प्रश्न लोकतन्त्रका सौन्दर्य र गहना

सिताराम भट्ट
१५ फागुन २०८१ ७:५४

प्रश्न लोकतन्त्रका सौन्दर्य हुन्। गहना हुन्। हाम्रो परम्परा भनेको प्रश्न गर्ने, प्रतिप्रश्न गर्ने र शास्त्रार्थ गर्ने हो। भगवान रामले निजी जीवनमा पनि एक मामुली धोबीले उठाएको प्रश्नलाई सम्बोधन गर्नु भएको थियो। उहाँले धोबीलाई लखेट्नु भएन। बुद्धले प्रश्न मात्रै होइन, व्यक्तिगत गाली पनि हाँसीहाँसी पचाइदिनु भयो।

त्यसैले उहाँहरू ‘भगवान’ मानिनु भयो। तर, विदूर र विभिषणदेखि सुब्बा कृष्णलालले प्रश्न उठाउँदा दबाउन खोजियो। फलस्वरूप दमनकर्ताहरूको बिनाश निम्तियो। ती राक्षस सरह दरिए। सत्तालाई प्रश्न गरे वापत नै ओशोलाई दबाउन खोज्नेहरू अहिले कहाँ छन्?

ओशो त झन्-झन् लोकप्रिय पो बनिरहेका छन्। हामी कहाँ ‘प्रश्नलाई दबाउँदा विनाश निम्तिन सक्छ’ भन्ने तमाम दृष्टान्तहरू छन्। सार्वजनिक जीवनमा भगवानमाथि त प्रश्न उठे भने व्यक्तिमाथि प्रश्न उठ्नु स्वाभाविक हो।

पश्चिमाहरूले पनि प्रश्नलाई दबाउने गरेका तमाम उदाहरण छन्। प्रश्न गर्दैमा सोक्रेटिस जस्तो विद्वानलाई विष ख्वाएर मारियो। जर्दानो ब्रुनोलाई जिउँदै जलाइयो। ग्यालिलियोलाई कोर्टमा घुँडा टेक्न लाइयो। वर्ट्रयाण्ड रसेलले देशै छोड्नु पर्‍यो। त्यसका बाबजूद पनि समाजले प्रश्न गर्न छाडेन। शक्तिले चैं प्रश्न सहन्न।

कुनै पनि शासक पूर्ण रूपेण सही हुन्छ भन्ने ठान्नु बचकानापन हो। शासकको कार्यशैली, विचार, सिद्धान्त र यदाकदा उसको निजी जीवनमाथि पनि प्रश्नहरू जोडिएर आउन सक्छन्। ती प्रश्न सुन्नुपर्छ। मनन गर्नुपर्छ। यदि प्रश्नहरू नाजायज छन् वा असान्दर्भिक छन् भने समाज स्वयम‍्ले तिनलाई अस्वीकार गर्छ।

रत्नपार्कको मुकुन्दे जस्तो ती प्रश्नकर्ता आफैँ हराउँछन्, विस्तारै। ‘मेरो विकासको गति यसले रोक्नखोज्यो’ भनेर नठान्दा हुन्छ। अझै राम्रो गरेर देखाउने अवसरको रूपमा आलोचनालाई लिइनुपर्छ। बगिरहेको पानी रोकेर नै बिजुली निकालिन्छ।

हरेक मान्छे आ-आफ्नो स्तरमा सचेत छन्, अहिले। जे प्रश्न उठाइन्छन्, तिनको वस्तुगत वादविवाद हुनुपर्छ। स्मरण रहोस्, छलफल गर्दा तर्कले प्रश्नलाई काट्ने हो, प्रश्नकर्तालाई होइन। विरोधी आवाजलाई घेराबन्दीमा पार्नु अलोकतान्त्रिक अभ्यास हो।

हाम्रो प्राचीन परम्परामा प्रश्न र प्रतिप्रश्न गर्ने कल्चर हौऊन्जेल भारत वर्षको ज्ञान-विज्ञान र दर्शन संसारकै श्रेष्ठ थियो। मध्ययुगमा प्रश्न गर्ने परम्परा दबिएपछि भारतवर्ष कला, साहित्य, दर्शन ज्ञान-विज्ञान सबैमा पछि पर्‍यो।

ठिक त्यही बेला पश्चिमाहरूले पुनर्जागरण गरेर समाजका हरेक क्षेत्रमा प्रश्न-प्रतिप्रश्न गर्ने भए। त्यसैको परिणाम स्वरूप गएको चार सय वर्षमा संसारले अकल्पनीय तरक्की गर्‍यो। तर, भारतवर्ष निकै पछि पर्‍यो।

यसर्थ प्रश्नहरूको सभ्य, तर्कपूर्ण र संयमित-तवरले जवाफ दिनुपर्छ। स्वस्थ वाद-विवादले समाजको सोच्ने क्षमता बढाउँछ। सम्भावनाका नयाँ-नयाँ पहलु देखाउँछ। त्यसैले कसैले प्रश्न गर्‍यो भनेर हुलका-हुल मिलेर, धारे हात लाउने होइन, ‘एकले ढेडु खेदे जस्तो’ सबैले मिलेर लखेट्ने होइन।

कुन प्रश्नमा कति दम छ वा छैन, त्यसमा विश्लेषण गर्ने हो। बरू, शासकहरूले आफ्ना कामबाट जवाफ दिने हो। एकै जनाले प्रश्न गर्दैमा सिंहासन डमगाएको त होइन होला। आकासै खस्या जस्तो गर्नु हुँदैन। भूँइचालो नै गए जस्तो तर्सिहाल्नु पनि पर्दैन। प्रश्नले तर्सिने कमजोर सत्ता हुनु हुँदैन। के त्यस्तो कमजोर सत्ता हो र तपाईंहरूको? सबैले वाहीवाही पनि काँ गर्दिन्छन् र भन्या?

जवाहरलाल नेहरू आफ्नो समयका प्रख्यात कार्टुनिष्ट के शंकर पिल्लैलाई आफ्नो पनि आलोचना गर्न प्रेरित गर्थे। उनी भन्थे- मलाई पनि बाँकी नराख, शङ्कर। पछि नेहरूलगायत तत्कालीन नेताहरूलाई पेचिला व्यङ्ग्य गरिएका १५०० जति कार्टूनको पुस्तक नै बनाएर छापियो।

त्यसैले नेहरू लोकतन्त्रका लागि एक सम्मानित नाम बनेको छ। तर, पछि उनकी छोरीले आफ्नो सत्ताविरूद्ध सांकेतिक कविता लेख्ने कविहरूलाई समेत जेल हालिन्। फलत: ईन्दिराको समय (ईमेर्जेंन्सीको समय) एक धब्बा भएको छ भारतीय लोकतन्त्रमा।

प्रिय नन्दी-भ्रिंगी गणहरू, कसैले प्रश्न गर्दैमा चार हात उफ्रिने, प्रश्नकर्ता वा आलोचकलाई उड़ाउने, होच्याउने र तर्साउने होइन। आउनुस्, प्रश्न गर्ने र पर्गेल्ने अभ्यास गरौं। मनहरू माझ्न वादविवाद अत्यन्त जरूरी छ। ‘यसै समाजमा बस्नु छ’ भन्ने पनि नबिर्सौं। तुच्छ गाली र अपशब्दले त आफ्नो स्तरमात्रै जनाइने हो। समाजका अत्यन्त ऊर्जावान युवा एक-आपसमा गालीगलौज र निषेधको अभ्यासमा लाग्नु शुभ सङ्केत पनि होइन। त्यसैले स्वच्छ बहस र तर्क गर्ने बानी बसालौं।

लेखक कैलाली बहुमुखी क्याम्पसका सहप्राध्यापक हुन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *