महाशिवरात्रिका अवसरमा एकसाथ तीन चलचित्र प्रदर्शनमा

डिसी नेपाल
१५ फागुन २०८१ ७:२१

काठमाडौं। महाशिवरात्रिको अवसर पारेर बुधबारदेखि एकसाथ तीन नेपाली चलचित्र ‘लाज शरणम्’, ‘फेरि रेशम फिलिली’ र ‘मायावी’ को प्रदर्शन सुरु गरिएको छ।

नयाँ चलचित्र शुक्रबारदेखि प्रदर्शन हुने भए पनि महाशिवरात्रिको बिदाको अवसर पारेर तीनै चलचित्र बुधबार नै प्रदर्शन भएका हुन्। केही चलचित्रले सार्वजनिक प्रदर्शन अगाडि आयोजित विशेष प्रदर्शनीमार्फत सकारात्मक प्रतिक्रिया बटुलिसकेका छन्।

‘लाज शरणम्’ लाई हास्य टेलिशृङ्खला ‘सक्किगोनी’ को समूहले निर्माण गरेको हो। कुमार कट्टेलले निर्देशन गरेको चलचित्रमा सीताराम कट्टेल (धुर्मुस), विजय बराल, अर्जुन घिमिरे, सागर लम्साल, हरिष निरौला, प्रियाना आचार्य, महेश त्रिपाठी, अर्पण थापा, रेणु योगी, विजय लामा, मुकुन्द श्रेष्ठ, माला लिम्बूलगायत कलाकारले अभिनय गरेका छन्।

यस चलचित्रलाई प्रदर्शकले उत्साहजनक रूपमा ‘शो’ संख्या उपलब्ध गराएका छन्। निर्देशक कट्टेलले शृङ्खलामार्फत दर्शकबाट प्राप्त गरेको विश्वासलाई बढाउने काम चलचित्रमा गरेको बताए।

उनले भने, “यो चलचित्रमा मनोरञ्जनसँगै नेपाली समाजमा बढ्दो विकृतिलाई व्यंग्य गरेका छौं। यसले मनोरञ्जनका साथै केही सन्दर्भमा सोच्न बाध्य बनाउँछ। हामीले सक्दो मेहनत गरेर चलचित्र बनाएका छौं।”

चलचित्र ‘फेरि रेशम फिलिली’ मा युवापुस्तामा बढो विदेश मोहलाई व्यङ्ग्य गरिएको छ। लेखक तथा निर्देशक निरोज महर्जनले मनोरञ्जनात्मक शैलीमा चलचित्रभित्र गम्भीर विषयलाई प्रस्तुत गरिएको जानकारी दिए।

“युवापुस्तामा बढ्दो विदेश मोह, त्यसले समाजमा पार्ने प्रभावलाई समेटेर चलचित्र तयार गरेका छौं। यसले विदेश मोहले निम्त्याउने हरेक घटनाक्रमलाई समेटेको छ। त्यसकारण यो पूर्ण पारिवारिक मनोरञ्जनात्मक चलचित्र बनेको छ। चलचित्र हेरेर घर पुग्दासमेत यसमा उठाइएको विषयले दर्शकलाई सोच्न बाध्य बनाउने छ”, उनले भने।

चलचित्रमा अभिनेता विनय श्रेष्ठ, सुपुष्प भट्ट, कामेश्वर चौरासिया, नीर शाह, प्रकाश घिमिरे, शिशिर वाङ्देल, रवीन्द्र झा, लक्ष्मी गिरी, महेश त्रिपाठीलगायत कलाकारले अभिनय गरेका छन्।

चलचित्र ‘मायावी’ लाई दीवाकर भट्टराईले निर्देशन गरेका छन्। प्रेम कथामा तयार भएको यस चलचित्रमा अभिनेता पल शाह, दीपिका प्रसाई, प्रशान्त ताम्राकार, करिष्मा श्रेष्ठ, सुशील सिटौला, राजाराम पौडेल, अन्सु महर्जन, नवअभिनेता समीम खानलगायत कलाकारले अभिनय गरेका छन्।

निर्देशक भट्टराईले बनिरहेका नियमित चलचित्रभन्दा ‘मायावी’ फरक प्रेम कथामा तयार भएको बताए। उनले भने, “यसको प्रस्तुतीकरण र पटकथा हेरिरहेका नेपाली चलचित्रभन्दा भिन्न छ। यसको कथालाई शब्दमा प्रस्ट्याउन सकिँदैन, हेरेपछि मैले यसलाई किन निर्माण र निर्देशन गरेँ भन्ने बुझ्नुहुनेछ। यो हेर्नेसँगै महसुस गर्ने चलचित्र बनेको छ।”




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *