छवि, स्वाभिमान र स्वतन्त्र अस्तित्व अक्षुण राख्न इतिहासको विभिन्न कालखण्डमा धेरै व्यक्ति र संस्थाहरूले महत्त्वपूर्ण योगदान दिएका छन्।
राजा र प्रजाबीचको सम्बन्ध तथा बहुजाति र बहुधर्मजस्ता विविधताका बीचमा पनि अपेक्षित सहकार्य कायम राख्न सेना सेतुको भूमिकामा थियो । जनता र सेनाको आपसमा सुमधुर सम्बन्धको इतिहास अन्य मुलुकमा वीरलै पाइन्छ।
जनता र सेनाबीच समुचित समन्वय हुँदा मुलुक सबल र सक्षम भएको देखिन्छ। जनता र सेनाको सहकार्यबाट नै विभिन्न कालखण्डमा विभिन्न राजवंश स्थापित हुन पुगेका छन् भने कार्यगत एकता नहुँदा मुलुक नै विखण्डन भएका दृष्टान्त पनि पाइन्छन्।
नेपालको इतिहास हेर्ने हो भने सैनिक र निजामती प्रशासनमा विगतमा तात्विक फरक थिएन। सैनिक अधिकारी नै कार्यपालिका र न्यायपालिकामा स्थानीय प्रशासनका प्रमुख रहन्थे। यिनै सैनिक अधिकारी केन्द्रद्वारा नियुक्त भई मोफसलमा जान्थे। केन्द्रको शक्ति कमजोर हुँदा यिनै अधिकारीहरूले स्वतन्त्र राज्य खडा गर्दा मध्यकालमा नेपाल विभिन्न ससाना राज्यहरूमा विभक्त हुन पुग्यो।
सैन्य बल र जनताको आपसी मेलकै कारण खसिया साम्राज्य त्यति शक्तिशाली हुन पुगे। र जनइच्छा बुझ्न नसक्दा बाइसी चौबिसी राज्यहरू सिर्जना हुन गए। सेना र जनताले साथ नदिँदा उपत्यकाको वैभवशाली तीन राज्यहरू विलय हुन पुगे।
गोरखाजस्तो सानो राज्यले विजय अभियान सञ्चालन गरी कालान्तरमा नव नेपाल निर्माण हुन गयो। त्यस क्रममा सेना र जनताले पृथ्वीनारायण शाहलाई उल्लेख्य सहयोग गरेका थिए। एकीकरण अभियानका लागि आवश्यक हातहतियार खरिद गर्न घरघरबाट गोरखालीहरूले आफ्नो गच्छेअनुसार आर्थिक सहयोग गरेका थिए।
युद्धको मैदानमा खटिनका लागि गन्धर्व (गाइने), पण्डित तथा गाउँका मुखियाजस्ता तत्कालीन समाजमा हैसियत भएकाहरूले सेनालाई साथ दिएका थिए। सोही कारण बृहत् नेपाल निर्माण हुन पुग्यो। महाकाली पश्चिमका जनताले सेनालाई साथ नदिनु नै अङ्ग्रेजसँग नेपालले घुँडा टेक्नुपर्नाको एउटा प्रमुख कारण बन्न गयो।
नेपाल-अङ्ग्रेज युद्धमा कतिपय अवस्थामा महिलाहरूसमेत युद्धका मैदानमा खटिएका थिए। नेपाल-भोट युद्ध सन् १७८८ देखि १७९१ मा स्थानीय जनताको सक्रिय सहभागिता थियो। राष्ट्रिय स्वार्थलाई ध्यान दिँदै शासकहरूले लिएको रणनीतिमा उनीहरू सामेल भए।
नेपाल भोट युद्धमा कतिपय भारदारहरू बहादुर शाहका पक्षमा थिएनन् र नेपाल अङ्ग्रेज युद्धताका पनि भीमसेन थापाको नीतिसँग विमति राख्ने भारदारको जमात ठूलै थियो तर युद्धको घोषणा भइसकेपश्चात् उनीहरूले तन, मन र धनले राज्यनीतिमा सहयोग गरे। राष्ट्रिय स्वार्थमा एकताबद्ध हुने नेपालको गौरवमय परिपाटीलाई अनुशरण गर्न नसकेको आभास वर्तमान सन्दर्भमा विकसित राजनीतिले हुन थालेको छ। यो शुभ संकेत होइन।
पृथ्वीनारायण शाहको मृत्युपछि नेपालमा राजनीतिक स्थिरता कायम हुन सकेन र षड्यन्त्रकारी राजनीतिले प्रश्रय पायो। तत्कालीन शासकहरूको स्वार्थ र उनीहरूको दीर्घकालीन दृष्टिको अभावले अङ्ग्रेजसँग सन् १७९२ को व्यापारिक सन्धि र सन् १८०१ को मैत्री सन्धि हुन पुगेका थिए।
यी दुवै सन्धि नेपालको राष्ट्रिय हितविपरीत थिए, जसको कारणले पनि नेपाल अङ्ग्रेज युद्ध हुन गयो। नेपाली सेनाले कुनै गुटउपगुटमा नलागी शासक जो वा राजा भए उनीहरूकै आज्ञा पालन गर्दै गयो। यो नै सेनाको धर्म थियो।
प्रतापसिंह शाह तथा बहादुर शाह, बहादुर शाह तथा राजेन्द्रलक्ष्मी र बहादुर शाह तथा रणबहादुर शाहबीचको संघर्ष एवं विवादमा सेनाले शासककै आज्ञा पालन गरेको छ। यदि सेनाले पनि गुटगत राजनीतिमा लागेको भए यो देशको अस्तित्व रहने थियो वा थिएन? सोको हेक्का सबैले राख्नै पर्दछ।
नेपालले प्राथमिक कालदेखि सन् १९२८ सम्म भोटसँग धेरै पटक युद्धमा होमिनुपरेको तथ्य भेटिन्छ। जंगबहादुरको समयमा भएको युद्धमा नेपालले सानदार सफलता पाई सन् १८५६ को थापाथली सन्धि भयो। यस सन्धिमा नेपालले धेरै एकातर्फी सुविधा प्राप्त गरेको थियो। यसैगरी सन् १८८३-८४ मा नेपालका व्यापारी रत्नमान र भोटकी महिलाबीचको सानो झगडाले उग्ररूप लिई युद्ध नै हुने स्थिति देखापर्यो।
यसैगरी भोट चीन संघर्ष (१९०८-१२)मा भोटमा रहेका नेपालीहरूको रक्षाका लागि नेपालले सेना पठाउने व्यापक तयारी गरेको थियो।
सन् १९२८ मा एकजना रैतीको मामलामा भोटसँग युद्ध हुने स्थिति नै देखापरेको थियो। यी सबै संगीन घटनामा नेपाली पक्षले बाटोघाटो मर्मतसम्भार गरेर, खाद्यान्न सहयोग गरेर, घोडा खच्चड, चौँरीजस्ता भारी बोक्ने जनावर सहयोग गरेर युद्धमा सगाएका थुप्रै उदाहरण छन्।
सन् १९२८ को घटनामा त थाकखोलाका हितमान शेरचनले मुस्ताङ क्षेत्रबाट भोट प्रदेश प्रवेश गर्ने फौजका लागि जति रासन आवश्यक पर्छ त्यो उपलब्ध गराउने वचन दिएका थिए।
हो कतिपय स्थानमा स्थानीय प्रशासकहरूले सही कार्य गरेका थिएनन् र सो खुल्नेबित्तिकै दण्डित पनि भए। राष्ट्रलाई संकट परेको बेलामा आआफ्नो समस्यालाई थाती राखी सरकारलाई उदार दिलले सहयोग गरेका उदाहरण नेपालको इतिहासकै विशिष्ट पक्ष हो।
नेपाली सेनाले छिमेकी मुलुकलाई सहयोग गरी धेरै ठूलो गुन लगाएका घटना पनि छन्। लिच्छवीकालीन राजा नरेन्द्रदेवले चिनियाँ बादसाहका दूतलाई उत्तर भारतमा अपमान गरेको घटनामा नेपाली फौज पठाई सम्बन्धितलाई दण्डित गरिएको थियो।
चीनको अफिम युद्ध र ताइपिङ विद्रोहमा पनि नेपालले सेना पठाउने वचन दिएको थियो तर ती अनुरोध स्वीकार भएनन्। सन् १८५७ को सिपाही विद्रोह र १९४८ को हैदरावादको आन्दोलन दबाउन नेपाली सेनाले सार्थक भूमिका निर्वाह गरेको थियो।
प्रथम र दोस्रो विश्वयुद्धमा त नेपालीको वीरता र सुरताको परिचय विश्वले नै पायो। उल्लिखित घटनापश्चात् विश्वका ठूला राष्ट्रहरूले नेपालीलाई आफ्नो सेनामा भर्ती गर्न उत्कट चाहना देखाए। नेपाल सन् १९५५ मा संयुक्त राष्ट्र संघको सदस्य भएपछि विश्व शान्ति स्थापनार्थ नेपालीले अहम् भूमिका निर्वाह गरेको छ। हालसम्म ४३ भन्दा बढी शान्ति स्थापना गर्ने मिसनमा नेपाली सेनाले आफ्नो विशेष उपस्थिति जनाएको छ।
नेपाली सेना प्रमुखहरूले अन्तर्राष्ट्रिय विवादहरूमा मध्यस्थता गरी विवाद अन्त्य गराएका घटनाहरू पनि छन्। सन् १८५६ को थापाथली सन्धिले भोटमा नेपाली आवासीय दूत (जसलाई वकिल भनिन्थ्यो) राख्न पाउने एकतर्फी अधिकार प्राप्त गरेको थियो।
यसपछि यसमा नियुक्त भएका २० जनामध्ये दुईजनाबाहेक सबै सैनिक अधिकारीहरू नै थिए। सन् १९०३-०४ को अङ्ग्रेज भोट विवादलाई मध्यस्थता गरी १९०४ को ल्हासा सम्झौता गराउन नेपाली वकिल कप्तान जितबहादुर खत्रीको कौशल प्रशंसनीय रहेको छ।
उनको कूटनीतिक सुझबुझको अङ्ग्रेज अधिकारीहरूले समेत सराहना गरेका थिए र सम्मानजनक पदकसमेत प्रदान गरेका थिए। राणा शासकका खलकबाहेक जनताबाट पदक पाउने पहिलो कप्तान उनै भए।
यसैगरी भोट-चीन संघर्षको दौरानमा नेपाली वकिल कप्तान लालबहादुर बस्नेतले आफ्नो कुशल कूटनीतिक परिचय दिन सफल भए। यही संघर्ष भएकै बखत चीनमा सन् १९११ को क्रान्ति भई गणतन्त्र स्थापना भयो। भोटमा फौज चिनियाँ बादसाहको आदेश लिएर आएका थिए।
यसकारण गणतन्त्र भएपछि ती चिनियाँहरूको जीउधनको सुरक्षा गरी सुरक्षित तबरले भोटको सीमापार गराउन नेपाली सैनिक अधिकारीहरूले भगीरथ प्रयत्न गरे। नेपाली वकिल र उनका सहयोगीका कारण संघर्ष मात्र अन्त्य भएन चिनियाँ फौजले सुरक्षित भई भोट सरहद छाड्न सके।
राणाकालको अन्त्यतिर आएर निजामती र सैनिक प्रशासन पृथक भएपछि स्थानीय प्रशासनका हाकिम सैनिक अधिकारी नहुने व्यवस्था भयो। नेपाली सेनाले राष्ट्रको सुरक्षाबाहेक मुलुकलाई अन्य महत्त्वपूर्ण सेवा प्रदान गर्दै आएको छ। मुलुकलाई गम्भीर संकट परेको बेलामा नेपाली सेनाले तदारुकता साथ कार्यसम्पादन गरेका अनेक उदाहरण छन्।
भूकम्प, आगलागी, बाढीपहिरोजस्ता दैवीप्रकोपको समयमा सेनाले आफ्नो सशक्त उपस्थिति देखाई संकटमोचन गर्न सहयोगी भएको छ। नेपालका दुर्गम स्थानमा बाटो बनाउने काममा त नेपाली सेना सदैव अगाडि छ। नेपालका पहाडी मार्गमा मोटर बाटो बनाई यातायात सञ्चालन गर्न सेनाले खेलेको भूमिका त जगजाहेर नै छ।
काठमाडौं-तराई जोड्ने द्रुतमार्ग पनि सेनाकै तैनाथीमा निर्माण भइरहेको छ। कोरोना महामारीमा सेनाले पुर्याएको योगदान र चीनबाट भ्याक्सिन ल्याउने कार्यमा देखाएको तत्परता दुवै प्रशंसनीय छन्। नेपाली सेना एक यस्तो आरक्षित शक्ति हो जसका कारण संकटका बेलामा अनेक उल्झनबाट पार पाउन मुलुकलाई सहज भएको छ।
नेपाली सेनाको आफ्नै संस्कृति, परम्परा र धर्म छ। यसैकारण सेनालाई राजनीतिबाट सदैव पृथक राखी स्वतन्त्र रूपमा कार्य गर्न दिनुपर्छ। यसको मतलब सेनालाई सबै छुट दिने भन्ने कुरा किमार्थ होइन।
स्थापित विधि, मान्यता र सेनाको धर्ममा खलल हुने कार्य गर्न हुँदैन। २०४६ सालपश्चात् यदाकदा सेनालाई राजनीतिमा तान्ने गतिविधि नभएका पनि होइनन् तर यस्ता कार्यबाट मुलुकले हानि सिवाय केही हुँदैन।
नेपालको सार्वभौमसत्ता, राष्ट्रिय अस्मिता र मुलुकको भलाइका लागि वीरगति प्राप्त गरेका सम्पूर्ण वीर नेपाली सेनाको सपनालाई साकार तुल्याउन पनि सेनालाई राष्ट्रिय शक्तिको रुपमा राख्नुपर्छ। नेपालको इतिहासका विभिन्न कालखण्डमा नेपाली सेनाले पुर्याएको योगदान स्मरण गर्नु नै आजको दिनको मूल सन्देश हो। वीर नेपाली सेनालाई सलाम!
Facebook Comment