मलद्वारमा लुकाएको चार किलो सुन भन्सार जाँच पासपछि कसरी भयो बरामद?

डिसी नेपाल
१५ फागुन २०८१ १४:१५

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध सुन भित्रिने क्रम रोकिएको छैन। बुधबार मात्र भन्सार परिषरबाट चार विदेशी नागरिकलाई प्रहरीले अवैध सुनसहित नियन्त्रणमा लिएको छ।

दुबईबाट फ्लाई दुबईको एफजेएड ५७५ उडानबाट तीन महिला र एक पुरुष मलद्वारमा करिव चार किलो अवैध सुन बोकेर काठमाडौं आएका थिए। त्यसरी आउनेमा उज्वेकिस्तानी नागरिक गुलामदजानोवान उमिदा अख्मेदोभ, सरदार टुर्सुनोभ, अखमदजनोवना डिल्फुजा मारिफालिव र इस्राइलोव्ना साओदत फैजिवा छन्।

विमानस्थल प्रहरी प्रमुख एसएसपी सोमेन्द्रसिंह राठौरका अनुसार उनीहरूको साथबाट प्रहरीले ३ किलो ७४५ ग्राम सुन बरामद गरेको हो। सुन गोलो गुच्चा आकार पारेर मलद्वारमा लुकाइएको थियो।

त्रिभुवन बिमानस्थलमा अवतरण भएपछि उनीहरूको भन्सार जाँच भयो। उनीहरू भन्सार जाँच पास भएर बाहिर निस्किए। अध्यागनको जाँच पास गरेर बाहिरिँदा उनीहरूको साथबाट कुनै शंकास्पद वस्तु बरामद भएन।

तर, अध्यागमन र भन्सारको जाँच पासबाट बाहिरपछि उनीहरू प्रहरी नियन्त्रणमा परे। प्रहरीको टर्मिनल गेटमा उनीहरू पुगेसँगै शंका लागेर प्रहरीले नियन्त्रणमा लिएको थियो।

त्यसपछि प्रहरीले जाँच गर्न थाल्यो। नभन्दै चार जानबाट २४ वटा गुच्चा आकारका सुनका डल्ला बरामद भयो। त्यसपछि प्रहरीले उनीहरूलाई थप अनुसन्धानका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय सिनामंगल बुझाइएको छ।

उक्त सुन भारतलाई ट्रान्जिट बनाएर उनीहरूले तेस्रो मुलुक लैजान लागेको प्रहरीको आशंका छ। पक्राउ परेकाहरू मालिक र भरिया दुवै हुन सक्ने प्रहरी आशंका छ।

पक्राउ परेका तीन महिला भरिया र एक पुरुष मालिक रहेको प्रहरीको पारम्भिक अनुसन्धानले देखाएको छ। पक्राउ परेका महिलाले आफूलाई सुनबारे जानकारी नभएको र यसको सम्पूर्ण जानकारी तुर्सोनोभलाई हुने बताएको प्रहरीले जनाएको छ।

भन्सारले उनीहरूमाथिको अनुसन्धान सकेपछि भन्सार छली तथा चोरी पैठारीमा मुद्दा चलाउने बताइएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *